बाँके\बाँकेन नरैनापुर-६ भोजपुरका साकिर अलि मुकेरीले यस वर्ष एक बिघामा धान रोपाइँ गरे। असोज अन्तिम साता आएको बाढीले उनको धानखेत सोत्तर पार्यो। उनी यति बेला अब के खाएर बाँच्ने होला भन्ने चिन्तामा छन्।
‘असारसाउनमा खडेरी परेर रोपाइँ ढिला भयो। असोजमा अविरल वर्षाले धान सबै सखाप बनायो,’ उनले भने, ‘आकाशे पानी परेन, सानो पानी आउने बोरिङबाट ढिलै भए पनि खेती गरिएको थियो। वर्षाले बर्बाद बनायो। अब के खाएर बाँच्नेरु’
मुकेरीको मात्रै होइन यहाँका ५ हजार ८ सय घरपरिवारको साझा पीडा हो यो। नरैनापुरमा झण्डै चार हजार हेक्टर क्षेत्रमा खेती हुन्छ। असारसाउनमा खडेरी पर्दा १५ प्रतिशत मात्र धानखेती भएको नरैनापुर गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिए। ‘त्यसमाथि असोज अन्तिम साता आएको अविरल वर्षाले ३० प्रतिशत धानखेत डुबानमा परेको छ,’ उनले भने, ‘त्यसैले नरैनापुरमा यस वर्ष खाद्य संकट हुने निश्चित छ।’
खाद्य संकट हुने निश्चित भएपछि अहिले नरैनापुरवासी खानाको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन्। देशभर चुनावी उत्साह रहेका बेला नरैनापुर भने सुनसान छ। भकारी रित्तो हुनु र खेतबारी बाँझै हुनुले यहाँका नागरिकलाई चुनावभन्दा भोकको चिन्ताले सताएको छ। स्थानीय सोहनलाल यादवले भने, ‘खडेरी र डुबानले सताएपछि नरैनापुरवासीलाई चुनावी उत्साहले छोएको छैन। हामी खाद्यान्न जोहो कसरी गर्ने भन्ने चिन्तामा छौँ।’
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरू भने आशा छर्न नरैनापुर पुग्ने गरेका छन्। उनीहरूले खाद्यान्नको व्यवस्था, सिँचाइ र डुबानमुक्त गराउने प्रतिबद्धता जनाउँछन्। तर नरैनापुरवासीले हालसम्म राहत पाउन सकेका छैनन्।
‘गत वर्षकै राहत पाउन सकेका छैनौँ,’ किसान मुकेरी भन्छन्, ‘अहिले पनि फाराम भरेका छौँ, तर राहत उपलब्ध भएको छैन।’
उनका अनुसार स्थानीयवासीले भारतबाट चामल ल्याउने तयारी गरेका छन्। ‘एक वर्षका लागि पुग्थ्यो, किनेर खानु पर्थेन,’ उनी भन्छन्, ‘भारतमा सस्तो पाइने र नजिक पनि भएकाले त्यतैबाट ल्याउँछौँ।’ कृषि शाखा प्रमुख भण्डारीले खाद्य समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमार्फत् लबिङ गरिरहेको बताए। साथै विभिन्न संघसंस्थासँग पनि समन्वय भइरहेको उनले जानकरी दिए। ‘राहतका लागि संघीय सरकारसँग प्रस्ताव गरिएको छ,’ उनले भने।
नरैनापुरलाई बाँकेकै विकट क्षेत्रका रूपमा हेरिन्छ। चाहे आर्थिक होस् वा सामाजिक हरेक क्षेत्रबाट पिछडिएको छ नरैनापुर। यही नरैनापुरलाई मूलधारमा ल्याउन भूमिका खेल्ने उम्मेदवारहरूको आआफ्नै दाबी छ।
एमालेबाट बाँके क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य ढकालले नरैनापुरको खाद्य संकट समाधानका विषयमा आफूले पहल गरिरहेको बताउँछन्। ‘त्यहाँको स्थानीय तहले पनि राहत उपलब्ध गराउन लापरबाही देखाइरहेको छ, जनताले राहत पाएका छैनन्,’ उनले भने, ‘सुक्खापीडितलाई राहत उपलब्ध गराउने दबाब दिएका छौँ। स्थानीय तह र पाँच दलीय गठबन्धनले राज्य भएको अनुभूति दिलाएन।’
