बाँके\नेकपा (माओवादी केन्द्र) ले उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाइएको छ। महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको माओवादी केन्द्रले जनाएकाे हाे।
माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम १ नम्बरमा थियो। महरा प्रत्यक्षबाटै चुनाव लड्ने मनिस्थितिमा रहेकोले उनको नाम समानुपातिक सूचीबाट हटाइएकाे माओवादी केन्द्रका एक नेताले बताए।
पूर्व सभामुख महरा २०४८ सालयता सहभागि भएका सबै निर्वाचनमा विजयी भएका छन्। २०४८ र २०७० मा रोल्पाबाट उम्मेदवार बनेका महरा २०७४ सालमा दाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने र सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम थियो।
निर्वाचन आयोगमा यसको विस्तृत विवरण संकलन हुने क्रम जारी रहेको आयोगले जनाएको छ। बन्दसूचीका संशोधित सूची बुझाउने अन्तिम अवधि असोज १६ गतेसम्मका लागि दिइएको थियो। ठूला दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलले शनिबार नै आफ्नोतर्फको संशोधन पेस गरेका थिए।