१५ चैत्र २०८०, बिहीबार

पाँच दिनदेखि राप्तीसोनारीका दुई बालिका बेपत्ता
  • न्युज मानसराेवर

बाँके\बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुम बैरियाका १३ वर्षीया वन्दना विक र ११ वर्षीया निशा परियार गत पाँच दिनदेखि रहस्यमय तरिकाले सम्पर्कविहीन भएका छन् । विक र परियार सम्पर्कविहीन भएको तीन दिनपछि वन्दनाकी सानीआमाले इलाका प्रहरी कार्यालय, कुसुममा उजुरी दिएको र सोही आधारमा तत्कालै खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू जानसक्ने र सम्पर्क भएका ठाउँ तथा आफन्तसँग शोधपुछ भइरहेको प्रहरीले जनाएको छ । असोज ४ गते बेलुका निशाले वन्दनालाई आफ्नो घरमा खाना खान बोलाएकोमा उनीहरूले दालभात पकाए पनि खाना नखाएको देखिएको छ ।

ती दुवै बालिकाका आमाहरू दोस्रो बिहे गरी अन्यत्र गइसकेको र उनीहरू दुवैका बुवा रोजगारीको सिलसिलामा भारतमा रहेको हुँदा निशा मावली हजुरबुबा र वन्दना सानीआमा र हजुर आमासँग बस्दै आएका थिए ।निशाका मावली हजुरबुवा भीमबहादुर दमाईले उक्त दिन आफू दाङको दङ्गीशरण गाउँपालिका–१, गोल्टाकुरीमा काम विशेषले गएको र असोज ५ गते बेलुका घरमा फर्किंदा नातिनीलाई घरमा नदेखेको प्रहरीलाई बताएका छन् ।

निशा स्थानीय कुसुमेश्वर माध्यामिक विद्यालयमा कक्षा ४ र वन्दना ३ मा पढ्दै थिए । त्यसदिन निशाले घरमा आफू एक्लै भएको भन्दै मिल्ने साथी वन्दनालाई खाना खान र सुत्न बोलाएकी थिइन् ।प्रहरीका अनुसार उनीहरू पूर्वपश्चिम राजमार्गस्थित कुसुम बजारमा पानी र मकै बेचेर आफ्नो खर्चको आफैँ जोहो गर्थे । उनीहरू एकदिन स्कुल पढ्न जाने र एकदिन सडकमा पानी र मकै बेच्ने गरेको छिमेकीले जनाएका छन् ।

वन्दना गत वर्ष आफ्नी सानीआमासँग कामको खोजी गर्ने क्रममा पोखरा पुगेर सानीआमासँगै काम गरी फर्किएकी पनि थाहा भएको छ । एकै ठाउँका दुई जना बालिका हराएको सूचना पाएलगत्तै खोजी कार्य जारी राखिएको कुसुम प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसारसबै युनिटमा उनीहरूको फोटोसहितको जानकारी पठाएर खोजतलासमा सहयोग गर्न आग्रह गरिएको छ । काकाको घरमा सुत्न जाने भनेर गएका उनीहरू कहाँ गए सो बारेमा खोजतलास तीव्ररूपमा भइरहेको प्रहरीले जनाएको छ ।

  • १० आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech