बाँके\सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयलाई लिएर निकै रस्साकस्सी चल्यो। यसको प्रत्यक्ष असर परेका क्षेत्रमध्येको एउटा हो- बाँके-२। सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) रहँदासम्म बाँके क्षेत्र नं. २ उसकै भागमा परेको थियो। गठबन्धनबाट छुटेपछि भने जसपा अन्योलमा पर्यो।
जसपाले एमालेसँग तालमेल गर्नुअघि नै बाँके-२ मा एमालेले राप्रपाका उम्मेदवार धवलशमशेर राणालाई सघाउने प्रतिबद्धता जनाइसकेको थियो। एमालेले राप्रपालाई छाडेर जसपालाई सघाउने स्थिति पनि बनेन। र, जसपाबाट उम्मेदवार बनेका इस्तियाक राई पछि हट्ने पनि सम्भावना बनेन। त्यसपछि बाँके-२ मा मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै एमालेले राप्रपालाई सघाउने भएको छ।
यता इस्तियाक राई भने एक्लै भिड्ने भएका छन्। ‘विगतमा पनि दुईवटा गठबन्धन थिए,’ राईले भने, ‘पहिले पनि जनताको गठबन्धनले जिताएर पठाए, अहिले जे गठबन्धन भए पनि मेरो जित सुनिश्चित छ।’ हुन पनि २०७४ को चुनावमा उनले दुई वटा गठबन्धनलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जित निकालेका थिए। त्यतिबेला वाम गठबन्धनका तर्फबाट एमालेका पशुपतिदयाल मिश्र लडेका थिए।
राप्रपाका उम्मेदवार ओमप्रकाश आजादलाई कांग्रेसले सघाएको थियो। यी दुवै गठबन्धनलाई पराजित गर्दै संघीय समाजवादी फोरम नेपालबाट राई (हाल जसपा) निर्वाचित भएका थिए। राईले २१ हजार ५७५ मत ल्याउँदा एमालेका मिश्रले १५ हजार ९५१ र राप्रपाका आजादले ११ हजार ६२२ मत ल्याएका थिए।
राई क्षेत्र नं. २ का लागि निकै बलिया उम्मेदवार हुन्। मधेशी र मुस्लिम समुदाय बाहुल्य यस क्षेत्रमा उनलाई जित निकाल्न सहज हुने स्थानीय नेता बताउँछन्। जसपा मधेश केन्द्रित दल र राई मुस्लिम समुदायकै भएकाले पनि त्यहाँका नागरिकको उनले ‘सेन्टिमेन्ट’ प्राप्त गर्न सक्छन्।
त्यस क्षेत्रका अर्का बलिया उम्मेदवार हुन्, राप्रपाका महामन्त्रीसमेत रहेका धवलशमशेर राणा। २०७० सालको चुनावमा सुशील कोइरालासँग लडेका उनले राम्रै मत प्राप्त गरेका थिए। बाँकेमा राप्रपाको संगठन खासै बलियो छैन। उनी आफैँमा लोकप्रिय व्यक्ति हुन्। यसअघि उनी ठूला भनिएका राजनीतिक दलका उम्मेदवारलाई पराजित गर्दै नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका थिए। यसपालि उनी संसदीय निर्वाचन लडिरहेका छन्।
राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा बोकेको छ। तर पनि मुस्लिम बाहुल्य नेपालगन्जमा राणा चर्चित छन्। नेपालगन्जमा उनलाई सहयोगी नेताका रूपमा चिन्छन्। ‘नेपालगन्जले मलाई चिनेको छ। १०-२० वर्षसम्म निःस्वार्थ भावनाले काम गरेको छु,’ उनले भने, ‘कसैलाई काखापाखा र कुनै पार्टी भनेर हेरेको छैन। मतदाताले विश्वास गरेर जिताउनुहुन्छ भन्ने विश्वास छ।’
