९ बैशाख २०८२, मंगलवार

दाङबाट ४३ सय क्विन्टल जडीबुटी निकासी
  • रासस

दाङ\जिल्लाबाट एक वर्षमा करिब साढे चार लाख किलो जडीबुटी निकासी भएको छ । डिभिजन वन कार्यालय, घोराहीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय र निजी वन क्षेत्रबाट ४ लाख ३८ हजार ९५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको छ ।

जिल्लाबाट ४ हजार ३८९ दशमलव ५ क्विन्टल जडीबुटी निकासी हुँदा धेरै टिमुर निकासी भएको छ । राष्ट्रिय वनबाट २९ हजार ५५० किलो र निजी वनबाट २ लाख १२ हजार १९२ किलो गरी जम्मा २ लाख ४१ हजार ७४२ किलो टिमुर निकासी भएको वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार वन नियमावलीमा तोकिएअनुसार राष्ट्रिय वनको जडीबुटी संकलनको राजस्व लिने गरिए पनि निजी वनको जडीबुटी संकलनको राजस्व पूर्णरूपमा छूट गरिएको छ ।

निजी वन क्षेत्रबाट उत्पादित जडीबुटीको उत्पादन र प्रवर्द्धनलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेकाले निकासीमा राजस्व छूट गरिएको सहायक वन अधिकृत चौधरीले बताए ।

राष्ट्रिय वनबाट १५ प्रकारका जडीबुटी संकलनको अनुमति दिइएकामा निजी वनबाट १३ जडीबुटी संकलनको अनुमति दिइएको थियो । राष्ट्रिय वन क्षेत्रबाट टिमुर २९ हजार ५५०, रिठागेडी १६ हजार, मालागेडी १४ हजार ५००, तेजपात ७ हजार, अमला ३ हजार, बर्रो १ हजार ५००, लहरे गुर्जो २ हजार ५००, ब्राह्मी १ हजार र चुत्रो २ हजार किलो निकासी हुँदा ६ लाख ५३ हजार रूपैयाँ राजस्व संकलन भएको वन कार्यालयले जानकारी दिएको छ ।

निजी वनबाट सबैभन्दा धेरै टिमुर निकासी भएको छ, जसअनुसार टिमुर २ लाख १२ हजार १९२, मालागेडी ५५ हजार २००, रिठा ३२ हजार १०, काउलो बोक्रा २९ हजार, दालचिनी बोक्रा २७ हजार ४००, तेजपात १८ हजार १००, फलखोटो २ हजार, पाषणवेद १ हजार ६००, तिगेडी, कालिकाठ र चुत्रो १/१ हजार, अमलवेद ६५० र चिराइतो २५० किलो जडीबुटी निकासी भएको वन कार्यालयले जनाएको छ । केही वर्षयता जिल्लाबाट जडीबुटीको उत्पादन र निकासी परिणाम बढ्दै गएको वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

जडीबुटी खेतीको प्रवर्द्धन गर्दै वनका माध्यमबाट उपभोक्ताको आयआर्जनमा वृद्धि गर्न गत वर्षदेखि जडीबुटी खेती गर्न डिभिजन वन कार्यालयले प्रोत्साहन गर्दै आएको सहायक वन अधिकृतसमेत रहेका सूचना अधिकारी केसीले बताए । उनका अनुसार यस वर्ष जिल्लाको करिब ३३ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटीका बिरुवा रोपिएको छ ।

  • ९ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech