१४ मंसिर २०८१, शुक्रबार

निर्वाचन आयोगले तोक्यो खर्चको सीमा, अधिकतम कतिसम्म खर्च गर्न पाइन्छ?
  • न्युज मानसराेवर

बाँके\निर्वाचनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खर्चको सीमा तोकेको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै खर्चको अधिकतम सीमाबारे जानकारी दिएको हो। आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई निर्वाचनका लागि खर्चको अधिकतम हद तोकेको जानकारी दिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रयोजनको लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २४, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ बमोजिम निर्वाचन खर्चको हद निर्धारण गरिएको हो।

यस्तो छ खर्चको अधिकतम हद 

(क)    संवत् २०७९ साल भाद्र ३१ गते कायम भएको मतदाताको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई साठी प्रतिशत भार, (ख)  मतदान केन्द्रको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको संख्यालाई बीस प्रतिशत भार,
(ग)    भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई बीस प्रतिशत भार निर्धारण गरिएको छ ।

उल्लेखित भारको आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनको हकमा अनुसूची –१ मा उल्लिखित ५ वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद रु.२५ लाख कायम गर्ने,

अनुसूची –२ मा उल्लिखित १७ वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद रु.२७ लाख कायम गर्ने,
अनुसूची –३ मा उल्लिखित ६५ वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद रु.२९ लाख कायम गर्ने,
अनुसूची –४ मा उल्लिखित ५२ वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद रु.३१ लाख कायम गर्ने
अनुसूची –५ मा उल्लिखित २६ वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद रु.३३ लाख कायम गर्ने,

त्यस्तैगरी उल्लेखित भारको आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रदेश सभाको निर्वाचनको हकमा अनुसूची –१ मा उल्लिखित ७० वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद रु.१५ लाख कायम गर्ने, अनुसूची –२ मा उल्लिखित १४३ वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद रु.१७ लाख कायम गर्ने, अनुसूची –३ मा उल्लिखित ५६ वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद रु.१९ लाख कायम गर्ने, अनुसूची –४ मा उल्लिखित २९ वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद रु.२१ लाख कायम गर्ने र अनुसूची –५ मा उल्लिखित ३२ वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद रु.२३ लाख कायम गर्ने,

समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद प्रत्येक राजनीतिक दलले पेस गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार दुई लाख रुपैयाँ र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेश सभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद राजनीतिक दलले सम्बन्धित प्रदेशमा पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार एक लाख पचास हजार रुपैयाँ कायम गरिएको छ।

  • १६ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech