बाँके\आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि प्रचार प्र्रसार तीव्र बन्दै गइरहेका बेला गठबन्धनले नपल्याउँदा स्वतन्त्रका उम्मेदवार बनेका दलबहादुर सुनार माओवादीमा प्रवेश गर्दा गठबनधनभित्र खैलाबैला मच्चिएको छ ।
समाजवादीका नेता सुनारले गठबन्धनबाट उम्मेदवार सिफारिस नहुँदा स्वतन्त्रमा बाँके क्षेत्र नं. ३ क बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका थिए । उनी हिजो माओवादीमा प्रवेश गरे लगतै माओवादी पार्टीबाट प्रदेश क मै उम्मेदवार बनेका आइपी खरेलले आफ्नो सामाजिक सञ्जालबाट आधिकारिक उम्मेदवार म नै हो भन्नु र यसअघि खरेलले टिकट पाउँदा असन्तुुष्टी जनाउँदै बैजनाथ र खजुराको माओवादी नेतृत्वको राजीनामा आउनुले कतै दलबहादुरलाई नै योजनाबद्ध ढंगले अगाडि बढाइएको त होइन भन्ने आशंकाहरु उब्जिएका छन् ।
गत स्थानीय तह निर्वाचनमा पनि एकले अर्कोलाई राम्रोसंग विश्वास गर्न नसक्दा कतै गठबन्धन भएको थियो भने कतै काँग्रेस माओवादी केन्द्र एक्ला एक्लै निर्वाचन लडेका थिए ।
अहिले पनि विश्वासको वातावरण राम्रोसंग बन्न नसकेको नेपाली काँग्रेस र माओवादी केन्द्रभित्रका केही नेता कार्यकर्ताले सार्वजनिक रुपमै बताइ रहँदा दलबहादुरको माओवादी केन्द्र प्रवेश गठबन्धनका लागि अविश्वास गर्ने अर्को खाडल बनेको छ । किनकी उनी उम्मेदवार हुन र यसको असर सोझै गठबन्धनमा पर्ने राजनीतिक वृत्तमा चर्चा चुलिएको छ ।
माओवादीभित्रको अन्तरविरोधकै वीच दलबहादुरलाई प्रवेश गराइएकोमा स्वयम माओवादीकै उम्मेदवार त झस्किए नै त्यसको असर क्षेत्र नं. ३ भरी नै देखिएको कार्यकर्ताहरुले बताएका छन् । उता नेपाली काँग्रेसभित्रका एक नेताले भने क्षेत्र नं. ३ मा बर्दियाबाट मान्छे ल्याएर टिकट दिएकोमा बाहिरी मान्छेलाई कसरी जिताउने भन्ने टाउको दुखाई भएका बेला गठबन्धनकै एउटा घटकभित्रको अन्तरद्वन्द्वले गठबन्धनभित्र खैलाबैला शुरु भएको छ ।