१५ पुष २०८१, सोमबार

बाँके लगाएत जिल्लामा ७५७ मेगावाट विद्युत् उत्पादनको तयारी
  • न्युज मानसराेवर

बाँके\जलविद्युतको प्रचुर सम्भावना भएर पनि उत्पादनमा पछि परेको नेपालको पश्चिमी क्षेत्र सोलार विद्युत उत्पादनको लागि भने पहिलो रोजाइमा परेको छ । लुम्बिनी प्रदेशमा पर्ने भएपनि साबिकको मध्यपश्चिमाञ्चलमा पर्ने दाङ, बाँके र बर्दिया तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा दर्जनौ सोलार आयोजनाको अध्ययन अघि बढेको छ । ती मध्ये अधिकांश आयोजना बाँके, बर्दिया र कैलालीमा बढी केन्द्रित भएका छन् ।

बाँकेमा ५३५ मेगावाटका आयोजना
बाँकेमा ५३५ मेगावाट क्षमताका ६ सोलार आयोजनाको अध्ययन भइरहेको छ । यसमा राइजन इनर्जीले कोहलपुर र  बगनाहमा २५० मेगावाट क्षमताको आयोजनाको सर्भेक्षण अनुमति पाएको छ । त्यस्तै जीटी इनर्जीले २०० मेगावाट क्षमताको नेपालगञ्ज एसपीभी पावर प्लान्टको अध्ययन अनुमति पाएको छ ।

यी दुई ठूला आयोजना बाहेक हाइभ इनर्जीले कोहलपुरमा ४० र नेपालगञ्जमा २५ मेगावाट सोलार विद्युत उत्पादनको लागि अध्ययन अनुमति पाएको छ । पशुपति रिन्वेबल इनर्जी र प्योर इनर्जीले त बाँकेमा १०/१० मेगावाटका २ आयोजनाको निर्माण अनुमति नै पाइसकेका छन् ।

कैलालीमा ११० मेगावाटका आयोजना
बाँकेपछि सुदूरपश्चिम प्रदेशको राजधानी जिल्ला कैलालीमा सबैभन्दा धेरै सोलार आयोजनाको अध्ययन भइरहेको छ । कैलालीमा ११० मेगावाट क्षमताका ६ सोलार आयोजनाले अध्ययन अनुमति पाएका छन् । गोदावरीमा एडभिक इनर्जीले र अम्रावती इनर्जीले १०/१० मेगावाटका २/२ आयोजनाको अध्ययन अनुमति पाएका छन् ।

त्यस्तै बाँकेमा ६५ मेगावाट सोलार विद्युतको अध्ययन गरिरहेको हाइभ नेपालले कैलालीमा गोदावरीमा ४० र पहलमानपुरमा ३० मेगावाट गरी ७० मेगावाट सोलार विद्युत उत्पादनको सम्भाव्यता अध्ययन गरिरहेको छ ।

बर्दियामा ८५ मेगावाटको अध्ययन
कैलालीसँग सीमा जोडिएको लुम्बिनी प्रदेशको बर्दियामा ८५ मेगावाट क्षमताका ५ सोलार आयोजनाले अध्ययन अनुमति पाएका छन् ।

बाँके र कैलालीमा गरेर १३५ मेगावाट क्षमताका सोलार आयोजनाको अध्ययन गरिरहेको हाइभ नेपालले बर्दियामा पनि ६५ मेगावाट क्षमताका २ सोलार आयोजनाको अध्ययन अनुमति पाएको छ । कम्पनीले गुलरीयामा २५ मेगावाट र भुरीगाउँमा ४० मेगावाट सोलार पावर उत्पादनको अध्ययन गरिरहेको हो । यो सहित हाइभ नेपालले ३ जिल्लामा गरेर २०० मेगावाट सोलार पावर उत्पादनको लागि अध्ययन गरिरहेको छ ।

बर्दियमा टेक समुन्द्र र हार्मोनी सोलारले ठाकुरबाबामा ५/५ मेगावाटका २ आयोजनाको अध्ययन गरिरहँदा भारती लक्ष्मीले सोनाहमा १० मेगावाट क्षमताको एउटा आयोजनको अध्ययन गरिरहेको छ ।

त्यस्तै दाङमा पायोनियर र प्रोग्रेसिभ इनर्जीले लमहीमा १०/१० मेगावाट क्षमताका २ आयोजनाले अध्ययन गरिरहँदा विनायक सोलारले तुलसीपुरमा ७ दशमलव ५  मेगावाट क्षमताको अर्को आयोजनाले सर्भेक्षण अनुमति मागेर विद्युत विकास विभागमा आवेदन दिएको छ ।

यसरी दाङ, बाँके, बर्दिया र कैलालीमा गरि २० ओटा सोलार आयोजनाबाट ७५७ दशमलव ५ मेगावाट विद्युत उत्पादनको लागि अध्ययन भइरहेको हो । ७५७ मेगावाट क्षमता भनेको नेपालमा अध्ययन र निर्माणको विभिन्न चरणमा रहेका कुल आयोजनाको ५० प्रतिशत भन्दा बढी हो । अहिले नेपालमा १ हजार ५ सय १० मेगावाट क्षमताका ७९ आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन् । ५ ओटा सोलार आयोजनाबाट करीब २५ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिएको छ ।

पछिल्लो समय सोलार विद्युत उत्पादनमा आएका नयाँ नयाँ प्रविधिले कम लागतमा विद्युत उत्पादन सम्भव बनाइरहेका छन् । जलविद्युत उत्पादनमा ठूलो लगानीका साथै समय पनि धेरै लाग्ने गरेको छ । एकाध आयोजनालाई अपवाद मान्ने हो भने निर्धारित समयमा कुनै पनि जलविद्युत आयोजनाको निर्माण सकिएको छैन । तर, छोटो समय र कम लागतमा निर्माण सम्पन्न गर्न सकिने भएकाले पछिल्लो समय धेरै लगानीकर्ताहरू सोलार विद्युत उत्पादनमा आकर्षित भइरहेका छन् । त्यसमा पनि पश्चिम नेपाल उनीहरूको पहिलो रोजाइमा परेको देखिन्छ ।

  • १७ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech