बाँके\शरद ऋतुको आगमनसँगै नेपालगन्जको वातावरण चिसिने क्रममा छ। तर आगामी मंसिर ४ मा हुने प्रदेश र संघको चुनावी बहसले राजनीतिक गर्मी ह्वात्तै बढेको छ। हरेक गौडा, कोण, समूहमा चुनावी बहस चलिरहेको छ।
मुलुककै पुरानो सहरका रूपमा पनि नेपालगन्ज परिचित छ। खासगरी कर्णाली र सुदूरपश्चिमको केन्द्रका रूपमा नेपालगन्जलाई हेरिन्छ। त्यस क्षेत्रका नागरिक स्वास्थ्य, शिक्षाका लागि नेपालगन्जको भर पर्दै आएका छन्।
विभिन्न वस्तु आयातनिर्यातका लागि पनि नेपालगन्जकै बाटो प्रयोग गर्ने धेरै छन्। केन्द्रीय नेता वा मन्त्रीहरू पनि कर्णाली र सुदूरपश्चिमका जिल्ला जानुपर्दा नेपालगन्ज विमानस्थल भएरै जान्छन्।
नेपालगन्जमा विशिष्ट व्यक्तिहरूले कुनै न कुनै कार्यक्रम आयोजना गरेकै हुन्छन्। तत्कालीन कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गृहजिल्ला भएकाले पनि देशको ध्यान त्यतातिर मोडिनु स्वाभाविकै हो।कोइराला २०७० सम्म बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने गरेका थिए। कोइरालाको शेषपछि भने यो क्षेत्रमा कांग्रेसले अन्य कुनै पनि उम्मेदवार उठाएन।
२०७४ मा भएको निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कोइराला लड्ने गरेको क्षेत्र राप्रपालाई दिएको थियो। यसपालि भने जनता समाजवादी पार्टीलाई दिने सम्भावना छ। अघिल्लो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका पशुपतिदयाल मिश्र लडेका थिए। तर यी दुवै गठबन्धनलाई पराजित गर्दै संघीय समाजवादी फोरम नेपालका मोहम्मद इस्तियाक राई (हाल जसपा) निर्वाचित भएका थिए।
राईले २१ हजार ५७५ मत ल्याउँदा एमालेका मिश्रले १५ हजार ९५१ र राप्रपाका ओमप्रकाश आजादले ११ हजार ६२२ मत ल्याएका थिए।
राई यसपालि पनि निर्वाचन लड्ने तयारीमा छन्। हाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका राईको नाम जसपाले एकल सिफारिस गरेको छ। क्षेत्र नं. २ का लागि निकै बलिया उम्मेदवार हुन् उनी। मधेशी र मुस्लिम समुदाय बाहुल्य यस क्षेत्रमा उनलाई जित निकाल्न सहज हुने त्यहाँका स्थानीय नेता बताउँछन्। जसपा मधेश केन्द्रित दल र राई मुस्लिम समुदायकै भएकाले पनि त्यहाँका नागरिकको उनले ‘सेन्टिमेन्ट’ प्राप्त गर्न सक्छन्।
उनका लागि यसपटक जित हात पार्न भने त्यति सहज छैन। किनभने त्यस क्षेत्रका अर्का बलियो उम्मेदवार हुन्, धवलशमशेर राणा। राप्रपाका महामन्त्रीसमेत रहेका राणा त्यस क्षेत्रका लागि प्रभावशाली मानिन्छन्। २०७० सालको चुनावमा सुशील कोइरालासँग लडेका उनले राम्रै मत प्राप्त गरेका थिए। बाँकेमा राप्रपाको संगठन खासै बलियो छैन। तर राणा आफैँमा लोकप्रिय व्यक्ति भएकाले पनि उनको सम्भावना प्रबल छ। यसअघि उनी ठूला भनिएका राजनीतिक दलका उम्मेदवारलाई पराजित गर्दै नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका थिए।
यसपालि उनी संसदीय निर्वाचन लड्ने मनसाय बनाएका छन्। राप्रपा फुटेको भए पनि उनलाई खासै असर पर्ने भने देखिन्न किनभने उनी आफैँमा ‘ब्रान्ड’ हुन्। राप्रपाले हिन्दू राष्ट्र र राजसंस्थाको मुद्दा बोकेको छ। तर पनि मुस्लिम बाहुल्य नेपालगन्जमा राणा चर्चित छन्। यसका पनि विभिन्न कारण छन्, नेपालगन्जमा उनलाई सहयोगी नेताका रूपमा चिन्छन्।
