भनिन्छ नेपाल कृषि प्रधान देश हो तर गार्हस्थ्य उत्पादनमा कृषिको योगदान क्रमशः घट्दो छ । यसरी कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घट्दै जानुमा विभिन्न कारण हुन सक्छन् । तीमध्ये सिँचाइ सुविधा नहुनु प्रमुख मानिन्छ । विश्व बैंकका अनुसार सन् १९६० को दशकमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान ६७ प्रतिशत थियो । यो अनुपात त्यसपछिका दशकहरूमा घटिरहेको देखिन्छ । सन् १९८० को दशकमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान ६३ प्रतिशतमा सीमित रह्यो ।
त्यस्तै सन् १९९० को दशकपश्चात् कृषिक्षेत्रको योगदानमा ह्रास हुँदै सन् १९१० को दशकमा २७ प्रतिशत मात्र रहेको छ । कृषि प्रधान देश हुँदाहुँदै पनि नेपालको अर्थतन्त्रमा यसको योगदान कम हुनुले के पुष्टि गर्छ भने नेपालको आर्थिक क्षेत्रमा कृषिक्षेत्रको भूमिका क्रमशः घट्दै आएको छ । यो चिन्ताजनक र मननयोग्य विषय भए तापनि नेपालको अर्थतन्त्र अझै प्रारम्भिक अवस्थामा नै रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको अंश बढी भएकाले नेपाली अर्थतन्त्रले कृषिक्षेत्रबाट अन्य क्षेत्रमा प्रवेश गर्न सकेको छैन ।
कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदानको आधारले दक्षिण एशियाली देशहरूको तुलनामा नेपाल तेस्रो स्थानमा रहेको छ । विश्व बैंकको आँकडाअनुसार सन् २०२१ मा पहिलो स्थानमा अफगानिस्तान (२६ दशमलव ८ प्रतिशत), दोस्रो स्थानमा पाकिस्तान (२३ दशमलव शून्य प्रतिशत) र तेस्रो स्थानमा नेपाल (२१ दशमलव ३ प्रतिशत) रहेको छ । यस्तै गरेर भुटान (१९ दशमलव २ प्रतिशत), भारत (१६ दशमलव ८ प्रतिशत), बंगलादेश (११ दशमलव ६ प्रतिशत), श्रीलंका (९ दशमलव शून्य प्रतिशत) र मालदिभ्स (८ दशमलव शून्य प्रतिशत) रहेको तथ्य उपलब्ध तथ्यांकले देखाउँछ । कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको अंश बढी हुँदाहुँदै पनि कृषिक्षेत्रको उत्पादनमा क्रमशः ह्रास भइरहेकाले नेपालमा खाद्यान्न आयात बढिरहेको छ । कृषि उत्पादन वृद्धि गराई खाद्यान्नमा आत्मनिर्भर हुन नेपालले प्रयत्न गर्नुपर्छ । कृषिक्षेत्रको उत्पादनमा ह्रास हुँदै जानुका केही कारणको विश्लेषण गर्ने जमर्को यो लेखले गर्न खोजेको छ ।
नेपालको खेतीपाती मौसमी आकाशे वर्षामा आधारित छ । नेपालको आकाशे वर्षा मनसुनी हावापानीमा आधारित भएकाले आकाशे वर्षा कहिले अधिक हुने गर्छ भने कहिले कम । अर्थात् मनसुनको आगमन कहिले ढिलो हुन्छ । यो प्रक्रियाको प्राकृतिक वर्षाका कारण कृषि उत्पादनमा एकरूपता हुँदैन । प्रत्येक वर्ष फरक हुन्छ । मौसमको अनुकूलता र प्रतिकूलतामा कृषि उत्पादन क्रमशः बढी र घटी हुने गर्छ । कृषि उत्पादनमा प्रत्येक वर्ष वृद्धि गराई खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउन हतारो नै भइसकेको छ ।
शायद १९६० को दशकको कुरा हो, त्यसताका नेपालले खाद्यान्न निर्यात गरिरहेको थियो । तर, विगत २–३ दशकदेखि अप्रत्याशित रूपले खाद्यान्न आयात बढिरहेको छ । विगत दशकदेखि विशेष गरेर भारतबाट नेपालमा खाद्यान्नको आयात बढिरहेको छ । ५ (सन् २०१२–२०१६) वर्षको अवधिको औसतमा ३७ दशमलव ७ करोड अमेरिकी डलर बराबर भारतबाट नेपालमा खाद्यान्न आयात भएको थियो । सन् २०१७–२०२१ मा खाद्यान्नको आयात सन् २०१२–१६ को भन्दा दोब्बर हुन पुगेको छ । यसअनुसार २०१७–२०२१ मा नेपालले भारतबाट औसतमा ७३ दशमलव ४ करोड अमेरिकी डलर बराबरको खाद्यान्न आयात गरेको देखिन्छ ।
माथि उल्लिखित तथ्यांकले के बताइरहेको छ भने नेपाल खाद्यान्न आपूर्तिमा परनिर्भर देश बनिरहेको छ । आउँदा दिनहरूमा समग्र कृषि उपजमा नेपालले आत्मनिर्भर हुन जरुरी छ । नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन नेपालले जलस्रोतको विकास गर्न आवश्यक पर्छ । नेपाल जलस्रोतको धनी देश हो । पर्याप्त सदाबहार नदीहरूले फन्को मारेको देश नेपालमा कृषिक्षेत्रको विकासका लागि सिँचाइको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । प्रकृतिप्रदत्त अपार जलस्रोतको विकास हुन नसकेकाले प्रयोगविहीन हुन पुगेको छ । आकाशे वर्षाले कृषि विकासमा तगारो हालिरहेको छ । यसका लागि उपलब्ध जलस्रोतको विकास गर्न आवश्यकमात्र होइन कि जरुरी नै भइसकेको छ । जलस्रोतको उपयोगका लागि पर्याप्त सिँचाइ प्रणालीको विकास गर्न आवश्यक छ । सिँचाइको विकासले कृषिक्षेत्रको समग्र विकास गराउँछ । सिँचाइको सुविधाले कृषि उत्पादनमा वृद्धि गराउँछ । खाद्यान्नमा आत्मनिर्भर गराउँछ । रोजगारी प्रदान गर्छ ।
अर्थात् कृषि विकास, सिँचाइ विकास र रोजगारीको सम्बन्ध सकारात्मक हुन्छ । जति सिँचाइको सुविधामा विस्तार हुन्छ त्यति कृषि उत्पादनमा वृद्धि हुनुका साथै रोजगारीका अवसरहरू उपलब्ध हुन्छन् । पर्याप्त सिँचाइ सुविधा प्रदान गर्नाले कृषिक्षेत्रमा मानिसको आकर्षण बढ्छ र यसले रोजगारीको सृजना गर्न मद्दत गर्छ । केही दशकयता नेपालले पर्याप्त मात्रामा खाद्यान्नको उत्पादन गर्न सकेको छैन । खाद्यान्नको मागअनुसार आयातबाट आपूर्ति गर्ने गरिएको छ । जलस्रोतको विकासले सिँचाइ प्रणालीको विकास हुन्छ । मधेशका खेतीयोग्य फाँटहरूमा सिँचाइ सुविधा हुँदा वर्षको तीन बाली लगाई कृषि उत्पादनमा वृद्धि गराउन सकिन्छ । यो कदमले एकातिर खेर गइरहेको अपार जलस्रोतको विकास गराउँछ भने अर्कोतिर कृषि उत्पादनमा वृद्धि भई खाद्यान्न आयात प्रतिस्थापन हुन्छ ।
कृषिको विकासका लागि खेर गइरहेको जलस्रोतको विकास गर्न जरुरी मात्र होइन कि हतारो नै भइसकेको छ । नेपालका नदीहरूमा बाँध बाँधेर भारतीय भूमिमा सिँचाइ भइरहेको छ । यिनै बाँधबाट नेपालमा पनि सीमित मात्रामा भए पनि सिँचाइ उपलब्ध छ । कतिपय पानीको क्यानलमा सुक्खायाममा पानीको सट्टा कमिलाको ताँती हिँडिरहेको हुन्छ भने वर्षायाममा पानीको बहावले बालीनाली डुबानमा परिरहेको हुन्छ । जेहोस्, मधेशका केही भागमा यी बाँधबाट सिँचाइको सुविधा उपलब्ध भइरहेको छ । नेपालमा ठूलाठूला तटबन्धहरूको आवश्यकता छैन किनभने मधेशका खेतीयोग्य फाँट सीमित छन् । यी खेतीयोग्य फाँट सीमित भए पनि अत्यन्त उर्वर छन् । सिँचाइको अभावमा मधेशका कतिपय कृषियोग्य फाँटहरू बाँझै रहेका छन् । १ वर्षमा तीन बाली लगाउन सकिने फाँटहरूमा सिँचाइको अभावका कारण एक बालीमा मात्र खुम्चिन पुगेको छ ।
नेपालसँग रहेको एक मात्र प्राकृतिक सम्पत्ति जलस्रोतको विकास हुन सकेको छैन । यो प्राकृतिक उपहारको नेपालले सदुपयोग गरी हीरामा बदल्न सकेको छैन । विश्वका प्रत्येक देशले प्रकृतिले दिएको उपहारको विकास गरी देश विकास गरिरहेका छन् । उदाहरणका रूपमा खाडीका मुलुकहरूले गरेको फोसिल फ्युलको विशिष्टीकरण र विकासलाई लिन सकिन्छ । नेपालले पनि जलस्रोतको विकास गरी पर्याप्त सिँचाइ सुविधा विस्तार गरेर देशभित्रै खाद्यान्न उत्पादन गरी आपूर्तिमा आत्मनिर्भर बन्न सक्छ । सिँचाइ सुविधामा विस्तार गर्न नेपालका विभिन्न भागमा छरिएर रहेका सानाठूला नदीनालामा बाँध बाँधी साना, मझ्यौला र ठूला जलविद्युत् आयोजनाहरूको निर्माण गर्नुका साथैै उक्त बाँधको पानीलाई उपलब्ध खेतीयोग्य जमीनमा सिँचाइ सुविधाको प्रावधान राख्न जरुरी हुन्छ ।
अर्थात् अर्को शब्दमा भन्दा बहुउद्देश्यीय बाँधको निर्माण गर्न सकिन्छ जसबाट स्थानीय बासिन्दाहरूलाई बिजुली उपलब्ध गराउन सकिन्छ । उक्त स्थानको खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुर्याउन पनि सकिन्छ । साना र मझ्यौला जलविद्युत्को विकासले गाउँगाउँका बस्तीहरूमा बिजुली उपलब्ध हुन सकी घरेलु तथा साना उद्योगको विकास हुन्छ । गाउँघरका फाँटहरूमा सिँचाइको सुविधामा विस्तार भई खाद्यान्न उत्पादनमा वृद्धिसमेत हुन्छ । यो कार्यले नेपालमा छरिएर रहेका गाउँगाउँको विकास हुन्छ, जसले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन मद्दत गर्छ ।
लेखक अर्थशास्त्री हुन् ।