९ बैशाख २०८२, मंगलवार

दाङका तीन फर्निचरमा भएको आगलागीबाट पौने ७ करोड क्षति
  • न्युज मानसराेवर

दाङ\ गयराति दाङको घोराहीस्थित फर्निचर उद्योगमा गएराति भएको आगलागीबाट करिब पौने ७ करोड क्षति भएको छ ।

घटनाको प्रारम्भिक क्षति विवरणअनुसार आगलागीबाट तीन फर्निचर उद्योग तथा शो रुमहरु जलेर पूर्ण क्षति भएको र त्यसबाट ६ करोड ६८ लाख बढीको क्षति भएको अनुमान गरिएको जनाएको छ ।

घोराही उपमहानगरपालिका-१५ उमेश मार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा न्यू दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग, स्टार दाजुभाइ फर्निचर उद्योगका साथै प्रकृति शो रुम जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

तीन फर्निचर उद्योग, एउटा शो रुममा पूर्ण रूपमा जलेर नष्ट भएको र त्यसबाट झन्डै ६ करोड ६८ लाख बराबरको काठ तथा तयारी अवस्थामा राखिएका फर्निचरहरु जलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब ५ बजेतिर मात्रै पूर्णरूपमा नियन्त्रणमा आएको थियो ।  आगो नियन्त्रण लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी रातभर ठूलो संख्यामा खटिएका थिए ।

त्यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाका दमकलहरु बोलाउनु परेको थियो ।  आसपासका संरचना भत्काउन तथा माटो खनेर आगो नियन्त्रणमा लिनको लागि डोजरको पनि प्रयोग गरिएको थियो । घना बस्ती रहेको क्षेत्रमा आगो लागेपनि प्रहरीकै सक्रियताले आसपासका घर जोगाउन सम्भव भएको र त्यसबाट सम्भावित ठूलो क्षति टरेको छ । मध्यरातमा घोराहीको मुख्य बजारमा भएको भीषण आगलागीबाट सर्वसाधारण त्रसित बनेका थिए ।

  • ८ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • Nabintech