रासस \पछिल्लो साता लगातार भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका १ हजार ४०० घर डुबानमा पर्दा अधिकांश बासिन्दा विस्थापित भएका छन् ।
विस्थापित र अति पीडितको सुविधाका लागि सात ठाउँमा खानाको मेस चलाएर खाना खुवाइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । बाढी पीडित क्षेत्रमा यस वर्ष पनि धानबालीमा क्षति भएको छ । गत वर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यस वर्ष पनि पाकेको धानबाली ढाल्ने र हिलोले पुर्ने गरेको गेरुवा–४ का किसान भूमिसरा चलाउनेले बताए ।
धानको क्षति भएकाले यस वर्ष पनि आफूहरू बिचल्लीमा परेको अर्का किसान सुन्दरी थरुनीले बताइन् । गत वर्ष पनि धानको क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिएको उनको गुनासो थियो ।
मानवीय क्षति भएको छैन तर धानबाली, खाद्यान्न र घर क्षति भएको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारूले बताए । उनका अनुसार कर्णाली नदी व्यवस्थापन आयोजनामा पर्याप्त बजेट नआउँदा नदीको व्यवस्थापन हुन सकेको छैन ।