बाँके\ सत्ता गठबन्धनका मुख्य नेता, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभा निर्वाचनमा साविककै निर्वाचन क्षेत्र डडेलधुराबाट उठ्ने निश्चित छ। गठबन्धनमा सिट बाँडफाँटको विषय ‘लगभग टुंगो’मा पुग्दा देउवालाई डडेलधुरा ‘सुरक्षित’ गरिएको छ। २०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवा मंसिरको निर्वाचनमा पनि आफ्नो इतिहास कायमै राख्न चाहन्छन्।
देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ भएको निर्वाचनमा डडेलधुराबाट विजयी भएका थिए। उनी २०६४ मा कञ्चनपुर- ४ र २०७० मा कैलाली- ६ बाट पनि विजयी भएका थिए।
रोचक त के छ भने, २०६४ को निर्वाचनपछि मात्रै उनले सत्ताको स्वाद लिन पाएनन्। नत्र, बाँकी सबै चुनावले उनलाई मन्त्री वा प्रधानमन्त्रीको रुपमा सत्ताको अंश बनाएको छ। २०४८ मा सांसद् बनेपछि उनी गृहमन्त्री भएका थिए। २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकारलाई ढालेर २०५२ सालमा आफ्नै नेतृत्वमा सरकार गठन गरेका थिए। त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री बनिसकेका छन्।
सार्वजनिक रुपमै आफूलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छ भनेको भन्दै देउवाले आफ्नो लक्ष्य निर्धारित गरिसकेका छन्। त्यसैले आगामी निर्वाचनपछि पनि उनी प्रधानमन्त्री बन्ने तयारीमा छन्। त्यसका लागि नै उनले पार्टीभित्रको दबाबलाई बेवास्ता गर्दै गठबन्धनलाई बलियो बनाउने प्रयत्न थालेका छन्। प्रधानमन्त्री बन्नका लागि देउवालाई प्रतिनिधि सभामा पुग्न कति सहज छ त? त्यसको एउटा छनक गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनले दिनसक्छ।
डडेलधुरामा प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको छ। यस जिल्लामा सात वटा पालिकाहरू रहेका छन्। जसमध्ये अजयमेरु गाउँपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका, गन्यापधुरा गाउँपालिका, अमरगढी नगरपालिका र परशुराम नगरपालिका रहेका छन्।
एकीकृत मतमा कांग्रेस अगाडि
यी पालिका अन्तर्गतका वडाहरुमा अध्यक्षका उम्मेदवारहरुले पाएको एकीकृत मतमा कांग्रेस अगाडि छ। त्यहाँ कांग्रेसले २१ हजार ७३५, माओवादी केन्द्रले १२ हजार ८७८, नेकपा एमालेले १० हजार ४४९, एकीकृत समाजवादीले ५ हजार ४१ र कांग्रेस बीपीले ३ हजार ६०३ मत पाएको छ। त्यस्तै, अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारहरुले २ हजार ५४८ मत पाएका छन्।
स्थानीय तहको मतलाई आधार मान्ने हो भने कांग्रेस उम्मेदवारको रुपमा देउवालाई जित निकाल्न कठिन छैन। उनलाई उनकै दल कांग्रेसकै मत पनि पर्याप्त हुने देखिन्छ। त्यसमा पनि सत्ता गठबन्धनका अन्य दलहरुले पनि सहयोग गर्दा उनी थप बलिया हुनेछन्।
तथ्यांकमा देउवा जति बलिया छन्, राजनीतिक पुँजी भने त्यति सशक्त हुन सकेको छैन। पार्टीभित्रकै असन्तुष्टिले देउवाको साथ छोडेर गएकाहरूको समूह डडेलधुरामा कांग्रेस बीपीको नाममा बलियो बन्दै गएको छ। त्यसको केही संकेत स्थानीय तहको निर्वाचनमा पनि देखिइसकेको छ। पार्टी केन्द्रमा पनि उनका नीतिप्रति विमति चर्को छ। पार्टी केन्द्रदेखि डडेल्धुरासम्मको असन्तुष्टिलाई जति सहज तरिकाले सम्बोधन गर्छन्, उनको सातौँ संसद् यात्रा उति नै सहज हुनेछ।