नेपाल बैंकर्स एशोसिएशनले प्रकाशन गरेको तथ्यांक नियाल्दा वाणिज्य बैंकहरूमा ६१ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको २ महीनाको वित्तीय विवरणअनुसार १९ दशमलव ८ प्रतिशतले विप्रेषण वृद्धि भएको देख्न सकिन्छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गर्दा डलरको मूल्यले नयाँ उचाइ लिनु शायद विप्रेषणलाई मुख्य आकर्षणसरह लिइएको हुनुपर्छ ।
अर्थतन्त्र धान्न अहिले रोकिएको आयात प्रतिबन्ध अझै कायम नै छ । विप्रेषण प्रवाह बढ्नु र अर्कोतर्फ बैंकमा निक्षेप बढ्नु एउटा सुखद सन्देश हो । कुनै बैंकले यसै समयमा कर्जाको विज्ञापनसमेत गर्न थालेको देख्दा तरलता समस्याबाट केही राहत मिलेको हो कि भन्ने भ्रम बाहिर छाउनु स्वाभाविक पनि हो । स्थायी तरलता सुविधा प्रयोग गर्ने बैंकको संख्या घट्दै गएको छ र रकमसमेत घटेको तथ्यांकले
देखाउँछ ।
तर, जब विषय समग्र अर्थतन्त्रको आउँछ, यहाँ खुशी हुनुपर्ने कारण भने अवश्य छैन । निर्वाचनको मुखमा केही रकम बजारमा प्रवाह हुनु सामान्य हो । एकातर्फ कर्जाको उच्च ब्याजदर छ, अर्कोतर्फ बढ्दो महँगीले अर्थतन्त्र अझै पनि सहज अवस्थामा छैन । करीब २० प्रतिशतले यस अवधिमा विप्रेषण आप्रवाह बढेको नै हुनुपर्छ तर नेपालबाट कति रकम सोही अवधिमा बाहिरियो भन्ने पनि महत्त्वपूर्ण हुन्छ । यस वर्षको भदौ महीनामा करीब १८७ अर्बको विप्रेषण आप्रवाह भइरहँदा २८ अर्बको निर्यात भएको तथ्यांकले देखाउँछ । अर्थात् कुल २१५ अर्ब रकम समग्रमा स्वदेश भित्रिएको छ । सोही अवधिमा २७३ अर्बको आयात भएको देखिन्छ । व्यापारघाटा २४४.९२ अर्ब रहेको देखाउँछ र समग्र अर्थतन्त्र समस्याग्रस्त अवस्थामै रहेको बुझिन्छ ।
पूर्वबैंकर अनिल शाहले अस्ट्रेलिया भ्रमणको क्रममा भनेका थिए, नेपालको कालो धन अस्ट्रेलिया भित्रिरहेको छ । उनले त्यहाँ केही देखेर नै उक्त कुरा भनेका थिए होलान् । नेपालमा उच्च र मध्यम तहका धेरैका मानिसका छोराछोरी अहिले विदेशमा नै बसोवास गर्ने गरेको भेटिन्छ । कालो धन, अर्थात् स्रोत नखुली आर्जेको धन, हुन्डीमार्फत बाहिरी मुलुकमा पठाउन यति बेला कुनै कठिन कार्य होइन । अर्थात्, एउटा इन्जिनीयरले स्थानीय तहमा कुनै निर्माणको स्वीकृति प्रदान गर्दा भ्रष्टाचारबाट केही रकम आर्जन्छ भने उसले उक्त रकम बैंकमा जम्मा नगरी सहजै अस्ट्रेलियालगायत मुलुकमा हुन्डीमार्फत आफ्ना छोराछोरीलाई पठाइरहेको हुन सक्छ । त्यसै गरी सोही स्थानमा खटिने स्थानीय निकायको अध्यक्ष वा अन्य सदस्यले पनि त्यसै गरी रकम विदेशमा पठाइरहेको बुझ्न सकिन्छ ।
यदि उक्त रकम नेपालमा प्रयोग गरेर सम्पत्ति जोडे यता प्रश्न उठ्न सक्छ । तर, यदि सोही रकम विदेशमा खर्च गरेर त्यता सम्पत्ति जोड्नेतर्फ लागेमा कसैको ध्यान नजाने हुँदा अहिले आर्जित कालो धन छोराछोरीलाई विदेशमा घरजग्गा जोड्न प्रयोग भएको बुझ्न सकिन्छ । त्यसरी गणतन्त्रले दिएको उपहारलाई सदुपयोग या दुरुपयोग गर्दै बाहिर सम्पत्ति जोड्ने परम्पराले नेपालभित्रको रकम बाहिर गइरहेको प्रत्यक्ष बुझ्न र देख्न सकिन्छ ।
मुलुक बाहिर रकम बाहिरिनुका पछाडि स्वीस बैंकको अस्तित्व पनि रहेको भन्दा फरक पर्दैन । उच्च गोपनीयता सुनिश्चित गर्ने उक्त बैंकमा खाता खोल्न १८ वर्ष काट्नुपर्ने मात्र नियम रहेकाले त्यहाँ सहजै संसारको धेरै मुद्रामार्फत रकम जम्मा गर्न सकिने प्रावधान रहिआएको छ । शंकास्पद धन लुकाउनेको लागि चर्चित उक्त बैंकमा नेपाली नागरिकको कुल ४० अर्बमाथिको रकम रहेको बुझिन्छ ।
यस समयमा नेपाली नेतृत्वले आफ्नो वा आफन्तको नाममा राखेको अनुमान गर्न सकिन्छ । राजतन्त्रको समयमा करोडौं रकम जम्मा हुँदा बहस हुने मुलुकमा गणतन्त्रमा अर्बौं राखिएको आशंका गरिएको छ । स्वदेशमा उच्च तरलताको समस्या भइरहेको समयमा ४० अर्ब रकम बाहिरी मुलुकको बैंक खातामा जम्मा हुनु भनेको अर्थतन्त्रलाई सहयोग पक्कै होइन ।
पानामा पेपर्स, पेन्डोरा पेपर्स लिंक, परेडाइज पेपरलगायत माध्यममार्फत बाहिर उल्लेखनीय मात्रामा रकम जम्मा भइरहँदा नेपालका जिम्मेवार निकाय मौन हुनुपर्ने अवस्था छ । यस समयमा उक्त स्थानमा हुने भनिएको रकम नै देशमा हुने भ्रष्टाचारको प्रमाण हो । यसरी नेपालको एकथरी कालो धनको सञ्चिति स्वीस बैंकमा भइरहेको बुझ्न सकिन्छ । ठूलो मात्रामा रकम नगदमा समेत रहेको अनुमान गर्न सकिन्छ ।
वित्तीय प्रणालीमा ल्याउँदा स्रोत खोजिने भएकाले त्यस प्रकृतिको रकम नगदकै रूपमा राखेर प्रयोग गरिएको हुनुपर्छ । यसरी प्रयोग हुने गरेको पुष्टि छिमेकी मुलुक भारतमा २०१६ मा गरिएको नोटबन्दीको प्रभावले पुष्टि गरेको छ । नेपालीले पनि ठूलो परिमाणमा नगद राखेको सहज अनुमान गर्न सकिन्छ । गलत तरीकाबाट आर्जित कालो धन वित्तीय प्रणालीमा जम्मा गर्ने प्रक्रिया झन्झटिलो भएकाले बाहिर नगदकै रूपमा राखेर नगदी कारोबार मात्र गर्ने गरिन्छ ।
नेपालमा एकाएक तरलता समस्या आएर बैंकको ब्याजदर बढ्नुका पछाडि यस्तै कालो धनको भूमिका पनि रहिआएको स्पष्ट बुझ्न सकिन्छ । यदि नियमित रूपमा रकम यसरी बाहिर जाने हो भने यहाँको तरलता समस्याको कहिल्यै हल नहुने मात्र होइन, विभिन्न तरीकाले समग्र अर्थतन्त्रमा समस्या आउने पक्का छ । न हामी हुन्डी नियन्त्रण गर्न सकिरहेका छौं, न भ्रष्टाचार न्यूनीकरण ।
कडा नियम लागू गर्दा अर्थतन्त्र धराशयी हुन्छ । स्वदेशको पैसा आयात नियन्त्रण गरेर बाहिरिन नदिनु शायद स्वाभाविक हो, यो प्रसंशायोग्य कार्य पनि हो । तर, मुलुकको धन यही माध्यमबाट बाहिरिएको चाहिँ पक्कै पनि होइन । कालो धन ठूलो मात्रामा देशबाहिर जाँदै छ, । यसका बारेमा न कतै बहस हुन्छ न चर्चा । यदि यो विषयलाई समयमा सम्बोधन गर्न नसके अर्थतन्त्र समस्यामा परिरहने निश्चित छ ।
रेग्मी बैंकर हुन् ।