काठमाडौँ\आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिलाभन्दा पुरुष मतदाताको संख्या बढी छ। राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार महिलाको जनसंख्या बढी भए पनि मतदाता नामावलीमा दर्ता भएकाको संख्या भने पुरुषको बढी छ।
देशभर ८८ लाख ४७ हजार ५७९ जना महिला मतदाता रहेका छन्। कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको ४९ प्रतिशत महिला मतदाता छन्। देशभर पुरुष मतदाताको संख्या ९१ लाख ४० हजार ९९१ रहेको छ। देशभर १५१ जना तेस्रो लिङ्गी मतदाता छन्। केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ।
जसअनुसार देशभरि महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको छ भने पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ। पुरुषभन्दा महिलाको संख्या ६ लाख ९ हजार ८५८ जनाले बढी छ। तर मतदाता नामावलीमा दर्ता भएका महिलाभन्दा पुरुषको संख्या २ लाख ९३ हजार ४१२ जनाले बढी छ।
सात प्रदेशमध्ये सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा छन्। बागमतीमा ३४ लाख ७१ हजार ४९२ जना मतदाता छन्। यस्तै सबै भन्दा कम कर्णालीमा १० लाख ८ हजार ४०३ जना मतदाता छन्।
प्रत्यक्षतर्फ प्रतिनिधिसभाको १६५ सिट र प्रदेशसभाको ३३० सिटमा प्रतिनिधिसभातर्फ सबैभन्दा धेरै ३३ वटा निर्वाचन क्षेत्र बागमती प्रदेशमा छ भने प्रदेशसभामा पनि यसकै आधारमा ६६ वटा निर्वाचन क्षेत्र छन्। मधेशप्रदेशमा प्रतिनिधिसभातर्फ ३२ वटा निर्वाचन क्षेत्र छन्।
प्रदेश १ मा २८, लुम्बिनी प्रदेशमा २६, गण्डकी १८, सुदूरपश्चिम १६ र कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र छन्। प्रतिनिधिसभाको एउटा क्षेत्रमा प्रदेशसभा तर्फका दुई वटा क्षेत्र छन्।
मतदाताको संख्या बागमती प्रदेशमा धेरै भए पनि मतदान स्थलको संख्या र केन्द्रभने मधेश प्रदेशमा सबैभन्दा धेरै छ। मधेश प्रदेशमा २ हजार १५६ वटा मतदान स्थल र ४ हजार २३५ वटा मतदान केन्द्र छन्। यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा ९३३ वटा मतदान स्थल आयोगले निर्धारण गरेको छ।