बाँके\अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
मुख्य रुपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङ लगायतका जिल्लामा विद्युत प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ ।
दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तर्गत बेलडाँगी भन्ने स्थानमा पहिरोले टावर ढालेको आशंका गरिएको छ । विद्युत प्राधिकरणकाले १३२ केभी प्रसारण लाइनको टावर ढलेको खबर आएको तर पहिरोका कारण उक्त स्थानमा पुग्न नसकिएकोले यकिन हुन नसकिरहेको जनाएको छ ।
प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनमार्फत लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई विद्युत आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत खपत गर्ने सिमेन्ट उद्योगहरु सञ्चालित छन् ।
प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेको अवस्थामा आपत्कालीन पुनस्र्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत आपूर्तिको योजना रहेको जनाएको छ ।