नेपालीहरूको दोस्रो महान् चाड तिहारको रौनक शुरू भइसकेको छ । आइतवार कागको पूजा गरेर शुरू भएको यो चाड ५ दिनसम्म
रहनेछ । दशैंजस्तै यो चाड पनि समावेशी छ र यसले अर्थतन्त्रको विस्तार गर्न र शहरको पैसा गाउँमा पुर्याउन मद्दत गरेको छ ।
स्थानीय अर्थतन्त्रका लागि तिहार निकै महत्त्वपूर्ण रहँदै आएको छ । स्थानीय उत्पादन, कटुसदेखि सयपत्रीसम्म, माटोदेखि बिमिरोसम्म तिहारमा विक्री हुन्छ । गाउँघरका उत्पादनले बजार पाउने यो चाडले अर्थतन्त्रमा विशेष महत्त्व राख्छ । धनतेरसले सुनचाँदीमा लगानी बढेको देखिन्छ । त्यस्तै धनकी देवी लक्ष्मीको विशेष आराधना गरिने यस पर्वमा आर्थिक उन्नतिको अपेक्षा राखेर व्रतसमेत बस्ने परम्परा छ । तर, आर्थिक उन्नतिका लागि लगानी गर्न र त्यसअनुसार रणनीति बनाउनु अनिवार्य हुन्छ । लक्ष्मी पूजाका दिनलाई वित्तीय साक्षरतासँग जोडेर लान सके यसको सार्थकता आधुनिक परिप्रेक्ष्यमा पनि सान्दर्भिक हुन सक्छ ।
तिहारकै अवसरमा नेपाल संवत् आरम्भ हुन्छ । यही दिनबाट नयाँ खातापाता राख्ने प्रचलन अझै पनि छ । यद्यपि यो परम्परा ज्यादै कम छ । दशैंजस्तै तिहार विविधतामय पर्व हो । लक्ष्मीपूजा, दीपावली, म्हः पूजा, देउसी–भैलो आदिको समष्टि तिहार हो । यो दीपावलीमात्र नभएर भाइ–टीकाका कारण अलग छ । जेहोस् यसले समस्त नेपालीलाई एकतामा आबद्ध गर्न सहयोग पुर्याएको छ ।
दशैं–तिहार उपभोग बढाउने चाडपर्व हुन् । उपभोग बढ्दा अर्थतन्त्र विस्तार हुन्छ । त्यो सकारात्मक पक्ष हो । तर, नेपालजस्तो आयातमुखी अर्थतन्त्रका लागि भने यो चुनौतीपूर्ण मानिन्छ । तिहारका लागि आवश्यक पर्ने फूल र सजावटका लागि बत्तीहरूको आयातले ठूलो रकम विदेशिएको पाइन्छ । यी वस्तुको उत्पादन स्वदेशमै गर्न सके अर्थतन्त्रले लाभ लिन सक्छ । झिलिमिली बत्तीको आयात रोक्न भारतसमेत असमर्थ रहेको अवस्थामा नेपालले त्यसलाई रोक्न सक्ने देखिँदैन । तर, नेपालमा फूल उत्पादनको सम्भावना प्रशस्त छ । खासगरी सयपत्री नेपालमा राम्रोसँग खेती हुन्छ । तर, करोडौं रुपैयाँका सयपत्री विदेशबाट आयात हुन्छ । फूल खेती गर्नेहरूले सयपत्री आयात रोक्न माग गरेका छन् । यो माग उपयुक्त पनि छ तर आयात रोकेर मूल्यमा मनपरी गर्ने खेल भने स्वीकार्य हुँदैन ।
उत्पादन नबढ्ने हो भने यस्ता चाडले बढाउने खर्चले अर्थतन्त्रमा समस्या नै ल्याउँछन् । दशैंतिहारलाई लक्षित गरी व्यापारीहरूले विभिन्न योजना ल्याएका छन् । ती योजनाले पनि आमनागरिकलाई उपभोग बढाउन प्रोत्साहन गरेको पाइन्छ । यस्तोमा सरकार र सामाजिक अभियन्ताहरूले तडकभडक नगर्न आमनागरिकलाई प्रोत्साहन गर्नु आवश्यक छ ।
कटुससमेत आयात भएको तथ्यांकले नेपालको अर्थतन्त्रको निरीहतालाई प्रदर्शन गर्छ । पहाडी वनजंगलमा त्यसै फल्ने कटुस संकलन गरे तिहारको मागलाई पुग्नेभन्दा बढी हुन सक्छ । तर, त्यति पनि गर्ने जनशक्ति नभएका कारण कटुस आयात गर्नुपरेको हो । त्यस्तै नेपालका धेरै जिल्लामा ओखर खेतीको सम्भावना छ । नेपालको ओखर गुणस्तरमा राम्रै मानिए पनि करोडौं रुपैयाँको ओखर विदेशबाट आयात भएको छ । त्यसैले नेपालमा उत्पादनको सम्भावना भएका वस्तुहरू यहीँ उत्पादन गर्न प्रोत्साहित गर्नुपर्छ । अन्यथा यी चाडपर्वले नेपालको अर्थतन्त्रलाई झनै खोक्रो बनाउन सक्छन् ।
अतः आआफ्नो हैसियत हेरेर चाडपर्वमा रमाउनुपर्छ । ‘घाँटी हेरी हाड निल्नुपर्छ’ भन्ने उखानझैं गच्छेअनुसार खर्च गर्दा आर्थिक जीवन स्वस्थ हुन पुग्छ । चाडपर्वलाई अझ बढी प्रभावकारी बनाउन तथा मनाउनका लागि अहिले गर्नैपर्ने काम उत्पादनलाई जोड दिने हो । उत्पादनलाई बेवास्ता गर्दै जाने हो भने चाडपर्वको खुशी क्षणिक हुनसक्छ । यही तथ्यलाई मनन गरेर चाडपर्व मनाऔं । उत्पादनलाई बेवास्ता नगरौं । तिहार, दीपावली, लक्ष्मीपूजा, म्हःपूजा, नेपाल संवत् सबैको हार्दिक मंगलमय शुभकामना ।