नेपालको संविधानले व्यवस्था गरेको संघीय स्वरूप, भौगोलिक एवम् जनसंख्याको अनुपात अनुरूप स्वास्थ्य संस्थाहरूको न्यायोचित वितरण गर्ने तथा आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गर्ने सरकारको नीति छ । यसका लागि गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सबैका लागि स्वास्थ्य बीमा लागू गर्नु र चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुका साथै डेंगीजस्ता महामारीको प्रभावलाई समाधान गर्नु आजको आवश्यकता हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता यस लेख तयार पारुन्जेल डेंगी पुष्टि हुनेको संख्या २९ हजार नाघिसकेको छ । हालसम्म देशभरका ७६ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको पाइन्छ । वीर अस्पतालमा सय जनाको डेंगी परीक्षण हुँदा आधाभन्दा बढीलाई डेंगी पोजिटिभ हुने गरेको जानकारी आएको छ । तीव्र रूपमा यसरी डेंगीका बिरामी बढ्दै जाने हो भने यो महामारी हुनसक्ने भएकाले सम्बन्धित निकायले बेलैमा ख्याल राख्नु आवश्यक छ । डेंगी लामखुट्टेको एक प्रजातिको टोकाइबाट सर्ने भाइरल रोग हो । एडिस नामक लामखुट्टेका प्रजातिहरू बढ्दै गएको र मानिसको आवतजावत तथा देशभित्रिने क्रम बढेसँगै डेंगीको संक्रमण बढेको पाइन्छ । नेपालमा यो लामखुट्टेको माध्यमबाट सर्ने डेंगी भाइरसका चार प्रजाति छन् । तीमध्ये डेंगी भाइरस–१ को संक्रमण धेरै छ । नेपालमा पहिलोपटक सन् २००४ सालमा देखिएको थियो । सन् २०१९ मा १४ हजार ६६२ संक्रमण देखिएको थियो । विश्वमा यो रोगबाट मृत्यु हुने सरदर वार्षिक १ प्रतिशतभन्दा कम छन् । काठमाडौँ उपत्यकामा डेंगी बढ्न सहयोग पुर्याउने कारणमा फोहोरमैलाको अव्यवस्थापन, अव्यवस्थित बसोवास आदि पर्दछन् ।
एडिस एजिप्टी नाम गरेको लामखुट्टेको पोथी प्रजाति डेंगी सार्ने मुख्य माध्यम हो । दिनमा मानिसको रगत चुसेर बाँच्ने यो प्रजातिले मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने गर्छ । यस प्रजातिले टोकेपछि मानिसको रगतमा भाइरस जम्मा गर्दछ र शरीरमा फैलिन्छ । साथै, रगत चुसिसकेपछि सफा पानी तथा भाँडावर्तनमा अण्डा पार्दछ । एक पटकमा यसले अनगिन्ती अण्डा पार्दछ । निर्जलीकरण प्रतिरोधात्मक भएको यस प्रजातिको संख्या तीव्र गतिमा बढ्छ । संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस प्रवेश गरी संक्रमण बढ्छ । मानिसमा एक पटक संक्रमण भएपछि सो प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटी मिल्छ । तसर्थ चार प्रजातिको भाइरसले एक व्यक्तिमा चारपटक संक्रमण गर्न सक्छ ।
डेंगी लागेको २ देखि ७ दिनमा यसका लक्षणहरू देखापर्दछन् । उच्च ज्वरो प्रमुख लक्षण हो । टाउको दुख्ने, मांसपेशी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाक लाग्ने, ग्रन्थी सुन्निने, पेट दुख्ने, गिँजाबाट रगत आउने, छातीमा पानी जम्ने, छटपटी हुने आदि यसका लक्षण हुन् । रगत धेरै खेर गएमा कलेजो तथा अन्य अंगले काम नगरी हृदयाघात भई बिरामीको मृत्यु समेत हुन सक्छ । त्यसैले यस रोगको रोकथाम गर्नु अति आवश्यक छ । यसका लागि लामखुट्टेको प्रजनन रोकथाम गर्नुपर्छ । घरवरपर लामखुट्टेको बसोबास हुन नदिनुपर्दछ । यसको लागि फोहोरमैलाको आवश्यक व्यवस्थापन गरी वातावरण सफा राख्नुपर्दछ । कीटनाशक प्रयोग गरेको झुल प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामखुट्ट बसोवास गर्ने स्थानमा कीटनाशक औषधी छर्कने, पानी जम्न नदिने, आफ्नो सुरक्षाको लागि रिपेलेन्टजस्तै लोसनहरूको प्रयोग गर्ने आदि काम गर्नुपर्छ । यो रोग फैलाउने लामखुट्टे बिहानदेखि बेलुका धेरै टोक्ने भएकाले होसियार हुनुपर्छ । डेंगीका लक्षण देखा पर्नासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ । साथै, डेंगी प्रकोप नियन्त्रण गर्न स्थानीय सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सर्वसाधारण तथा आमजनतालाई डेंगीबाट बचाउन अति आवश्यक छ ।
निष्कर्षमा डेंगीजस्ता विभिन्न महामारी तथा रोगको नियन्त्रणको लागि आवश्यक दक्ष स्वास्थ्य जनशक्ति हुनु पर्दछ । स्वास्थ्य संस्था सेवाग्राहीको पहुँचमा हुनुपर्छ । औषधि, उपकरण, प्रविधि, प्रभावकारी स्वास्थ्य सेवा प्रणालीको विकास हुनु पर्दछ । आम नागरिकका लागि प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पर्दछ । निःशुल्क औषधि बेलैमा उपलब्ध हुनु पर्ने, सो औषधि कति प्रकारको पाइन्छ सबै नागरिकलाई थाहा हुनु पर्ने तथा कमसेकम आवश्यक मापदण्ड अनुसार स्वास्थ्य संस्थाका भौतिक संरचनाहरू हुनु पर्दछ । यसो भएमा मात्र हाम्रो देशमा स्वास्थ्य संस्थाले आम नागरिकको स्वास्थ्यमा गहन भूमिका खेली डेंगी जस्ता विभिन्न महामारीहरूको नियन्त्रण भई स्वास्थ्य सेवा गुणस्तर हुनेछ । यसको लागि स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका खेल्न अति आवश्यक छ ।
लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।