उनले देशलाई समृद्ध बनाउन संसदीय निर्वाचनमा उम्मेदवारी दिएको बताए। ‘जसरी नेपालगन्ज उपमहानगरपालिकालाई ५ वर्षमा बनाइयो, त्यसरी नै यो राष्ट्र र क्षेत्रलाई बनाउन मेरो उम्मेदवारी हो,’ उनले भने, ‘हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्र, भ्रष्टाचारको अन्त्य, देशलाई समृद्ध राष्ट्र बनाउन उम्मेदवारी दिएको हुँ।’
राईको पनि दाबी कम छैन। आफू सहरी विकास र भौतिक मन्त्री हुँदा शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा फड्को मार्ने काम गरेको उनी बताउँछन्। ‘सय वर्षसम्म पनि पूरा हुन नसकेको बाटाघाटा, पूर्वाधारका काम गरेका छौँ,’ उनले भने, ‘आपसी भाइचारा, धार्मिक एकता, सहिष्णुतालाई एक सूत्रमा बाँधेर अगाडि बढ्ने हो, विकास र समृद्धि नै मेरा प्रमुख एजेन्डा हुन्।’
सुदीपनरसिंहलाई चिठ्ठा!
सत्ता गठबन्धनमा देखिएको विभिन्न उतारचढावपछि बाँके २ मा कांग्रेसका कार्यकर्ताले आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन्। जसपा गठबन्धनबाट बाहिरिनुको सबैभन्दा बढी फाइदा बाँके कांग्रेसलाई भएको देखिन्छ। सुशील कोइरालाको शेषपछि यो क्षेत्रमा कांग्रेसका कार्यकर्ताले आफ्नो चुनाव चिह्नमा मतदान गर्न पाएका थिएनन्। कोइराला २०७० सम्म बाँके २ बाट चुनाव लड्ने गरेका थिए। कोइरालाको शेषपछि भने यो क्षेत्रमा कांग्रेसले अन्य कुनै पनि उम्मेदवार उठाएको थिएन।
२०७४ मा भएको निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कोइराला लड्ने गरेको क्षेत्र राप्रपालाई दिएको थियो। यसपालि भने जनता समाजवादी पार्टी (जसपा) लाई दिने सम्भावना बढेको थियो, जसकारण कांग्रेस कार्यकर्तामा असन्तुष्टि थियो।
गठबन्धनका नाममा जहिल्यै अरू पार्टीको चुनाव चिह्नमा मतदान गर्नुपर्ने भएपछि विरोधका स्वरहरू नउठेका होइनन्। केन्द्रबाट सिट बाँडफाँट हुने भएकाले बाँके २ मा कांग्रेसले आस मारिसकेको थियो। त्यसैले पनि कांग्रेसले गतिलो उम्मेदवार सिफारिस गरेन। अलि टाठाबाठा भनिएकाहरू प्रदेशमै बस्न चाहे। अझ केही त समानुपातिकतिर ठाउँ खोज्न थाले।
प्रतिनिधिसभामा गजेन्द्र हमालको नाम चर्चामा थियो। उनी गठबन्धन हुने देखिएपछि समानुपातिकमा बसे। सिट बाँडफाँटमा कुरा नमिलेर जसपाले गठबन्धन छाडेपछि भने कांग्रेसका सुदीपनरसिंह राणाले ‘चान्स’ पाए। उनलाई चिठ्ठापरे जस्तै भएको कांग्रेसका कार्यकर्ताहरू बताउँछन्। उनलाई माओवादी केन्द्र, नेकपा (एस) र राष्ट्रिय जनमोर्चाको साथ छ। सुदीप नेपाल तरुण दलबाट उदाएका नेता हुन्।
