१ असार २०८२, आईतवार

बाढीले नरैनापुरका दुई सय घर पूर्ण क्षति
  • न्युज मानसराेवर

बाँके\चार दिनदेखिको वर्षाले बाँकेको नरैनापुर गाउँपालिकाको छवटै वडा डुबानमा परेको छ। नरैनापुर गाँउपालिकामा दुई सय घरमा पूर्णरुपमा क्षति पुगेको छ भने हजारभन्दा बढी स्थानीय बासिन्दा प्रत्यक्षरुपमा प्रभावित भएको गाउँपालिका विपत् शाखा प्रमुख तथा सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताए।

वर्षाले नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा राप्ती नदीमा आएको बाढी पस्दा स्थानीयवासी प्रभावित भएका हुन्। छवटै वडाका अधिकांश गाउँ जलमग्न भई केहीको घरमा समेत पानी पसेको छ।  गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा, वडा नंं ५ को जमुनहा, ६ को दोँदरा, २४ बिगालगायतका गाउँका अधिकांश घरमा पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको छ।

बाढी र डुबान पीडितका लागि तत्काल खाद्य बस्तु उपलब्ध गराउन जिल्ला विपत् व्यवस्थापन समितिलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए।  अध्यक्षले शाहले भने, ‘राप्ती नदीको पानीले भन्दा नरैनापुरको नजिकै रहेको पहाडको पानीले यहाँका स्थानीयलाई प्रभावित बनाएको छ।’  समयमा वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गर्नुपरेको भन्दै अध्यक्ष शाहले नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले धान बाहेकका खेतीबाली सखाप पारेको बताए।  वडा नं ३ का अध्यक्ष अजय मिश्रले घरमा रहेका सबै सामान भिजेर काम नलाग्ने अवस्थामा पुगेको भन्दै बाढी पीडितका लागि खानाको समस्या भएको बताए।

  • २२ आश्विन २०७९, शनिबार प्रकाशित

  • Nabintech