६ चैत्र २०८०, मंगलवार

एमालेले तत्काल उम्मेदवारको सूची सार्वजनिक नगर्ने
  • न्युज मानसराेवर

काठमाडौँ\नेकपा एमालेले प्रत्यक्षतर्फ चुनाव लड्ने उम्मेदवारको सूची तत्काल सार्वजनिक नगर्ने भएको छ । बिहीबार मध्यरातसम्म चलेको एमाले सचिवालय बैठकमा उम्मेदवारबारे लामो छलफल भएको थियो । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ५ घण्टा भन्दा लामो समय चलेको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ पार्टीको उम्मेदवारीका सन्दर्भमा छलफल केन्द्रीत रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार बिहीबारको बैठकमा प्रतिनिधिसभातर्फका १६५ र प्रदेशसभातर्फका ३३० निर्वाचन क्षेत्रमा लड्ने सम्भावित उम्मेदवारबारे प्रारम्भिक छलफल भएको छ । ‘पार्टी सचिवालयको १३ औं बैठकमा प्रतिनिधिसभातर्फको १६५ वटा सिटमा कोको उम्मेदवार हुन सक्छन् भन्नेबारे प्रारम्भिक छलफल भएको छ’, उनले भने, ‘सातै प्रदेशका प्रदेशसभाको ३३० का सिटमा पनि सम्भावित उम्मेदवारको बारेमा छलफल चलाएका छौँ ।’

उनले उम्मेदवारीबारे ठोस निर्णय नभएको र तत्काल अन्तिम नामावली सार्वजनिक नहुने संकेत गरे । उनका अनुसार सचिवालयको अर्को बैठकको मिति तय गरिएको छैन भने पार्टी हेडक्वार्टर तथा अध्यक्षले नै आवश्यक परामर्शपछि बैठक राखेर उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुन्छ ।

‘आवश्यक र उपयुक्त समयमा अर्को बैठक गरेर उम्मेदवारको सूची बाहिर ल्याउँछौँ’, उनले भने । यसका लागि असोज २१ वा २२ गतेतिर बैठक बस्न सक्ने उनको भनाइ छ । उनको भनाइअनुसार असोज २३ मा मनोनयन दर्ताको दिन भएकाले एमालेले २२ गतेमात्रै उम्मेदवारीको विषयमा फाइनल गर्ने देखिएको छ ।

यस्तै गुरुङले पार्टीका १० बुँदे पक्षधर र पूर्वमाओवादीबाट एमालेमा आएका नेताहरुको सन्दर्भमा भ्रम छर्ने काम भएको बताए । उनले योग्यता र उम्मेदवार हुन मापदण्ड पुगेका जोकोही भएपनि उम्मेदवार बनाइने बताए । ‘आत्मालोचनाबारे आएको काल्पनिक विषय हो । १० बुँदे वा एमालेमा आएका पूर्वमाओवादीबारे के गर्ने भन्नेबारे हाम्रो बैठकको कुनै एजेण्डा थिएनन्’, सञ्चारकर्मीको जिज्ञासामा उनले भने ।
मापदण्डअनुसार जो लोकप्रिय छ र जसले विजयलाई सुनिश्चित गर्छ उही नै प्राथमिकतामा पर्ने गुरुङले स्पष्ट पारे ।

यसैगरी नेताहरुसँगको परामर्शपछि समानुपातिकतर्फको अन्तिम बन्दसूची असोज १५ गते निर्वाचन आयोगमा बुझाउने पनि गुरुङले जानकारी दिए ।

  • १४ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech