१० असार २०८२, मंगलवार

सबैले खाद्य सुरक्षाको चिन्ता गरौँ!
  • न्युज मानसराेवर

नेपालमा ६५ प्रतिशत जनता कृषिमा निर्भर रहे पनि र मुलुकको एकाध ठाउँलाई छाडेर सबै ठाउँ कृषियोग्य भए पनि नेपालको खाद्य सुरक्षाको स्थिति कमजोर नै रहेको छ । १५ लाख नेपाली खाद्य असुरक्षाको जोखिममा रहेको पछिल्लो एक अध्ययनले देखाएको छ । भौगोलिक बनोट र जमीनको उर्वरताको आधारमा नेपाल खाद्यान्नमा असुरक्षित हुनुपर्ने कारण छैन । तर पनि नेपाल खाद्यान्नमा असुरक्षित नै रहेको छ ।

नेपाल जैविक विविधताले भरिपूर्ण मुलुक हो । संसारभरि नै खाद्य सुरक्षाको आधार वनस्पति नै हो । प्रमुख ७ हजार वनस्पतिमध्ये २ सय वनस्पतिको खेतीपाती हुन्छ । तर, खेतीपाती नहुने वनस्पति पनि मानिसका लागि खाद्यको आधार बनेको पाइन्छ । हिमाल, पहाड र तराईमा रहेका विविध वनस्पति नै नेपालको खाद्य सुरक्षाको प्रमुख आधार हो । नेपालमा भातै खानुपर्ने बानीका कारण खाद्य असुरक्षाको स्थिति देखापरेको हो भन्न सकिन्छ । धान, गहुँ र मकै प्रमुख खाद्य बाली भए पनि नेपालीहरू भातमै निर्भर छन् । भात खान नपाएपछि खाद्यान्न अभाव भन्ने गरिन्छ । तर, भूगोलअनुसार फरकफरक खाद्यान्न उत्पादन हुने भएकाले त्यसैअनुसार खाने बानी बसाल्ने हो भने खाद्य असुरक्षा नै हुने अवस्था भने देखिँदैन ।

तर, विडम्बना नेपालमा परम्परागत रूपमा खेती हुँदै आएको जमीन बाँझो बन्ने क्रम निकै बढेको छ । वैदेशिक रोजगारी र आन्तरिक बसाइँसराइका कारण पहाडी भूभागमा खेतीपाती हुन रोकिएको मात्र होइन, जनसंख्यासमेत घट्दो क्रममा छ । त्यसैले कोदो, फापर, उवाजस्ता खाद्यबाली हराउँदै गएको मात्र छैन, खानेबानी पनि घट्दै गएको छ ।

नेपालमा कुल खाद्यान्नको आवश्यकता वार्षिक ९८ लाख मेट्रिक टन रहेको छ । हाल नेपालले २० लाख टन खाद्यान्न आयात गरेर खाद्यान्नको माग धानिरहेको छ । विश्व बैंकका अनुसार १ हजार ८ सय किलो क्यालोरीभन्दा कम खाद्य वस्तुको उपलब्धता गम्भीर खाद्य असुरक्षा हो ।

खाद्यान्न आयात गरेर खाद्य सुरक्षामा नेपाल बलियो देखिएको छ । आयात गर्न नपाउने हो भने खाद्य असुरक्षा निकै बढ्ने देखिन्छ । नेपालले कृषि उत्पादन बढाउन विभिन्न नीति लिएको छ र धानको उत्पादन पनि बढ्दो छ । तर, त्यसको वितरण प्रणाली सही नहुँदा खाद्य असुरक्षाको स्थिति आएको देखिन्छ । खाद्य असुरक्षाबाट बालबालिका कुपोषणको शिकार हुन्छन् । त्यसबाट कतिपयले अकालमै ज्यान गुमाउनुपर्ने हुन्छ भने कतिपय विभिन्न रोगका शिकार पनि हुन्छन् । त्यसैले खाद्य सुरक्षाका लागि विशेष नीति आवश्यक हुन्छ ।

नेपालको आर्थिक वृद्धिदर नै कृषिमा निर्भर रहेको छ । पानी राम्रो परे आर्थिक वृद्धिदर उच्च हुने र पानी कम परे घट्ने गरेको तथ्यांक छ । त्यसैले पनि कृषि उत्पादन वृद्धि गर्न सरकारले उच्च प्राथमिकता दिएको छ र दिनुपर्छ पनि । तर, निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउन अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन । कृषिबाट ठूलो जनसंख्या विमुख हुँदै छ । यो आर्थिक रूपान्तरणको प्रक्रिया नै हो तर नेपालमा वैदेशिक रोजगारीका कारण ठूलो जनसंख्या विप्रेषण आयमा निर्भर हुन थालेको छ र खेतीपाती छाड्दै छ । यसले कृषि उत्पादन घटाएको र खाद्यान्न आयात बढाएको छ ।

त्यसैले नेपालले खाद्य सुरक्षाको स्थिति सुधार गर्न विशेष नीति सक्रियताका साथ कार्यान्वयन गर्नुको विकल्प छैन । आयातित खाद्यान्नको भरमा भारत, पाकिस्तानको भन्दा राम्रो हैसियत देखिए पनि खाद्यान्न आयातमा कुनै किसिमको अवरोध आउनेबित्तिकै नेपालको खाद्य असुरक्षा निकै बढ्ने देखिन्छ । अत: आन्तरिक बसाइँसराइ रोक्न तथा जग्गा बाँझो राख्ने प्रवृत्ति अन्त्य गर्न विशेष रणनीति आवश्यक हुन्छ । यसो गर्न सकेमात्र नेपालको खाद्य सुरक्षाको स्थितिमा सुधार आउन सक्छ । खाद्यान्नको अभावमा आर्थिक समृद्धि र अन्य प्रगति सम्भव नहुने भएकाले खाद्य सुरक्षाका लागि विशेष योजना बनाएर सोहीअनुसार काम गर्न ढिलाइ गर्नु हुँदैन ।

  • १ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • Nabintech