संस्काररहित शिक्षामा गरिएको सम्पूर्ण लगानी व्यर्थ हो । शिक्षाको महात्म्य जत्ति नै बखान गरे पनि अपुग नै हुनेछ । शिक्षामा बढ्दो व्यवसायीकरणले भएभरको शैक्षिक मर्यादामाथि कुठाराघात गर्दै गएको पनि देखिएको छ ।
योग्य चिकित्सक, इन्जिनीयर, निजी वा सरकारी जागीरे, व्यवसायी आदि उत्पादन भएको तथ्यांकलाई नियाल्दा शैक्षिक सूचकांक आकर्षक देखिए तापनि त्यति अनुपातमा विदेशिनेको संख्यामा वृद्धि, अनैतिक कमाइ, अख्तियारको दुरुपयोग र भ्रष्टाचार, सामाजिक दुराचार र कर चुहावट आदि पनि नबढेको होइन । त्यसैले कतै न कतै हामी शिक्षाको मूलभूत तात्पर्य नै बिर्सेका छौं या त नयाँ पुस्तालाई बुझाउनै सकेका छैनौं । नयाँ पुस्ताले शिक्षा धेरै कमाउने, आरामदायी जीवनको माध्यम बनाउने जस्ता कुरालाई नै सफलताका रूपमा हेर्न थालेको छ ।
यसले जीवनमा सफलता र शिक्षाको परिभाषा नै संकुचित बनाएको छ । शिक्षा ऐन २०२८ र समयसमयमा आएका संशोधन साक्षरता र शैक्षिक सूचकांक बढाउन धेरै हदसम्म सफल भएकै छन् । सरकारी र विश्वविद्यालय स्तरको प्रयासहरूले सकेसम्म विद्यालय र विश्वविद्यालयस्तरको पाठ्यक्रम अत्यन्त सहज बनाउने प्रयास पनि जारी नै छ ताकि उत्तीर्ण गर्नेहरूको संख्या बढी हुनसकोस् । यसले विद्यार्थीमा पढाइप्रति आलस्य नै ल्याएको छ । त्यसमाथि पनि निजी विद्यालयहरूको अध्यापन शैली शुरूदेखि नै विवादास्पद रहेको छ जहाँ विद्यार्थीको सृजनशीलताभन्दा पनि घोकाएर आकर्षक ग्रेड ल्याउनेमा बढी केन्द्रित हुन्छ ।
गुणस्तरीय शिक्षा र राम्रो संस्कारको अपेक्षामा बच्चालाई निजी शैक्षिक संस्थामा नामांकन गराइन्छ तर सरकारीतन्त्रको कमजोरी र शैक्षिक संस्थाको अदूरदर्शिताले २१औं शताब्दीमा पनि शिक्षा महँगो बनेको छ । स्थानान्तरण प्रमाणपत्रको नाममा हजारौं रुपैयाँ शुल्क लिइन्छ । जागीरमा स्थानान्तरण प्रमाणपत्र सार्थक रहे तापनि विद्यार्थीले एक शैक्षिक संस्थाबाट अर्कोमा नामांकन गराएबापत विद्यालयले असुल गर्ने स्थानान्तरण प्रमाणपत्र शुल्कको कुनै आवश्यकता देखिँदैन । निजी स्कूलहरूमा पूर्वप्राथमिक तहमा चलाइने पीजी, नर्सरी, एलकेजी, यूकेजी जस्ता मात्र मासिक र अन्य शुल्क असुलउपर गर्ने पद्धति व्यावसायिक सोचभन्दा बढी केही होइन । यी तहमा पढाइने सम्पूर्ण विषयवस्तु सजिलै सीधा कक्षा एकमा पढाउन र सिकाउन सकिन्छ । यसले सामुदायिक विद्यालयहरू र निजी विद्यालयहरूबीच अन्तर जन्माएको छ ।
हरेक तहको हरविषयका पाठ्यपुस्तक हरेक वर्ष परिवर्तन गराइन्छन् । विद्यार्थीहरूको पोशाक, पेटी, टाई, मोजा, कापी विद्यालयबाटै वा तिनले अह्राएको पसलबाट चर्को मूल्य तिरी किन्नुपर्ने बाध्यता हुन्छ । यो कस्तो शैक्षिक संस्कार विकसित हुँदै छ ? संघीय, स्थानीय सरकारको मौनता अचम्म लाग्दो छ । पूर्वप्राथमिक र प्राथमिक तहका कतिपय विद्यालयहरूमा लिइने शुल्कहरूको बराबर विश्वविद्यालयका स्नातक र अन्य कतिपय तहको शुल्क रहेको समेत पाइन्छ ।
