३१ जेष्ठ २०८२, शुक्रबार

कस्तो बन्ला वृहत लुम्बिनी महानगर ?
  • न्युज मानसराेवर

रुपन्देही\रुपन्देही–कपिलवस्तु–नवलपरासीका मुख्य शहर जोडेर महानगर बनाउने योजनासहित शहरी विकास मन्त्रालयले गुरुयोजना बनाउन सुरु गरेको छ । नवलपरासीको बर्दघाटदेखि कपिलवस्तुको शिवराजसम्मको गुरुयोजना बनाउने काम मन्त्रालयले थालेको हो ।

यो योजना अनुसार पश्चिमतर्फ चन्द्रौटा र पूर्वतर्फ बर्दघाट प्रवेश गरेपछि सडकका छेउछाउंमा बुद्धमूर्तिहरु देखिनेछन् । सडक धुंवा र धुलोमुक्त हुनेछ । सार्वजनिक र नीजि विद्युतीय सवारी साधन चल्दा ध्वनी प्रदूषण पनि आधा घट्नेछ ।

सडकमा चीवर धारण गरेका भिक्षु भिक्षुणी देखिनेछन् । विदेशी पाहुनाहरुको स्वागत सत्कार र आतिथ्यतापूर्ण ब्यवहार लोभलाग्दो हुनेछ । बृद्धबृद्धाहरुको हात समाएर घुमाउन निस्किएका युवायुवतीहरु देखेर विदेशीहरुले यहांको संस्कार र उच्च मानवीय ब्यबहार सिको गरेर फर्कनेछन् ।

बर्दघाटदेखि चन्द्रौटा शिवपुरसम्म विद्युतीय रेल चल्नेछ । डाइभर्सनमार्फत तिनाउमा मिसिएको कालीगण्डकीको पानीले रुपन्देही,कपिलवस्तु र नवलपरासीका खेतीयोग्य जमिन हरियाली हुनेछन् । भैरहवाको गौतम बुद्ध विमास्थल विस्तार हुंदैै जानेछ । फराकिला सडकहरुले चारैतिरबाट विमानस्थल छुनेछन् ।

बृहत्तर लुम्विनी क्षेत्रमा पर्यटकहरुको ओइरो लाग्नेछ । नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा गगनचुम्बी भवनसहितका आधुनिक स्मार्ट शहरहरु बन्नेछन् । घुमघाम,किनमेल र मनोरञ्जनका लागि पर्यटकहरुहरुलाई भ्याइनभ्याइ हुनेछ । ’

यो परिकल्पना शहरी विकास मन्त्रालयले रुपन्देही,नवलपरासी र कपिलवस्तु जिल्लालाई जोडेर बनाउने ‘बृहत लुम्विनी महानगर’ को गुरुयोजनामा उल्लेख छ । पूर्व बर्दघाट देखि पश्चिम शिवपुरसम्मको क्षेत्रलाई समेटेर निर्माण हुने ‘बृहत लुम्विनी महानगर’ को गुरुयोजनाको खाका बनाउने काम अगाडि बढेको छ ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले यो क्षेत्रको अध्ययन र गुरुयोजना निर्माणका लागि एसियाली विकास बैंकको सहयोगमा शहरी विकास मन्त्रालय मार्फत काम थाल्नुभएको थियो । मन्त्रालयले प्रारम्भिक खाका तयार पारेर डिपिआर निर्माणका लागि परामर्सदाता छनोट गरिसकेको छ ।

हालसम्म यस क्षेत्रमा बनेका पूर्वाधारहरुलाई आधार बनाएर बृहत लुम्विनी क्षेत्रको गुरुयोजना निर्माण गर्ने पौडेलकोे चाहनालाई प्राविधिकहरुले केहीवर्ष भित्रै मूर्त रुप दिने तयारी गरेका छन् । ‘अहिलेसम्मका आयोजना जनताको आवश्यकता र मागका आधारमा निर्माण भएका हुन्, अव राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुले पर्यावरण र भुगोलको समेत विस्तृत अध्ययन गरेर गुरुयोजना बनाउने छन्’–पूर्व अर्थमन्त्री पौडेलले भने ।

अब गुरुयोजनाले निर्दिष्ट गरेका आयोजनाहरु प्राथमिकताका आधारमा छनोट गरेर निर्माण गर्ने लक्ष्य रहेको उनको भनाइक छ ।
गुरुयोजना निर्माण गर्दा यस क्षेत्रको सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्व, लुम्विनी र बौद्ध संस्कारलाई विशेष ध्यान दिइनेछ । पौडेलले आफ्नो निर्वाचन क्षेत्र रुपन्देही २ को चुनावी घोषणा पत्रको पहिलो नम्वरमै यो विषय उल्लेख गरेका छन् ।

घोषणा पत्रमा लुम्विनीलाई केन्द्रमा राखेर निर्माण भएको लुम्विनी शान्ति शहरको गुरुयोजना कार्यान्वयनमा लैजाने उल्लेख गरिएको छ । उक्त गुरुयोजना कोरिएन प्रोफेसर क्वाकले निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई बुझाइसकेका छन् ।

क्वाकको गुरुयोजना नै बृहत लुम्विनी क्षेत्रको गुरुयोजनाको आधार स्तम्भ हुने बृहत्तर लुम्विनी क्षेत्रको गुरुयोजना निर्माणको मार्गदर्शन गरिरहेका इन्जिनियर शुशील ज्ञवालीको भनाइ छ । इन्जिनियर ज्ञवाली पुनर्निर्माण प्राधिकरणका पूर्व सिइओ हुन् । उनी प्राधिकरणमार्फत लाखौं घर, अस्पताल, सार्वजनिक भवन र सम्पदाहरुको समयमै पुनर्निर्माण सम्पन्न गर्ने सफल ब्यक्ति हुन् । नेता पौडेलकै चाहनामा ज्ञवाली प्राधिकरणको सिइओ बनेका थिए ।

‘यति ठूलो क्षेत्रलाई समेटेर गुरुयोजना बनाउने विषय सामान्य विषय होइन, यसका लागि अरबौं बजेट आवश्यक पर्छ तर प्राथमिकताका आधारमा डिपिआर बनाएर काम अगाडि बढाउने योजना छ’– इन्जिनियर ज्ञवालीले भने । यो गुरुयोजनाको डिपिआरसहितको खाका तयार गर्न मात्र गर्न १० वर्ष लाग्नसक्छ तर प्रारम्भिक खाका तयार भैसकेकोले गुरुयोजनाभित्रका परियोजनाहरुको डिपीआर गर्दै जाने र डिपिआर तयार भएका योजनाहरुको निर्माण प्रकृया पनि अगाडि बढाउंदै जाने योजना रहेको उनको भनाइ छ ।

गुरुयोजनाभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार गर्ने, विमानस्थल जोड्ने सडक सञ्जाल बनाउने, लुम्विनी शान्ति शहरको गुरुयोजना कार्यान्वयनमा लैजाने, तिलोैराकोटको उत्खनन् गरेर त्यस बाहिर ३ हजार बर्ष पुरानो जस्तो देखिने शहर निर्माण गर्ने, रामग्राम र सैनामैनामा पुरातात्विक तथा सांस्कृतिक शहर बनाउने, बृहत लुम्विनी क्षेत्र शान्ति क्षेत्रसमेत भएकाले प्रदूषणरहित विद्युतीय सवारी र विद्युतीय रेल सञ्चालन गर्ने, सांस्कृतिक–पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्बद्र्धन गर्ने, तिनाउ कञ्चन रोहिणी नदीहरुमा तटबन्ध, कोरिडोर सडक र हरियाली पार्क बनाउने योजनासमेत उल्लेख छ ।

गुरुयोजनाले कृषि क्षेत्र, आवास क्षेत्र, औद्योगिक क्षेत्र, बन क्षेत्र उद्यान क्षेत्र तथा सिमसार, ताल र पोखरीहरुको क्षेत्र वर्गीकरण गरी भूउपयोग तथा पूर्वाधार विकासका योजना कार्यान्वयन गर्ने भनिएको छ ।

गुरुयोजनाको खाकाले अन्तिम रुप पाएपछि पहिलो चरणमा चरणमा बुटवल, तिलोत्तमा र सैनामैनामा जग्गा एकीकरण (ल्यान्ड्पुलिङ्ग) अवधारणाअनुरुप नयां शहरहरुको विकास गर्ने भनिएको छ ।

त्यसबाहेकका आयोजना गुरुयोजनाको डिपिआर बनाउने प्राविधिकहरुले छनोट गर्नेछन् । प्राविधिकहरुले सांस्कृतिक शहर, बहुतले भवनसहितका शहर, आवास क्षेत्र, किनमेल क्षेत्र, औद्योगिक क्षेत्र, पर्यापर्यटन क्षेत्र, कृषि क्षेत्र छुट्याएर डिपिआर बनाउनेछन् ।

पछि बृहत लुम्विनी विकास क्षेत्रलाई कुनै प्राधिकरण वा अन्य सरकारी संरचनामार्फत विकास गर्ने योजनासमेत नेता विष्णु पौडेलको छ । गुरुयोजनाले मसिनोे गरी बनाएको डिपिआर अनुसार साना ठूला आयोजनाहरु तीन तहका सरकारहरुले कार्यान्वयन गर्दै जाने र २० वर्षभित्र बृहत लुम्विनी क्षेत्र मुलुककै विशेष आर्थिक केन्द्रको रुपमा तयार हुने अपेक्षा गरिएको छ ।

यो योजनामा पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक विस्तार, बुटवल–चन्द्रौटा सडक, बुटवल–पोखरा सडकमा आवश्यक सुरुङमार्ग तथा अग्ला पुलहरु (भायडक्ट) सहित स्तरउन्नति गर्ने, तिनाउमा आकर्षक सिग्नेचर व्रिज बनाउने, पुरानो बटौली बजारलाई ऐतिहासिक शहरमा पुनरोत्थान गर्ने भनिएको छ ।

  • २५ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech