२४ पुष २०८१, बुधबार

खजुरा क्यान्सर अस्पतालमा विशेषज्ञ सेवाको तयारी
  • रासस

बाँके\ बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले विशेषज्ञ सेवा शुरू गर्ने तयारी गरेको छ ।

क्यान्सर रोगको सम्पूर्ण उपचार गर्न सक्ने अवस्था बनाउन आवश्यक थप जनशक्ति र उपकरणको व्यवस्था गरी विशेषज्ञ सेवा दिने तयारी गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र्र मल्लले सबै प्रक्रिया पूरा गरेपछि विशेषज्ञ सेवा शुरू गरिने बताए ।

उनका अनुसार सुशील कोइराला क्यान्सर अस्पतालमा क्यान्सरको सम्पूर्ण विशेषज्ञ सेवा प्रदान गर्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल भइरहेको छ ।

अस्पतालमा युरोलोजिस्ट भए पनि पिसाबसम्बन्धी सम्पूर्ण उपचार र शल्यक्रिया हुन नसक्दा बिरामी अन्य ठाउँ जानुपर्ने बाध्यता  छ । अस्पतालमा आवश्यक पर्ने भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थप गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक छलफल भइरहेको उनको भनाइ छ ।

खजुरामा विशेषज्ञ सेवा नपाएपछि यस क्षेत्रका बिरामी भारतको लखनउ, भरतपुर क्यान्सर अस्पताल चितवन र काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता छ । बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बिरामीलाई उपचारका लागि अन्यत्र जान नपर्ने गरी सेवा विस्तार गरिनुपर्ने अस्पतालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपति बताउँछन् ।

  • १७ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech