बाँके\सत्तागठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर बाँके क्षेत्र नं. ३ को उम्मेदवार छन् ।सत्तागठबन्धनको मत झण्डै १५ हजार बढि रहेकोले उनलाई जित निकाल्न सजिलो छ । तर, सत्तागठबन्धन भित्रको नेकपा (एकीकृत समाजवादी र माओवादी केन्द्रमा देखिएको भाँडभैलोले उनलाई जित निकाल्न पक्कै असहज बनाएको छ ।
उसो त कांग्रेस नेता, कार्यकर्ता पनि उनको उम्मेदवारीले असन्तुष्ट छन् ।एकीकृत समाजवादीले लुम्विनी प्रदेससभातर्फ एक सिट पनि नपाएपछि असन्तुष्टि जनाउँदै उक्त पार्टीका तत्कालिन पोलिटब्यूरो सदस्य दलबहादुर सुनारले बाँके क्षेत्र नं. ३ प्रदेससभा (१) मा स्वतन्त्र उम्मेदवारी दिए । उनी स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार प्रसार गरिरहेकै बेला अकस्मात माओवादी केन्द्रमा प्रवेश गरे र आफूनै सत्तागठबन्धनको आधिकारिक उम्मेदवार भएको घोषणा गर्दै चुनावी मैदानमा होमिएका छन् ।
उक्त प्रदेस निर्वाचन क्षेत्र माओवादी केन्द्रको भागमा छ । सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रका केन्द्रिय सदस्य इन्द्रप्रसाद खरेल (आइपी) आधिकारिक उम्मेदवार हुन् । अहिले यो क्षेत्रमा आधिकारिक उम्मेदवार आफू भएको दावी दुवैले गर्दै आएका छन् ।राठौरले भर्खरैमात्र माओवादी केन्द्रमा प्रवेश गरेका स्वतन्त्र उम्मेदवार सुनारलाई साथमा लिएर हिड्दा आधिकारिक उम्मेदवार खरेल रुष्ट भएका छन् । आधिकारिक उम्मेदवारलाई बेवास्ता गरेको परिणाम नेपाली कांग्रेसले भोग्नुपर्ने खरेलले स्पष्ट पार्दै आएका छन् ।राठौरले सुनारलाई विभिन्न कार्यक्रममा साथमै लैजाने र सम्पर्क कार्यालयको बोर्डमा समेत सुनारको फोटो राखेका छन् ।
यसको असर पनि सत्तागठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस सह–महामन्त्री राठौरलाई पर्ने विश्लेषण गरिएको छ । ‘म आधिकारिक उम्मेदवार हुँदाहुँदै राठौरजीले स्वतन्त्र उम्मेदवार सुनारलाई बोकेर हिड्दाको फल ४ मंसिरपछि देखिने छ,’ खरेलले भने ।बाँके क्षेत्र नं. ३ का उम्मेदवार राठौरको घर नेपालगन्जमा भए पनि उनलाई धेरैजसोले बर्दियाबासीको रुपमा चिन्दै आएका छन् ।
बाँके क्षेत्र नं. ३ मा चिनाउन उनलाई धेरै कसरत गर्न परेको छ । उनलाई आफ्नै पार्टीभित्रका नेता, कार्यकर्ताले टुरिष्ट उम्मेदवारको रुपमा चित्रण गर्दै आएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न चाहनेहरुले उनलाई खुलेर सहयोग गरेका छैनन् ।
उनी बाँके क्षेत्र नं. ३ बाट विजयी भए आफ्नो राजनीति सधैँका लागि सकिने त्यस क्षेत्रका कांग्रेस नेतामा डर छ । यसले पनि राठौरको मत घट्ने सम्भावना छ ।तर, बाँके क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको मत एमाले–राप्रपाको भन्दा १५ हजार ९८७ बढ्ता छ ।
यो मत जोड्न एमालेका उम्मेदवारलाई ठूलै कसरत गर्नुपर्ने छ । एमालेका उम्मेदवार किस्मतकुमार कक्षपति खजुरा गाउँपालिकाको अध्यक्ष भइसकेकोले उनलाई चिनाउन र मतदाता रिझाउन त्यति धेरै बल गर्न पर्ने देखिदैन । बैजनाथ र खजुरा गाउँपालिकामा एमालेको संगठन मजबुत भएपनि नेपालगन्ज उपमहानगरपालिकाको १६ र १७ तथा जानकी गाउँपालिकामा एमालेको संगठन त्यति बलियो मानिदैन ।
मधेसी र मुस्लिम बाहुल्य यी वडा र पालिकामा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा) को पकड मानिन्छ । यहाँका मतदातालाई रिझाउन सकेको खण्डमा मात्र एमालेका उम्मेदवारलाई जित निकाल्न सहज हुने आंकलन गरिएको छ । एमालेका नेता, कार्यकर्ता एकजुट भएर होमिएका छन् । भने, कांग्रेसमा असन्तुष्टि छ । माओवादी केन्द्र र एकीकृत समाजवादीमा भाँडभैलो छ । यसको प्रत्यक्ष फाइदा एमाले–राप्रपाका उम्मेदवार किस्मतकुमार कक्षपतिलाई पुग्ने छ ।
स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिकामा नेपाली कांग्रेस–माओवादी गठबन्धनबाट माओवादी केन्द्रका डम्बरबहादुर विक र उपाध्यक्षमा कांग्रेसकी मञ्जु मल्ल विजयी भएकी छन् । जानकी र बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष–उपाध्यक्ष जितेको छ । यसअघिको स्थानीय तह निर्वाचनमा यी तीनवटै पालिकामा एमालेले अध्यक्ष–उपाध्यक्ष जितेको थियो ।