१४ मंसिर २०८१, शुक्रबार

कांग्रेस लुम्बिनीको घोषणापत्र : मुख्य शहरमा रेल चलाउनेदेखि सुरुङमार्ग खन्नेसम्मका याेजना
  • न्युज मानसराेवर

बुटवल\सत्तारुढ नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार बुटवलमा कार्यक्रम आयोजना गरी घोषणापत्र सार्वजनिक गरेको हो । प्रदेशका मुख्य शहरमा रेल चलाउने र सुरुङमार्ग खन्ने महत्वकांक्षी योजनासहित घोषणा पत्र सार्वजनिक गरिएको छ ।

घोषणापत्रमा लुम्बिनी विकास कोषलाई संघ र प्रदेशको सामुहिक कार्यक्षेत्रमा ल्याउने र रोलमोडलका रुपमा विकास गर्ने, बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन पर्वद्धन गर्ने मुख्य लक्ष्य छ । लुम्बिनीलाई प्रदेशका अन्य पर्यटकीय क्षेत्रसँग जोड्ने र आसपासका अस्पतालहरुलाई बर्थिङ सेन्टरका रुपमा विकास गरी बौद्धमुलुकबाट प्रसुती गर्न आउनेलाई प्रोत्साहन गर्ने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा प्रदेशलाई देशकै उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्ने भनिएको छ । शैक्षिक केन्द्रका रुपमा विकास भएका बुटवल, दाड. र नेपालगन्जमा शैक्षिक पूर्वाधार र गुणस्तर विकास गर्ने उल्लेख छ । प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय बनाउने र स्टेम शिक्षा प्रणाली लागू गर्ने घोषणापत्रमा छ ।

यस्तै, कृषितर्फ कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने, मल कारखाना खोल्ने, चिस्यान केन्द्र, जडिबुटी प्रशोधन केन्द्र बनाउने र कृषिलाई बजार र अनुसन्धानसित जोड्न आवश्यक पूर्वाधारको स्थापना र स्तरोन्नति गरिने उल्लेख छ । यस्तै, युवा तथा उद्यमशीलतातर्फ एक पालिका, एक पालिकास्तरीय उद्यम परामर्श र आविश्कार केन्द्र स्थापना गर्ने भनिएको छ । एक पालिका एक खेलकुद केन्द्र र पुस्तकालय स्थापना गरी युवाहरुसंग जोड्ने उल्लेख छ ।

घोषणापत्रमा लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र राप्ती विज्ञान प्रतिष्ठानलाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्ने भनिएको छ । अत्याबश्यक औषधी उद्योग प्रदेशभित्रै स्थापना गर्ने, दीर्घरोग तथा डाइलासिसका विरामीलाई निःशुल्क उपचार गर्ने, निरोधात्मक स्वास्थ्य सेवा संचालन गर्ने उल्लेख छ ।

घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस सभापति अमरसिंह पुनले संघलाई आधार मानेर प्रदेशका कामलाई प्राथमिकता दिँदै घोषणापत्र तयार गरिएको बताए । निर्वाचनमा गठबन्धन बनेर गएपनि जितेपछि कांग्रेसले गर्ने काम घोषणापत्रमा आधारित हुने उनले जनाए ।

पूर्वाधारतर्फ प्रदेशका मुख्य शहर रुपन्देहीको बुटवल भैरहवा, दाङको तुलसीपुर घोराही र बांकेको नेपालगन्ज कोहलपुरमा रेल संचालन गर्ने उल्लेख छ । सिद्धबाबा माडी र दाङमा सुरुङ मार्ग निर्माण गर्ने योजना छ । यस्तै, कृषि र ऊर्जाका लागि नौमुरे, बबइ, शारदा कालीगण्डकी र माडी बहुउद्देश्यीय अयोजना अगाडि बढाइने बताइएको छ ।

  • १७ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech