१३ मंसिर २०८१, बिहीबार

‘म्याच फिक्सिङ’को हल्लाले बाँके कांग्रेसमा तनाव,
  • न्युज मानसराेवर

बाँके\सत्ता गठबन्धनका कारण कांग्रेसले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको परम्परागत निर्वाचन क्षेत्र बाँके २ मा असोज तेस्रो सातासम्म उम्मेदवारीको तयारी गरेन । सिंगो पार्टी पङ्क्ति यसपटक पनि ‘वाकओभर’को मनस्थितिमा थियो । जसै जसपाले गठबन्धन तोडेर एमालेसँग तालमेल गर्‍यो, कांग्रेसलाई उम्मेदवार तय गर्नै मुस्किल पर्‍यो ।

निवर्तमान प्रदेश सांसद सुरेन्द्र हमाललाई प्रतिनिधिसभा सदस्य उठ्न आग्रह गरियो । उनले तयारी नपुगेको भन्दै अस्वीकार गरे । नेतृ किरण कोइराला समानुपातिक सूचीमा परिसकेकी थिइन् । यस्तोमा हतारहतार उम्मेदवार बनाइएका नेता हुन्, सुदीपनरसिंह राणा ।

उनले घरदैलो नगर्दै कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर र जसपा नेता इस्तियाक राईबीच चुनावमा एकअर्कालाई सघाउने गरी ‘म्याच फिक्सिङ’ गरेको हल्ला निर्वाचन क्षेत्रभर फैलियो । सुदीपको उम्मेदवारीलाई अस्वाभाविक ठानिरहेका कांग्रेसका स्थानीय नेता कार्यकर्तामा यो हल्लाले काम गर्‍यो । जसका कारण बाँके २ मा सबैभन्दा ठूलो जनमत भए पनि कांग्रेस उम्मेदवारलाई मुख्य प्रतिस्पर्धी ठानिएको छैन । कांग्रेसको शुभेच्छुक मत राप्रपाका धवलशमशेर राणा, जसपाका इस्तियाक राई र शिव सेनाका दिवाकर खनालतिर चुहिरहेको जिल्लास्तरकै नेता स्वीकार्छन् । ‘म्याच फिक्सिङ गरेर डमी उम्मेदवार उठाइयो । त्यसैले हामी जित्ने हैन, जिताउने ठाउँमा पुग्यौँ’, ती नेताले भने ।

अहिलेसम्मको चुनावी माहौल हेर्दा राप्रपाका धवलशमशेर र जसपाका इस्तियाकबीचै मुख्य प्रतिस्पर्धा देखिन्छ । जनमतको दृष्टिले खासै कमजोर नभए पनि कांग्रेसका सुदीपनरसिंहले माहौल बनाउन सकेका छैनन् । राप्रपाका धवललाई एमालेको साथ छ । बाँके २ मा एमाले र राप्रपाबीचको तालमेल प्रभावकारी देखिएको छ । त्यसको मुख्य कारण धवलको राजनीतिक पृष्ठभूमिलाई मानिएको छ । उनी एमालेबाट २०५४ को स्थानीय निर्वाचनमा नेपालगञ्जको मेयर निर्वाचित थिए । एमालेका बहुसंख्यक संगठित कार्यकर्तासँग उनको दोहोरो चिनजान छ । त्यसैले राप्रपा–एमाले तालमेलको ‘केमिस्ट्री’ मिलेकै कारण धवल बलियो उम्मेदवार मानिएका छन् ।

धवलले एमाले र राप्रपाको मतसँगै कांग्रेस र हिन्दुवादी भोट तान्ने रणनीति लिएको देखिन्छ । त्यसो त, शिव सेनाबाट दिवाकर खनालको उम्मेदवारीले बाँके २ मा चुनावमा धार्मिक मुद्दाले पनि प्रवेश पाएको छ । धवल स्वयम् हिन्दु राष्ट्रको माग गरिरहेको राप्रपाका उम्मेदवार हुन् । २०५४ मा धवलले नेपालगञ्जको मेयर जित्दा यिनै खनाल शिव सेनाबाट निकटतम प्रतिद्वन्द्वी थिए । त्यसैले बाँकेमा धार्मिक मुद्दालाई बिकाउ नारा मानिदै आएको छ । तर, दिन्दुवादी मतदाताको भोट दुईतिर बाँडिँदा इस्तियाकले फाइदा उठाउन सक्ने पनि विश्लेषण गरिएको छ । शिव सेनाका खनाल भने त्यो विश्लेषण आधारहीन भएको दाबी गर्छन् । भन्छन्, ‘भोट बाँडिन्न । धवलजीले पार्टीका भोट पाउने हुन् । मैले कांग्रेस, हिन्दु र मेरा व्यक्तिगत शुभेच्छुक मतदाताको भोट पाएर जित्छु ।’

९७ हजार ८ सय ९ मतदाता रहेको बाँके २ मा झण्डै ७४ हजार हिन्दु र २३ हजार मुस्लिम मतदाता छन् । आफ्नो जितको आधार हिन्दु मतदाता रहेको दाबी गरिरहेका खनाललाई प्रतिस्पर्धी नै ठान्दैनन्, राप्रपाका धवल । ‘घरदैलोमा राम्रो रेस्पोन्स पाएको छु । एमालेको पूरै साथ छ । मेयर हुँदा यो क्षेत्रका लागि धेरै काम गरेको छु,’ उनले भने, ‘मेरो इमानदारिता र भ्रष्टाचारविरोधी छविको मतदाताले मूल्यांकन गर्नेछन् भन्ने विश्वास छ ।’

धवलको सोझो टक्कर निवर्तमान सांसद इस्तियाक राईसँग हुने देखिन्छ । राई उनै नेता हुन्, जो २०७४ को निर्वाचनमा एमाले–माओवादी र कांग्रेस–राप्रपाका दुई गठबन्धनसँग लड्दा पनि विजयी भएका थिए । संयोगले यसपटक पनि दुईवटा गठबन्धनसँगै चुनाव लड्दैछन् । माओवादी केन्द्र र कांग्रेसका स्थानीय केही नेता पनि आफैँतर्फ आएकाले यसपटक चुनाव जित्न सहज रहेको उनी दाबी गर्छन् । ‘जसपाले गठबन्धन नछाड्दै मैले मित्रवत् प्रतिस्पर्धा गरौँ भनेकै हो । मलाई गठबन्धनमाथि विजय हासिल गर्ने बानी भइसक्यो,’ राईले भने, ‘मैले हार्ने कुनै चान्स छैन ।’ मतदाताले पार्टी र नेताका अनुहार हैन, आफूले शहरी विकासमन्त्री हुँदा ल्याएका विकास हेरेर आफूलाई मत दिने उनको दाबी छ ।

इस्तियाकको मनोबलको पछाडि बाँके ३ का कांग्रेस उम्मेदवार किशोरसिंह राठौरसँग भएको ‘म्याच फिक्सिङ’ कारण रहेको एकथरी कांग्रेस नेताको आरोप छ । त्यो आरोप अस्वीकार गर्दै राईले भने, ‘हामी त बाँके ३ पनि जित्नेगरी तयारी गरिरहेका छौँ । के को म्याच फिक्सिङ हुनु ? यो बेकारको हल्ला हो ।’

जसपामा इस्तियाक विवादरहित भने छैनन् । जसपा बाँकेका सचिवसमेत समशुल राईले उनीविरुद्ध बागी उम्मेदवारी दिएका छन् । त्यस्तै, केन्द्रीय सदस्यसमेत रहेका बाबु खाँ पठानले पनि मैदामै छन् । उनी सीके राउतको पार्टी जनमत पार्टीबाट उठेका छन् । यी दुई नेताले पनि इस्तियाकको मत प्रभावित पार्न सक्छन् ।

६ महिनाअघिको स्थानीय तह निर्वाचनको जनमतको विश्लेषण गर्दा राईलाई अघिल्लो पटकजस्तो सजिलो भने देखिँदैन । बाँके २ मा नेपालगन्ज उपमहानगरपालिकाका २३ मध्ये २१ वटा वडा पर्छन् । गत निर्वाचनमा नगरमा जसपाले ६, एमालेले ५, कांग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३÷३ वटा वडा जितेका छन् । त्यस्तै, यसै क्षेत्रमा पर्ने डुडुवा गाउँपालिकाको नेतृत्व जिते पनि वडा तहमा भने कांग्रेस कमजोर छ । त्यहाँ कांग्रेसले १, जसपाले ३ र एमालेले २ वडा जितेका छन् ।

वडास्तरमा प्राप्त मत विश्लेषण गर्दा कांग्रेसले प्राप्त गरेको जनमत सबैभन्दा धेरै छ । कांग्रेस १८ हजार ३७ मतसहित पहिलो स्थानमा हुँदा एमालेले १५ हजार ४ सय ७८ मत प्राप्त गरेको थियो । त्यस्तै, जसपाले १३ हजार ८ सय ९, राप्रपाले ८ हजार ४ सय ९४, माओवादी केन्द्रले ६ हजार ८ सय ५९, एकीकृत समाजवादीले ८ सय २१ र लोसपाले ५ सय ६४ मत पाएका थिए । कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादीको कुल मत २५ हजार ७ सय १७ हुन्छ । राप्रपा–एमालेको मत २३ हजार ९ सय ८८ हुन्छ । त्यसहिसाबले जसपा एक्लै तेस्रो स्थानमा छ ।

तर, स्थानीयदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनसम्म आइपुग्दा बाँके २ मा माओवादी केन्द्रमा ठूलो पहिरो गइसकेको छ । नन्दलाल वैश्य माओवादी छाडेर राप्रपाबाट नगर प्रमुखकै उम्मेदवार बने भने अर्का नेता आदेश अग्रवाल पनि पार्टी त्यागेर जसपाबाट प्रदेशसभा सदस्य उठेका छन् । त्यसले माओवादीको भोट तीनतिर बाँडिने देखिन्छ । त्यसको असर कांग्रेसका सुदीपनरसिंह राणालाई पर्न सक्छ । तैपनि, कांग्रेस नेताहरू आफ्नो स्थिति मजबुत रहेको दाबी गरिरहेका छन् ।

‘अन्तिम समयमा उम्मेदवारी चयन गरिएकाले केही हतारमा निर्णय भएकै हो । तर, हामी अहिले पनि बलियो स्थितिमै छौँ,’ कांग्रेस नेता एवं नेपालगञ्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले भने, ‘मुख्य प्रतिस्पर्धाबाटै बाहिर छौँ भन्ने निराधार हल्ला हो ।
हेर्दै जानुस्, हामी चुनाव जित्दैछौँ ।’साभारःशिलापत्र

  • २८ कार्तिक २०७९, सोमबार प्रकाशित

  • Nabintech