बाँके\कर्णाली प्रदेशका प्रमुख २० भन्दा बढी सडक अवरुद्ध भएका छन्। निरन्तर परेको वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएका छन्। कर्णाली राजमार्ग १० ठाउँमा अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यस्तै छिन्चु–जाजरकोट सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ भने रातानाङ्ला–धरमपोखरा सडक, सुर्खेत–दैलेख सडक खण्ड, बोटेचौर–दाङ सडक खण्ड, बोटेचौर सल्यान सडक खण्ड पनि अवरुद्ध भएका छन्। प्रदेशका आठ जिल्लाका सडक पहिरोका कारण अवरुद्ध भएको कार्यालयको विवरणमा उल्लेख छ।
सडक अवरुद्ध भएपछि दसैँ मनाउन गाउँ पुगेकाहरू अलपत्र परेका छन्। कतिपयले आफन्तकहाँ टीका लगाउन जान पाएका छैनन्। यस्तै रोजगारीका लागि फर्कर्नुपर्ने व्यक्तिहरूलाई पनि काममा फर्कन समस्या भएको छ।