उनले नागरिकलाई राज्यको अनुभूति दिलाउन एमालेले जित्नुपर्ने दाबी गरे। ‘मैले जितेँ भने नरैनापुरका समस्याको दीर्घकालीन समाधान गर्छु,’ उनले भने। नरैनापुरका लागि सिक्टाको पूर्वी नहर समयमै सम्पन्न गर्ने, नरैनापुरबाट एक घर एक रोजगारको राष्ट्रिय नीति लागू गर्ने, नरैनापुरदेखि पूर्वपश्चिम राजमार्ग जोड्ने सडक विस्तार गर्नेलगायत योजना बनाएको पनि बताएका छन्।
खेलकुदमन्त्री एवं बाँके क्षेत्र नं। १ सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार माओवादीका महेश्वरजंग गहतराज ‘अथक’ले नरैनापुरलाई खाद्य संकटबाट जोगाउन स्थानीय सरकार, दैवी प्रकोप उद्धार समितिसँग समन्वय गरिरहेको बताएका छन्।
‘हामीले स्थलगत निरीक्षण, अनुगमन गर्यौँ, सिक्टा सिँचाइ नहुनुले नरैनापुरवासीले आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सिक्टाको पूर्वी नहरका लागि ताकेका गरेका छौँ, डिप बोरिङका लागि पनि पहल गरेका छौँ।’
यस्तै उनले नदी कटान रोक्न राप्ती नदीको छुट्टै प्रोजेक्ट बनाएर तटबन्धन बनाउने योजना पनि रहेको बताए। ‘यसबाहेक नरैनापुरमा छोटी भन्सार, खानेपानीको सुरुवात, औद्योगिक ग्राम बनाउने, धार्मिक, कृषि पर्यटनको योजना बनाएका छौँ,’ उनले भने।
विद्यालय भवनलाई टिनको छानामुक्त गर्ने अभियानअन्तर्गत ५८ विद्यालयमा पक्की कक्षाकोठा निर्माण गरेको, वर्षौँदेखि अँध्यारोमा बस्ने बाध्य राप्तीसोनारी र नरैनापुरमा विद्युतीकरणको सुविधा उपलब्ध गराएको, विभिन्न ठाउँमा झोलुंगेपुल, मोटरेबल पुल, हुलाकी सडकअन्तर्गत राप्तीसोनारी र नरैनापुर जोड्ने गरी सडक सञ्जाल जोड्न पहल गरेको, सिक्टा सिँचाइ आयोजनाका शाखा नहरहरु बनाउन महत्त्वपूर्ण भूमिका खेलेकोलगायतका दाबी गरे। यस्तै उनले बाढी प्रभावितहरुका लागि सुरक्षित आवास कार्यक्रमअन्तर्गत घरहरु निर्माण गरेको, तटबन्धन उल्लेख्य मात्रामा लागू भएको, फुसको घरहरु पक्की बनाउन अभियान सञ्चालन गरेको पनि बताए।
खाद्य व्यवस्था गर्नेलाई भोट
नरैनापुरवासी अहिले खाद्य संकटसँग जुधिरहेका छन्। उनीहरूलाई अहिले खाद्यान्नको व्यवस्था पहिलो प्राथमिकता बनेको छ। त्यसपछिको दोस्रो प्राथमिकता हो डुबानमुक्त। नरैनापुर कटकुइँयाका प्रमोद मिश्राले खाद्यान्नको व्यवस्था र डुबानमुक्त गराउने नेतालाई मत दिने बताए। सिँचाइको व्यवस्था पनि हुनुपर्ने उनले माग गरेका छन्।
साकिर अलि मुकेरीले पनि खेतीका लागि नहरको व्यवस्था गर्नुपर्ने बताए। ‘नहर नपुग्ने ठाउँमा डिप बोरिङको व्यवस्था गरिदिनुपर्छ,’ उनले भने, ‘भोजभगवानपुर(नरैनापुरसम्म सानो बोरिङ छ, पानी सानो आउँछ, त्यसले पुग्दैन।’ सिँचाइको व्यवस्था भएमा धानगहुँबाली राम्रो उब्जनी हुने उनी बताउँछन् । ‘मधेशी समुदायमा छोरीबहिनीलाई पढ्नका लागि टाढा पठाउन मान्दैनन्,’ उनले भने, ‘यहीँको जयकिसान माविलाई क्याम्पसका रूपमा स्तरोन्नति गरिदिए एकदमै सहज हुने थियो।’