‘मानसिक स्वास्थ्य’ का विषयमा प्राय: बन्द ढोकापछाडि हुन्छ। मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्यजत्ति नै महत्त्वपूर्ण भए तापनि हाम्रो समाजमा यसप्रतिको बुझाइ र दृष्टिकोण संकुचित छ। त्यसैले यसबारे खुलेर कुरा गरेको पाइँदैन। परिणामस्वरूप थुप्रै मानिस समयमा मानसिक स्वास्थ्य परामर्श लिनबाट वञ्चित हुँदै आइरहेका छन्। हाम्रो आफ्नै वरिपरि पनि डिप्रेसन (अवसाद) , एङ्जाइटी (चिन्ता) जस्ता समस्यासँग जुधिरहेका मानिस सामाजिक अवहेलनाको डरका कारण सहयोगबाट टाढिने गरेका छन्।
मानसिक रूपमा स्वस्थ रहनु भनेको मानसिक रोग नहुनु मात्र नभएर आफ्नो जीवनको क्रमिक तनावलाई व्यवस्थापन गर्न सवनु, आफ्नो क्षमतालाई महसुस गर्नु प्रभावकारी भएर काम गर्न सक्नु र समाजमा आफ्नो योगदान दिन सक्नु हो (डब्लूएचओ नेपाल)।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक अध्ययनअनुसार नसर्ने रोगहरूबाट उत्पन्न हुने समस्यामध्ये १८ प्रतिशत मानसिक रोगका कारण हुने गरेका छन्। नेपालमा करिब दुई लाख ६५ हजार मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको ‘नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना, २०१४-२०२० मा उल्लेख छ।
यस्तै स्वास्थ्य अनुसन्धान परिषद्ले जनवरी २०१९ देखि जनवरी २०२० सम्म १३ वर्षमाथिका १५ हजारभन्दा बढीमा गरेको सर्वेक्षणले महामारीपछि मेन्टल डिसअर्डर अर्थात् मानसिक समस्या तीव्र रूपमा बढ्दै गएको देखाएको छ। सर्वेक्षणमा सहभागीमध्ये १० प्रतिशतमा जीवनमा एकपटक मेन्टल डिसअर्डर हुनेमा पछिल्लो एक वर्षमा मात्रै ४.३ प्रतिशतमा मेन्टल डिसअर्डर देखिइसकेको उल्लेख छ। जसमध्ये सबैभन्दा धेरै प्रदेश १ मा १३.१ प्रतिशतमा मानसिक समस्या देखिएको छ। लाइफटाइम मेन्टल डिसअर्डर अर्थात् जीवनमा एकपटक मानसिक समस्याको दर ४० देखि ४९ वर्ष उमेर समूहमा सबैभन्दा बढी रहेको हो। यस्तै बागमती प्रदेशमा ५.९ प्रतिशतले मानसिक समस्या बढेको पाइएको थियो।
मानसिक रोगका कारण
शरीरका विभिन्न महत्त्वपूर्ण अंगमध्ये मष्तिष्क पनि एक अभिन्न भाग हो। जसरी शरीरका अन्य भागमा असर परी शारीरिक रोग लाग्छ त्यसैगरी मष्तिष्कमा पनि विभिन्न रोग लाग्न सक्छन् जसले हाम्रो मस्तिष्कमा मात्र नभई मन, विचार, भावना र बुद्धिमा पनि प्रतिकूल असर पार्दछ जसलाई हामी मानसिक रोग भन्दछौँ। यसका विभिन्न कारण हुन सक्छन्, जस्तै :
– वंशाणुगत कारक
– शरीरमा न्युरो केमिकल्सहरुको घटबढ
– व्यक्तिगत, पारिवारिक र आर्थिक कारण
– यातना, आघात, हिंसा
– शरीर वा मस्तिष्कका भागहरुमा गम्भीर चोटपटक
– सुर्तीजन्य तथा लागूपदार्थ दुर्व्यसन
मानसिक रोग कसरी चिन्ने ?
