आदरणीय सूर्य दाइ नमस्कार ।
हजुरसँग प्रत्यक्ष रूपले भेट नभएको पनि लामो समय भयो । तैपनि सामाजिक सञ्जालमार्फत् निरन्तर सम्पर्कमा नै छु। दाइ सबैभन्दा पहिले तपाईंलाई अग्रिम बधाई तथा विजयको शुभकामना ।
नेकपा एमाले बाँकेक्षेत्र नं १ बाट संघीय चुनावका लागि उम्मेदवार बन्नुभएकोमा खुसी लागेको छ । यसअघि पटकपटक चुनावका लागि सिफारिसमा पर्नुभएको थियो तर बलियो सम्भावना हँुदाहुँदै पनि गठबन्धनका कारण एक कदम पछि सरेर भए पनि पार्टीलाई सहयोग गर्नुभयो । त्यो बेला पनि हजुरमाथि कताकता अन्याय भयो जस्तो लाग्थ्यो ।
यसपटक पनि कतै अनावश्यक चलखेलमा पर्नु हुने हो कि भन्ने चिन्ता लागेको थियो । साथै हजुरको इमानदारिता र पार्टीप्रतिको बफादारितालाई पार्टी हाँक्ने जिम्मेवारी दिएको भन्दै गत चुनावमा जस्तै टिकटबाट वञ्चित पो बनाउने हुन् कि भन्ने पनि लागेको थियो । तर यसपटक पार्टीले पनि सही निर्णय ग¥यो हजुरलाई बाँके क्षेत्र नं १ को उम्मेदवार बनाएर ।
राजनीतिक दृष्टि, फरक चिन्तन, विचारमा सहमति विमति हजुरसँग पनि हुन सक्लान् । तर पनि तपाईं नेकपा एमाले बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनु भएकोमा निकै खुसी छु । पार्टीले पनि न्याय गरेको छ। पार्टीले हजुरको सही मुल्यांकन गरेको छ, अब बाँके क्षेत्र नं. १ का जनताले पनि यो मूल्यांकनलाई अनुमोदन गर्नेछन् भन्नेमा ढुक्क छु ।
हजुरको राजनीतिक इतिहास निकै लामो छ । राजनीतिबाहेक अन्य कुरालाई कहिल्यै प्राथमिकतामा राख्नु भयो जस्तो लाग्दैन । विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीति युवा संघ र पछिल्लो पटक पार्टीमा पुगेको छ । विद्यार्थी, युवा र पार्टी सबैको केन्द्रीय सदस्य मात्रै नभएर युवा संघको कार्यवाहक अध्यक्ष भएर समेत काम गर्नुभयो । त्यतिबेला पनि तपाईंले आफ्नो क्षमतालाई भरपूर प्रयोग गर्नुभयो ।
हजुरसँग खारिएको राजनीतिक अनुभव छ। परिवेश र परिस्थिति बुझ्ने क्षमता छ । योजना र क्रियाशीलता छ । सुख दुःखको अनुभव छ । हजुरको बौद्धिकता र अध्ययनशीलताले पनि आफ्नो चुनावी क्षेत्रको समस्या र आवश्यकता राम्रोसँग बुझ्नु भएको छ भन्ने लागेको छ ।
जनताभन्दा ठूला कोही होइनन् । जनताको भावना हजुरले बुझ्नु भएको छ र जनताले पनि हजुरको क्षमता बुझेका छन् ।
र, बुझ्दै छन् भन्ने पनि लागेको छ । पछिल्लो समय राजनीतिप्रति केही वितृष्णा बढेको देखिन्छ र एउटै मान्छे पटक पटक दोहोरिएको कसैले हेर्न चाहे जस्तो लाग्दैन। देशैभरबाट हजुरजस्ता सक्षम र बौद्धिक व्यक्तिको नेतृत्व आजको आवश्यकता पनिहो । हजुर निर्धक्क भएर जनता भेटघाटमा लाग्नु होला। भिडभाडभन्दा पनि भेटघाटलाई प्राथमिकतामा राख्नु होला । हजुर जत्तिको बौद्धिक, पढेलेखेको, क्रियाशील, भिजन भएको र केन्द्रीय राजनीतिमा पहुँच पु¥याउन सक्ने उम्मेदवारलाई जनताले भोट नदिने कुरै छैन।ढुक्क भएर लाग्नु होला । जित सुनिश्चित छ ।
(हाल टोकियो जापान)