अशोभनीय नृत्य, नाटकहरूमा रुमलिराख्ने पोस्ट गर्ने, लाइक गरेको संख्यालाई ठूलो उपलब्धि मानी मख्ख परिराख्ने प्रवृत्तिले प्रविधिको दुरुपयोग भएको छ । एक अध्ययनअनुसार बढी समय मोबाइल वा यस्ता ग्याजेटमा बिताउने व्यक्तिको स्वभावमा स्वत: चिडचिडापन आउँछ । अभिभावकले आर्र्थिक सामथ्र्य प्रदर्शन गर्ने सोचले होस् वा देखासिकीको प्रवृत्ति, सानै उमेर समूहका बालबालिकाहरूलाई मोबाइल, ट्याब थाप्न लगाउँछन् तर निगरानी नगर्नाले यस्ता उपकरणहरूको सदुपयोग र दुरुपयोग बच्चालाई थाहै हुन सक्दैन ।
हाम्रो जस्तो मुलुकमा तरुण उमेर समूहका बालबालिका कक्षाकोठा, परीक्षाकोठा, सडक, बिहे, रेस्टुराँ, तीर्थस्थल, बसपार्क र यस्ता अनेकौं स्थानहरूमा मनोरञ्जनको नाममा मनग्य नृत्य र अभिनयात्मक भिडियो बनाएर भिउज, लाइक, रिएक्टको संख्या हेरी सन्तोष गर्छन् भने दक्षिण कोरिया, चीन, रसिया, अमेरिका र यूरोपेली राष्ट्रहरूमा यही उमेर समूहका पुस्ताहरू विज्ञान, प्रविधि र व्यवसायमा उपलब्धिमूलक अध्ययन–अनुसन्धान र प्रयासमा व्यस्त हुन्छन् । यी सबको कारण शैक्षिक संस्कार नै हो ।
विद्यार्थीमा असहिष्णुता बढ्नु आज एक ठूलो समस्या बनेको छ । जसले गर्दा पढाइको भार, प्रवृत्ति बुझ्न चाहँदैनन् । विद्यालय र क्याम्पस क्षेत्रमा विद्यार्थीद्वारा शिक्षक प्राध्यापकसँग गरिने दुर्व्यवहारका घटनाहरू पनि आम बन्दै गएका छन् । शिक्षाको नाममा यो कस्तो संस्कार विकसित गर्दै छौं, हामी ?
विद्यालय तहमा शुरूका केही वर्ष बच्चालाई अनुशासन, स्वावलम्बन, नैतिकता र राष्ट्रभक्तिको सैद्धान्तिक र व्यवहारगत ज्ञान दिइनुपर्छ । घोकाउने प्रवृत्तिभन्दा पनि पाठ राम्ररी सम्झाएर अभ्यास आफैले आफ्नै शैलीमा गर्न लगाइनुपर्छ । क्याम्पस स्तरमा समेत प्राध्यापकले नोट लेखाउने प्रवृत्तिको सट्टा विद्यार्थीले आफैले लेख्ने व्यवहारको विकास हुनुपर्छ ताकि विद्यार्थीको सृजनशीलता र नवीनतम गुणको विकास हुन सकोस् । शैक्षिक संस्थामा प्राध्यापक र संस्थासँग गरिने दुव्र्यवहारका लागि उचित दण्डको प्रावधान हुनुपर्छ । शैक्षिक संस्थाको गतिविधिप्रति सम्बद्ध निकायसमेतको अनुगमन र नियन्त्रणको व्यवस्था हुनुपर्छ । केही प्राप्त गर्नलाई व्यक्तिमा विनम्रता हुनु नितान्त आवश्यक हुन्छ र यही तथ्य विद्या र विद्यार्थीसमेतमा लागू हुन्छ । अभिभावकले शुल्क तिर्दैमा बच्चाप्रतिको जिम्मेवारीबाट मुक्त हुँदैनन् । आज नेपालमा क्याम्पसभन्दा पनि विद्यालयस्तरबाट नै बच्चाको स्वभाव र संस्कारमा कमी पाइएको छ । सानैदेखि लागेको बानी वयस्क भइसकेको उमेरमा ठीक पार्न त्यति सहज हुँदैन ।
नेपालको शैक्षिक संस्कारमा दिन प्रतिदिन देखिएको ह्रास चिन्ताजनक छ । शिक्षित सूचकांक बढ्दै गए पनि देशमा सृजनशील जनशक्तिको अहिले पनि खाँचो देखिन्छ । नेपालको खस्किँदो शैक्षिक गुणस्तर एक भयावह भविष्यको प्रतीक पनि हो भन्दा अत्युक्ति नहोला । यसका लागि अभिभावक, सरकार, शैक्षिक संस्था र स्थानीय–संघीय सरकार र स्वयं विद्यार्थीको सक्रियता र गम्भीरताको खाँचो देखिन्छ । भनिन्छ कुनै राष्ट्रलाई बर्बाद गर्ने भए त्यहाँको शिक्षा ध्वस्त पारे पुग्छ । जरुरी छ, शिक्षामा सृजनशीलता, नवप्रवर्तनको विकास होस् । यसको लागि शैक्षिक प्रणाली र शैक्षिक संस्थाको स्वभावमा परिवर्तन जरुरी देखिन्छ । राष्ट्रमा शिक्षा स्वच्छ, नि:शुल्क र राजनीतिक चलखेलरहित हुनुपर्छ ।
लेखक वीरगञ्ज कलेजमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।