धवलशमशेर राणा र इस्तियाक राईजस्तो जनतामाझ लोकप्रिय भने होइनन्। यद्यपि गठबन्धनका तर्फबाट उम्मेदवार भएकाले कम आँक्न भने मिल्दैन। गत स्थानीय निर्वाचनमा वडाले पाएको मतलाई आधार मान्ने हो भने पनि कांग्रेस बलियो देखिएको छ। क्षेत्र नं. २ मा डुडुवा गाउँपालिका र २३ वडा रहेको नेपालगञ्जमा १६ र १७ बाहेक सबै वडा पर्छन्।
सो अनुसार कांग्रेसले १८ हजार ३७, एमालेले १५ हजार ४७८, जसपाले १३ हजार ८०९, राप्रपाले ८ हजार ४९४, माओवादी केन्द्रले ६ हजार ८५९, नेकपा (एस)ले ८२१ र लोसपाले ५६४ मत प्राप्त गरेका छन्। यसरी हेर्दा कांग्रेसलाई जित निकाल्न सहज हुने देखिए पनि नेपालगन्जको हकमा अन्तिम समयमा मतदाता कतातिर ढल्किन्छन् भन्नेले अर्थ राख्छ।
हिन्दु-मुस्लिम नारा
चुनावका बेला नेपालगन्जमा हिन्दु-मुस्लिमको नारा लाग्ने गर्छ। हिन्दु उम्मेदवारले हिन्दुवादी नारा लगाउने र मुस्लिम उम्मेदवारले मुस्लिमवादी नारा लगाउने गर्छन्। तर निर्णायक मत भने अन्तिम समयमा जतातिर ‘स्विङ’ हुन्छन् उसैले जित्ने अघिल्ला चुनावहरूले देखाएका छन्। हिन्दु राष्ट्रको एजेन्डा बोकेका धवललाई शिवसेना चुनौती बन्न सक्ने देखिन्छ। यो क्षेत्रमा शिवसेनाले स्वतन्त्र रूपमा उम्मेदवार उठाएको छ। नेपाल शिवसेनाको समर्थनमा प्रतिनिधिसभा सदस्यका लागि दिवाकर शर्मा खनाल मैदानमा छन्।
हिन्दुवादी नारा लगाएर उठेकाले नेपालगन्जमा हिन्दुहरूको राम्रै भोट काट्न सक्ने देखिन्छ। यसको फाइदा भने राईलाई हुन सक्छ। जसपा मधेशकेन्द्रित दल भएकाले हिन्दु मधेशीहरू सो दलसँग आबद्ध छन्। मुस्लिम समुदायको भोट त उनलाई ‘सेन्टिमेन्ट’का आधारमा आउने नै भो, मधेशी हिन्दुहरू भोट पनि उनले तान्ने देखिन्छ। यद्यपि विगतको निर्वाचनलाई हेर्ने हो भने यो क्षेत्रमा मतदानको अन्तिम दुई हप्ता बाँकी रहँदा ‘सिनारियो’ फरक ढंगले जाने गरेको छ।
बाँके २ मा १६ जनाको उम्मेदवारी
बाँके क्षेत्र नं. २ मा १६ जनाको उम्मेदवारी परेको छ, जसमा पाँच जनाको स्वतन्त्र उम्मेदवारी परेको छ। नेपाली कांग्रेसका सुदीपनरसिंह राणा, जसपाका मोहम्मद इस्तियाक राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अब्दुल हन्नान जसगढ र जनमत पार्टीबाट बाबु खाँले उम्मेदवारी दिएका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रमेश शर्मा अर्याल, राष्ट्रिय जनमुक्ति पार्टीका विद्या शर्मा, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) का खलुप्रसाद थारु, जनसमाजवादी पार्टी नेपालका लिलौ दर्जी, राष्ट्रिय स्वतन्त्र पार्टीका विनोदकुमार अग्रहरी उम्मेदवार छन्। दिवाकर खनाल, बागेश्वर चौलागाई, राहुल जयसवाल, इरफान अहमद शेख र समसुल हक राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।