७ पुष २०८१, आईतवार

देउताकै डरले छाउगोठ !
  • रासस

बाँके\बझाङको खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थालेकी थिइन् । अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ ।

शुरूशुरूमा महिनावारी हुँदा घरभित्रै बस्ने चाहना देखाएकी रमिला अहिले भने घरभित्र बस्नु हुँदैन भनेर आफूभन्दा पछिका पिँढीलाई सम्झाइरहन्छिन्, किनकि उनले परिवारबाटै त्यस्तै शिक्षा पाइन् ।

अहिले उनी महिनावारी हुँदा ६ दिनसम्मै बाध्य भएर छाउगोठमै बस्छिन् तर देउताको डरले घरभित्र बस्ने कुरा भने उनको मस्तिष्कमै आउँदैन ।गाउँघरमा छाउगोठ भत्काउने अभियान चले पनि रमिला त्यसको विपक्षमा हुनु उनको बाध्यता नै छ ।

खप्तडछान्ना गाउँपालिका–४ की हरिना रोकायाले पनि देउता रिसाउने भन्दै महिनावारीको बेला अहिलेसम्म घरमा बस्न पाएकी छैनन् । घरमा बस्दा अनिष्ट हुने भन्दै परिवारकै सल्लाहमा उनी छाउगोठमा बस्न बाध्य छिन् । ‘घरको दैलो पनि छुन दिँदैनन्,’ उनले भनिन्, ‘सबैभन्दा समस्या महिनावारी भएकै बेलामा हुन्छ तर परिवारले नै त्यो स्वाभाविक प्रक्रिया भन्दै छाउगोठमै बस्न बाध्य पार्छन् ।’

रोकायाका अनुसार माइतीघरभन्दा बढी पोइलीघरमा छाउपडी मानिन्छ । उनको माइतीघर ७ नम्बर वडामा छोरीलाई महिनावारी हुँदा घरको दैलो छुनेदेखि गाईवस्तु दुहुनेसम्म गरिन्छ । पोइलीघरमा भने आँगनदेखि तरकारीका लहरा छुन समेत वञ्चित गरिएको उनले
बताइन् । ‘बिहेको शुरूमा त सिस्नाको झाडी नजिकैको गोठमा बस्थ्यौं । १ दिन सुतेकै बेलामा राति भत्कियो । त्यो दिनको घटना सम्झिँदा त आङै सिरिङ्ग हुन्छ,’ उनले भनिन् ।

राति छाउगोठ भत्किने बेलामा ३–४ दिने साउने झरी रहेछ । रोकाया सम्झिन्छिन्, ‘छाउगोठभित्र पानी पनि जमेको थियो । झरी रोकिने अवस्थै थिएन । गोठको छतको काठ कुहिएर पूरै झर्नै लागेजस्तो थियो । प्लाष्टिक ओढेर सुत्न खोजेकी थिएँ । माथिबाट झ्याप्प भत्कियो । खरको छानो हुँदा बाँचियो ।’

रोकायाका अनुसार अहिले छाउपडीले पहिलेको जस्तो दुःख भने भोग्नु पर्दैन । ‘छाउगोठ भए पनि सुरक्षित हुन्छन्,’ उनले भनिन्, ‘राति एक्लै सुत्न पनि केही डर हुँदैन । पहिलेको अवस्था त कुरै छाडौं ।’ उनले छाउगोठ मुक्त नभए पनि अलि व्यवस्थित भएको बताइन् ।

बुङ्गल नगरपालिका–६ की सीता बोहराले ३९ वर्षमा पाइला टेकिन् । उनी १३ वर्षको उमेरदेखि नै महिनावारी हुन थालिन् । माइती र पोइलीघर नजिकै भएको हुँदा उनलाई शुरूको बेला महिनावारी भएकै समयजस्तो अहिले पनि भइरहन्छ । घर, वस्तुभाउ, भाँडाकुँडा तथा पुरुष मान्छेलाई अहिले पनि छुन पाइँदैन ।

बस्ने, खाने, हिँड्नेदेखि पानी पँधेरा पनि छाउपडीका लागि अलग भएको उनले बताइन् । ‘सबैभन्दा कष्टकर समय नै महिनावारीको बेलामा हुन्छ तर हाम्रो गाउँ ठाउँमा देउताले भनेको नमाने उल्टै आफैंमाथि दुर्घटना हुने भन्छन् र डर लाग्छ । घर नजिकै पनि जान मन लाग्दैन ।’  

  • २९ आश्विन २०७९, शनिबार प्रकाशित

  • Nabintech