निम्न लिखित लक्षण राम्रोसँग केलाएर बिरामीको अध्ययन गरेमा मानसिक रोगले पीडित व्यक्तिलाई सजिलै चिन्न सकिन्छ।
क) बिरामी आफूले गर्दै आएको दैनिक कामकाज गर्न छोड्छ, जथाभावी गर्छ र आफन्तसँग बिनाकारण रिसाउँछ। अरूले भनेको नमानी समाजमा प्रचलित चालचलन तथा मान्यताको पनि कदर गर्दैन। आफन्त र घरका मान्छेले सम्झाउँदा पनि ऊ सुध्रेको देखिँदैन। यस्तो व्यक्ति प्रायः कडा मानसिक रोग साइकोसिसबाट पीडित भएको हुन सक्छ।
साइकोसिसबाट पीडित व्यक्ति कहिलेकाहीँ झट्ट हेर्दा ठिकै जस्तो लाग्ने भए पनि अरूमाथि नचाहिने शंका गर्ने, अरूलाई शत्रु सम्झने र डराउने हुन सक्छ। उसलाई अरूले सुन्न नसक्ने आवाज सुनेको भ्रम हुन सक्छ। साइकोसिसको मुख्य लक्षण बिरामीले आफूलाई रोग लागेको छ भन्ने थाहा नपाउनु हो। यही कारण बिरामी आफ्नो उपचार गर्नुपर्छ भन्ने बुझ्दैन र औषधि खान मान्दैन। बेलैमा ध्यान दिन सकेमा यसको उपचार हुन्छ।
ख) कुनैकुनै प्रकारका मानसिक रोगी झोक्राएर बस्ने, काम नगर्ने, कम बोल्ने या बोल्दै नबोल्ने, दिक्क मानी बस्ने र कहिलेकाहीँ रुने पनि गर्छन्। यस्ता बिरामी राम्रोसँग निद्रा नपर्ने, खानामा रुचि नहुने, टाउको दुख्ने, रिंगटा लाग्ने, पेट दुख्ने, ढाड दुख्ने र कमजोरी भएको अनुभव गर्छन्। यस्तो रोगको मुख्य लक्षण निराश हुनु र अनावश्यक सोचाइ आउनु हो। यस किसिमका लक्षण बढ्दै जाँदा पनि उपचार नभएमा देखिने रोगलाई डिप्रेसन भनिन्छ। डिप्रेसन भएपछि उसमा आत्महत्यासमेत गर्ने चाहना आउन सक्छ। कहिलेकाहीँ डिप्रेसनबाट पीडित व्यक्तिले बोल्न, हिँडडुल गर्न र खानपिउन पनि छाडिदिन्छ। यस्तो अवस्थाको बिरामी शारीरिक रूपमा चाँडै कमजोर हुने हुनाले उसको उपचार पनि तुरुन्तै सुरु गर्नुपर्छ।
ग) अपर्झट मूर्छा पर्ने रोगका बिरामी पनि भेटिन्छन्। यस्तो रोग प्रायः बाल्यकाल या युवावस्थामा सुरु हुन्छ। मूर्छा पर्ने क्रम बीचबीचमा दोहोरिन्छ। मूर्छा पर्दा बिरामी लड्ने, चोटपटक लाग्ने, ओठजिब्रो टोक्ने, आँखाका गेडी चलेको देखिने, मुखबाट फिँज निस्कने, जीउ काँप्ने र कहिलेकाहीँ बेहोस भई दिसापिसाब पनि चुहुने हुन सक्छ। यस प्रकारको मुर्छा पर्ने रोगलाई छारेरोग भनिन्छ।
समाजमा यसलाई रोगका रूपमा नलिई लागोभागो लागेको रूपमा लिइन्छ। समयमै उपचार भएन भने कालान्तरमा यस्ता बिरामीमा मानसिक विकृति आउँछ र पागलपन पनि देखा पर्न सक्छ। तसर्थ यस्ता बिरामी र तिनका आफन्तलाई सम्झाएर समयमै उपचार गरेमा निको हुन्छ।
घ) समयानुकूल शारीरिक र बौद्धिक विकास हुन नपाएका केटाकेटीको बुद्धिको विकास ढिलो हुन्छ र बुद्धि पनि मन्द हुन्छ। यस्ता बच्चाको बोली ढिलो फुट्छ। उनीहरू हिँडडुल गर्न पनि ढिलै सुरु गर्छन्। उनीहरूमा भाषाको पूरा विकास भएको हुँदैन। आफ्नो उमेरका अरू बच्चासरह स्कुलमा पढ्न सक्दैनन्। प्रायः गर्भावस्था या जन्मेपछिको अवधिमा लाग्ने रोग र खराबीले यस्तो अवस्था सिर्जना हुन जान्छ। यसलाई सुस्त मनस्थिति भनिन्छ। यो समस्या अरू नै रोगको असरको परिणाम भएकाले यसको उपचारभन्दा पनि रोकथाममा बढी ध्यान दिनुपर्छ। गर्भवती र सानो उमेरका बालबच्चाको स्वास्थ्यको समयमै उपचार गरिनुपर्छ।