यसअघि दुई पटकसम्म नेपालगन्ज उपमहानगरपालिकाको मेयर बनेका उनले आफ्नो कार्यकालमा राम्रो काम गरेको र सबै समुदायसँग सद्भाव राख्ने व्यवहारका कारण पनि उनी लोकप्रिय छन्। उनीप्रति व्यक्तिगत रूपमा सदासयता राख्ने व्यक्तिहरू अन्य दलमा पनि छन्।
धवललाई शिवसेना चुनौती
बाँके-२ मा राप्रपाको संगठन बलियो छैन। त्यसमाथि राप्रपा त्यागेर राप्रपा नेपालमा गएकाहरूले उनलाई समर्थन गर्ने छैनन्। अहिलेसम्मको अवस्था हेर्दा समर्थन गर्नेभन्दा पनि उनलाई हराउन भूमिका खेल्ने देखिन्छ। त्यसैले उनको व्यक्तिगत लोकप्रियताले मात्रै जित निकाल्न सहज छैन।
उनलाई अर्को चुनौती हो, शिवसेना। यो क्षेत्रमा शिवसेनाले स्वतन्त्र रूपमा उम्मेदवार उठाएको छ। नेपाल शिवसेनाको समर्थनमा प्रतिनिधिसभा सदस्यका लागि दिवाकर शर्मा खनाल उम्मेदवार बन्दैछन्। शिवसेनाले चुनावी अभियान पनि थालिसकेको छ। यस्तोमा हिन्दू समुदायको केही मत खनालले काट्न सक्ने देखिन्छ। यसको सीधै असर धवललाई पर्नेछ।
क्षेत्र २ मा धवललाई एमालेले समर्थन गरेर चुनावी तालमेल गर्ने तयारी पनि चलिरहेको छ। एमालेको पनि मत पाउँदा भने उनले जित निकाल्न सक्छन्। अर्कोतर्फ उनले सत्तारुढ गठबन्धनमा देखिएको किचलोको फाइदा उठाउन सक्छन्। ‘गठबन्धनमा देखिएको असन्तुष्टिलाई उनले (धवल) क्यास गर्न सके भने जित सहज हुन सक्छ,’ पुराना पत्रकार हेमन्त कर्माचार्यले भने।
उनका अनुसार धवलको पार्टी परिचालन टिम भने कमजोर छ। कार्ययोजना बनाउने, कमान्ड गर्ने, रणनीति बनाउने विषयमा कमजोर देखिएको कर्माचार्यको भनाइ छ।
तानातानमा हिन्दू-मुस्लिम भोट
जबजब चुनाव आउँछ, तबतब यो क्षेत्रमा हिन्दू-मुस्लिमको नारा लाग्ने गर्छ। हिन्दू उम्मेदवारले हिन्दूवादी नारा लगाउने र मुस्लिम उम्मेदवारले मुस्लिमवादी नारा लगाउने गर्छन्। केही त्यस्ता तटस्थ व्यक्तिहरू पनि छन्, जसले भोट ‘स्विङ’ गर्छन्। त्यसरी हेर्दा धवल र इस्तियाकमध्ये इस्तियाकले हिन्दू भोट धेरै तान्न सक्ने देखिन्छ।
मधेशकेन्द्रित दल जसपा भएकाले हिन्दू मधेशीहरू सो दलसँग आबद्ध छन्, मुस्लिम समुदायको भोट त उनलाई ‘सेन्टिमेन्ट’का आधारमा जाने नै भो। ‘समग्रमा उनले बढीमा २०-२५ प्रतिशत हिन्दूको भोट पाउन सक्छन्,’ कर्माचार्य भन्छन्, ‘धवलले भने मुस्लिमको १५ प्रतिशतभन्दा बढी भोट लैजान गाह्रै पर्छ।’त्यसमाथि सत्तारुढ गठबन्धनबाट इस्तियाक उम्मेदवार बन्ने सम्भावना बढेकाले तत्कालको रुझानमा उनी बलिया देखिएका छन्।
विगत निर्वाचनलाई हेर्ने हो भने यो क्षेत्रमा मतदानको अन्तिम दुई हप्ता बाँकी रहँदा ‘सिनारियो’ फरक ढंगले जाने गरेको छ। अहिले इस्तियाकलाई बलियो हुन नदिने पक्षमा केही व्यक्तिहरू लागेका छन्। ती व्यक्तिहरू गोलबद्ध भएर इस्तियाकका विपक्षमा लाग्न सक्छन्।
उनी यो क्षेत्रमा स्थापित हुँदा पछि हल्लाउन गाह्रो पर्न सक्छ भन्ने हिसाबले ध्रुवीकरणका सम्भावना पनि रहेको जसपाका स्थानीय एक नेताले बताए। ती नेताले थोरै मतले भए पनि इस्तियाकले चुनाव जित्ने दाबी गरे।
कांग्रेसको सिट जहिल्यै अरूलाई
तत्कालीन कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाले लड्दै आएको क्षेत्र हो, बाँके-२। पछिल्लो समय कांग्रेसले भने आफ्नो उम्मेदवार उठाउन सकेको छैन। २०७४ मा गठबन्धनका नाममा कांग्रेसका कार्यकर्ताले राप्रपालाई भोट हाले भने अहिले जसपालाई भोट हाल्नुपर्ने स्थिति पैदा भएको छ। गठबन्धन बनेमा बाँके-२ कांग्रेसले नपाउने निश्चितजस्तै छ। त्यसैले पनि कांग्रेसका प्रतिनिधिसभा सदस्य लड्ने हैसियत भएका नेताहरू प्रदेशमा त कोही समानुपातिकमा खुम्चिएका छन्।
केही समयअघिसम्म प्रतिनिधिसभामा गजेन्द्र हमालको नाम चर्चामा थियो। तर उनी पनि गठबन्धन हुने देखिएपछि समानुपातिकमा बसेका छन्। अहिले कांग्रेसले निवर्तमान जिल्ला सभापति किरण कोइराला, क्षेत्र नं. २ का सचिव सुनिल सिंह हमाल र तरुण दल बाँके अध्यक्ष वीरेन्द्रबहादुर शाहको नाम सिफारिस गरेको छ।
सुशील कोइरालाले लड्दै आएको क्षेत्र किन कांग्रेसले छाड्दैछ त? कांग्रेसका एक स्थानीय नेता भन्छन्, ‘आँट गर्ने मान्छे नै भएनन्। यहाँ त कांग्रेसको खडेरी पर्ने भयो।’उनका अनुसार केन्द्रमा यहाँका नेताले प्रभावकारी उपस्थिति जनाउन नसकेकै कारण गठबन्धनका नाममा बाँके-२ जहिल्यै अन्य पार्टीको पोल्टामा पर्ने गरेको छ। जहिल्यै अन्य पार्टीलाई प्रतिनिधिसभा सदस्य दिने भएपछि विरोधका स्वर नसुनिएका पनि होइनन्। तर पार्टी निर्णयका अगाडि भने यहाँका कांग्रेस नेताहरू निरीह हुन्छन्।
मतभारमा कांग्रेस बलियो
गत स्थानीय निर्वाचनमा वडाले पाएको मतलाई आधार मान्ने हो भने कांग्रेस बलियो देखिएको छ। क्षेत्र नं. २ सम्पूर्ण डुडुवा गाउँपालिका र २३ वडा रहेको नेपालगन्जमा १६ र १७ बाहेक सबै वडा पर्छन्।सोअनुसार कांग्रेसले १८ हजार ३७, एमालेले १५ हजार ४७८, जसपाले १३ हजार ८०९, राप्रपाले ८ हजार ४९४, माओवादी केन्द्रले ६ हजार ८५९, नेकपा (एस)ले ८२१ र लोसपाले ५६४ मत प्राप्त गरेका छन्।
को हुन् इस्तियाक?
इस्तियाक राई २०५१ सालदेखि राजनीतिक दलमा आबद्ध भएका हुन्। २०५४ सालमा तत्कालीन राप्रपा साइगाउँ गाविस एकाइ कमिटी अध्यक्ष बनेर काम गरेका थिए। त्यसपछि निर्वाचन क्षेत्र नं. ३ को सचिव भएर काम गरे।
२०६३ सालमा मधेशी जनअधिकार फोरम नेपालको जिल्ला सचिवालय कोषाध्यक्ष भएर काम गरेका राई २०६४ मा केन्द्रीय सदस्य र केन्द्रीय संगठन विभाग सदस्य, २०६६ मा मुस्लिम विभाग अध्यक्ष, राजनीतिक समिति सदस्य भएर काम गरे।
२०७४ मा संघीय समाजवादी फोरम नेपालको सचिव भए। यसबीच उनी २०६४ सालमा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।
उनी २०६८ मा श्रम तथा यातायातमन्त्री, २०७५ मा सहरी विकासमन्त्री र हाल उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन्।
धवलशमशेरको विगत
धवलशमशेरले एमालेबाट राजनीति सुरु गरेका हुन्। उनी २०५१ को आमनिर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचन लडेर पराजित भएका थिए।२०५४ सालमा उनले नेकपा एमालेबाट नेपालगन्जको मेयर जितेका थिए। २०६३ मा एमाले परित्याग गरेर उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता लिएका थिए। २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पराजय भोगेका धवलले पुनः नेपालगन्ज मेयरमा निर्वाचित भएर काम गरे। अहिले उनी राप्रपाको महामन्त्री छन्।
कुन निर्वाचनमा को विजयी?
बाँके २ मा २०४८ सालमा नेपाली कांग्रेसका सुशील कोइराला निर्वाचित भएका थिए।२०५१ मा भएको निर्वाचनमा राप्रपाका शान्तिशमशेर जबरा, २०५६ मा पुनः सुशील कोइराला, २०६४ मा मधेशी जनअधिकार फोरम नेपालका मोहम्मद इस्तियाक राई, २०७० मा एमालेका दिनेशचन्द्र यादव, २०७४ मा संघीय समाजवादी फोरम नेपालका मोहम्मद इस्तियाक राई (हाल जसपा) निर्वाचित भएका थिए।