बाँके\बाँकेको जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम शुरू भएको छ । चालु आर्थिक वर्षदेखि सो कार्यक्रम लागू भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।
गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’ अन्तर्गत सो कार्यक्रम लागू गरेको हो । ‘कार्यपालिकाको बैठकबाट पास भएको कार्यविधि अनुसार छोरी जीवन बीमा कार्यक्रम लागू भएको छ’, प्रशाकीय अधिकृत डाँगीले भने ।
यसलाई प्रभावकारी कार्यान्वयन गराउन गाउँपालिकाको सबै वडामा पत्राचार गरेको उल्लेख गर्दै उनले सबै वडामा विसं २०७९ साउनयता जन्मेका छोरीहरूले बीमाको सेवा पाउने बताए । अधिकृत डाँगीले छोरी जीवन बीमा कार्यक्रमका लागि रू। १० लाख बजेट विनियोजन भएको जानकारी दिँदै छुट्ट्याइएको रकम अपुग भए अन्य रकमसमेत विनियोजन हुने उल्लेख गरे ।
गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूलाई गाउँपालिकाकातर्फबाट वार्षिक रू। ५ हजारका दरले जीवन बीमाको प्रिमियिम पर्ने गरी आउने बीमांक रकम बराबरको जीवन बीमा गरिनेछ । यसअघि सो गाउँपालिकाको १२औं गाउँसभाले ‘गाउँपालिका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम’ पारित गरेको थियो ।
उक्त कार्यक्रम अन्तर्गत केही दिनअघि बसेको गाउँपालिकाको बैठकले छोरी जीवन बीमा कार्यक्रमका साथै गाउँपालिकाका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ स्वीकृत गरेको थियो ।