ङ) केही व्यक्तिमा अनावश्यक चिन्ता लिने र डराउने रोग हुन्छ। यस्ता व्यक्तिलाई चिन्ताकै कारण राति निद्रा नपर्ने, सपना धेरै देख्ने, तर्सिने र मन आत्तिने समस्या हुन्छ। बिरामीलाई आपू रोगी भएको पूर्ण महसुस हुन्छ। उसलाई आफ्नो रोगबारे आवश्यकभन्दा पनि बढी चिन्ता हुन्छ। प्रायः यस्ता बिरामीले धेरै समयदेखि अस्पताल धाउने र विभिन्न औषधि खाने गरे पनि त्यसले राम्रो असर पारेको हुँदैन। यिनीहरुमा अस्पताल र क्लिनिक चहार्ने बानी बस्छ। यस किसिमले बढी चिन्ताबाट पीडित हुने रोगलाई न्युरोसिस भनिन्छ। यस्ता बिरामीलाई कुनै औषधि दिएर भन्दा पनि राम्रोसँग सम्झाएर रोगबारे वास्तविक जानकारी दिलाउनुपर्छ। उसको समस्या केलाएर उत्साहित गराउँदै उपचार गर्नुपर्छ।
च) कहिलेकाहीँ चिन्ताबाट उत्पन्न हुने सामान्य रोग अनौठो किसिमले देखा पर्छ। जस्तै : बेहोस भएजस्तो गरी पल्टिनु, बेहोसीमा कराउनु, हातखुट्टा दह्रो पारेर दाँत किट्नु, अरूले उसलाई जतन गरी सम्हाल्न खोज्दा विरोध गर्नु इत्यादि। यस्ता बिरामीको मूर्छाचाहिँ त्यति खतरनाक हुँदैन। बेहोस हुँदा पनि बिरामीलाई चोटपटक लाग्ने, जिब्रो वा ओठ टोकिने, दिसापिसाब छुट्ने आदि लक्षण हुँदैनन्। छोप्न छाडेपछि बिरामी पूरै ठीक। यो रोग प्रायः कमजोर मन भएका, अरूप्रति निर्भर हुने तर आफ्नो प्रशंसा होस् भन्ने चाहना राख्ने अपरिपक्व मन भएका व्यक्तिलाई हुन्छ।
छ) समाजमा अत्यधिक रक्सी पिउने मानिसको कमी छैन। त्यस्तै, लागूपदार्थ सेवन गर्नेको सङ्ख्या पनि बढ्दै छ। कुलतमा लागेकाहरु मानसिक रूपले स्वस्थ हुँदैनन्। त्यसैले यिनीहरुलाई केवल शारीरिक रोगको उपचार गरेर पुग्दैन। मानसिक स्थितिमा परिवर्तन र सुधार ल्याउनु पर्छ। सामाजिक, आर्थिक, मनोवैज्ञानिक र अरू धेरै वैयक्तिक कारणको प्रभावले मानिस लागूपदार्थको दुर्व्यसनमा पर्छन्। त्यसैले जबसम्म दुर्व्यसनका यी विभिन्न कारण हटाउन सकिँदैन, तबसम्म उपचारका प्रयास असफल भइरहन्छन्। (मनोचिकित्सक विश्वबन्धु शर्माको पुस्तक ‘मानसिक स्वास्थ्यका विविध अनुभव’बाट)
त्यस्तै मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान र महत्त्वको विषय जनस्तरसम्म पुग्न नसकेको हुनाले यसप्रतिको अपर्याप्त बुझाइ अनि भ्रम हाम्रो समुदायमा कायमै छ। यसप्रति केही भ्रम र यथार्थ यस प्रकार छन् :
१. भ्रम : मानसिक स्वास्थ्य समस्या थोरै व्यक्तिलाई मात्र हुन्छ।
यथार्थ : विश्व स्वास्थ्य संगठनका अनुसार वर्षको कुनै पनि समयमा प्रत्येक चार जनामा एक जनालाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको हुन सक्छ। मानसिक स्वास्थ्य समस्यालाई विश्वमै सबैभन्दा बढी बोझपूर्ण समस्याको रूपमा लिने गरिन्छ।
२. भ्रम : मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले काम गर्न सक्दैनन्।
यथार्थ : मानसिक समस्या भएका व्यक्तिले अवसर र सहयोग पाएमा अन्य व्यक्तिसरह काम गर्न सक्छन् र गरिरहेका पनि छन्। कडा खालका मानसिक समस्यामा मनोचिकित्सीय तथा मनोवैज्ञानिक उपचारपछि व्यक्तिले सामान्य र स्वतन्त्र जीवन जिउन सक्छन्।
३. भ्रम : मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू हिंस्रक तथा आक्रामक स्वभावका हुन्छन्।
यथार्थ : मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू स्वयं नै हिंसा र आक्रमणको जोखिममा हुन्छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने प्रत्येक १० मध्ये ९ जना मानसिक समस्या भएका व्यक्ति कुनै न कुनै रूपमा मानव अधिकार हननका घटनामा परिरहेका हुन्छन्।
४. भ्रम : बालबालिका र किशोर किशोरीमा मानसिक स्वास्थ्य समस्या हुँदैन।
यथार्थ : ५० प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्ष उमेरअगावै सुरु हुन्छ। प्रत्येक पाँचमध्ये एक जना बालबालिका तथा किशोरकिशोरीमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहने गरेको पाइन्छ। (विश्व स्वास्थ्य संगठन)
५. भ्रम : मानसिक स्वास्थ्य समस्या व्यक्तिगत कमजोरीका कारणले हुन्छ।
यथार्थ : मानसिक स्वास्थ्य समस्या विकास हुनुमा थुप्रै कारक हुन्छन्। मानसिक स्वास्थ्य समस्या जैविक, वातावरणीय, सामाजिक तथा मनोवैज्ञानिक कारणले गर्दा विकास हुन सक्छ। (स्रोत : कोसिस नेपाल)
हाम्रो देशको परिवेश बुझ्ने हो भने मानसिक रोग र उपचारका प्रयास अझै पनि मेडिकल मोडलबाट नै प्रभावित भएको पाइन्छ। विगतभन्दा मानसिक स्वास्थ्यमा उल्लेखनीय रूपमा दक्ष जनशक्ति उत्पादन भएको छ। तर पनि उत्पादित जनशक्ति र जनचेतनाका प्रयास अरू फाँटमा भन्दा अपुग नै देखिन्छ। केही निजी संस्थाले विगत छोटो समयदेखि साइक्याट्रिक पुनर्स्थापनाका (Psychological Rehabilitation) काम गर्दै आएका छन्। साइको–सोसल पुनर्स्थापना (Psycho-social Rehabilitation) को नमुना पछ्याइरहेको देख्न सकिन्छ।
मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक प्रयास विगत केही वर्षदेखि संयुक्त रूपमा भइरहेका छन्। अझ प्राथमिक स्वास्थ्य हेरचाहको एउटा महत्त्वपूर्ण तत्वका रूपमा नेपाल सरकारले यसलाई ग्रहण गरेर स्कुल मेन्टल हेल्थको (School Mental Health) अवधारणा अगाडि सारेको छ। तथापि नेपालमा भएका अधिकांश विद्यालयले विद्यालयमा मनोविमर्शदाताहरूलाई ग्रहण गरेको अवस्था भने छैन। केही निजी संघसंस्थाले यो अवधारणालाई ग्रहण गरेर आशालाग्दा काम गरेका छन्। यसले गर्दा विद्यालयस्तरबाट नै मानसिक रोगसम्बन्धी जनचेतनाका प्रयास सफल भएका पनि देखिन्छन्।
स्वास्थ्य नीति नाम मात्रै
नेपालमा मानसिक स्वास्थ्य नीति २०७२ सालमा बनेको थियो। तर मानसिक स्वास्थ्य कार्यक्रमले नेपालको राष्ट्रिय स्वास्थ्य एजेन्डामा गतिलो प्राथमिकता भने पाएन। स्वास्थ्य मन्त्रालयले २०७१ मा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजनामा मानसिक स्वास्थ्यसम्बन्धी कार्य क्षेत्र तोकिनुको साथै कार्यान्वयन तहमा ल्याएको छ।
यस अतिरिक्त नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७२-२०७७ ले पनि मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अंगका रूपमा समावेश गर्दै आधारभूत स्वास्थ्य सेवा सूचीमा इपिलिप्सी, स्किजोप्रेनिया, बाइपोलार डिसअर्डर र एन्जाइटी डिसअर्डरलाई समावेश गर्दै त्यसको निःशुल्क उपचार तथा मनोविमर्श सेवा प्रदान गर्ने व्यवस्थासमेत गरिएको छ।
यति हुँदाहुँदै पनि विकराल बन्दै गइरहेको मानसिक समस्यालाई न्यूनीकरण गर्न देशमा रहेका तीन तहका सरकारले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ। स्थानीय सरकारले आफ्नो ठाउँका समस्या पहिचान गर्दै एक जना मनोविमर्शकर्तालाई खटनपटन गर्न सकेमा मात्र पनि भोलिका दिनमा रोग पहिचान गर्न र उचित व्यवस्थापन गर्न सहज हुनेछ।
मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनाको अभाव र यसलाई समस्याका रूपमा नलिने गरेका कारण पनि समस्या ओझेल परेको देखिन्छ जसले मानिसलाई थुप्रै रोग लाग्न सक्छन्। डिप्रेसन, निराशापन, एन्जाइटिक डिसअर्डर, छटपटीको समस्यासँगै निन्द्राको समस्या, लागू पदार्थको प्रयोग आदि जसको चरम बिन्दुमा पुगि परिणामस्वरूप मानिस आत्महत्याको बाटो अँगाल्न पुग्दछन्।
विश्व स्वास्थ्य संगठन नेपालका अनुसार गत वर्ष मात्र ६८०० बढी व्यक्तिले आत्महत्या गरेका छन्। यसले नेपालमा मानसिक स्वास्थ्यको अवस्था अत्यन्तै कमजोर र भयावह रहेको देखाउँछ। त्यसैले मानसिक स्वास्थ्य समस्या भएका व्यतिहरूको प्रारम्भिक पहिचान, मूल्यांकन र व्यवस्थापन हुन जरुरी छ। जनताको उपचार र हेरचाहमा पहुँच स्थापित हुनैपर्छ। मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवामा समावेश गरी मनोवैज्ञानिकलाई प्राथमिक हेरचाह केन्द्रमा Primary Health Care Center राख्नुले प्रारम्भिक चरणमा मानसिक स्वास्थ्य उपचार हुन सक्छ तथा उनीहरूलाई सहयोगका लागि धेरै समय र पैसा लगानी गर्न पर्दैन। यसले समग्र जनसंख्याको पहुँचमा सुधार गर्दछ।
मानसिक रूपमा स्वास्थ्य रहनका लागि गर्न सकिने केही उपाय :
– सकारात्मक रहने
– शारीरिक रूपमा सक्रिय रहने
– पोषणयुक्त र सन्तुलित खाना खाने
– आफ्ना लागि समय निकाल्ने र रमाइला क्रियाकलपमा सहभागी हुने
– योग र आरामदायी अभ्यास गर्ने र घरायसी काममा सहयोग गर्ने वा सहभागी हुने बानी विकास गर्ने
– मनका कुरा साथीभाइ, आफन्त वा मन मिल्ने विश्वासिलो मान्छेसँग खोल्ने वा भन्ने बानी विकास गर्ने
– आवश्यक परेको बेला उचित सहयोगका लागि अपिल गर्ने
यसका साथै हाम्रा वरिपरि कोही व्यक्ति मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका छन् भने उसलाई त्यस अवस्थाबाट बाहिर आउन सक्दो मद्दत गर्ने प्रण गरौँ। कस्तो छ भनेर सोधौँ। उनीहरूका कुरा सुनौँ र आवश्यक परेमा मनोसामाजिक परामर्श तथा अन्य सेवा लिन प्रेरित गरौँ। हामी सचेतना जगाउन, मानसिक स्वास्थ्यसम्बन्धी भ्रम घटाउन, मनोसामाजिक पीडाबाट गुज्रिरहेकालाई उचित सल्लाह दिन सक्छौँ। हाम्रो कार्यले जतिसुकै ठूलो वा सानो भए पनि संघर्ष गर्ने कसैका लागि आशा जगाउन सक्छ।