२७ आश्विन २०८१, आईतवार

लुम्बिनीमा भिडेका यी पूर्वसहकर्मी, को कति बलियो?
  • न्युज मानसराेवर

बुटवल\ मंसिर ४ को निर्वाचनमा लुम्बिनी प्रदेशमा पूर्वसहकर्मीहरुको भिडन्त रोचक हुने देखिएको छ। लामो समय एउटै पार्टीमा रहेका नेताहरु यतिखेर विभिन्न जिल्लामा चुनावी मैदानमा उत्रेका छन्। प्रतिनिधिसभा विघटनपछि नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सहयात्रीहरुविच रोचक भिडन्त हुँदैछ। सत्ता गठबन्धनको समर्थनमा नेकपा एकिकृत समाजवादीका उम्मेदवारहरु चुनावी मैदानमा ओर्लेका छन्।

नेकपा एमालेले राप्रपा र जसपाको सहारा लिँदै निर्वाचन मैदानमा ओर्लेको छ। लुम्बिनीमा  नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा चार वटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ। ती चारै सिटमा एमालेसँग प्रतिस्पर्धा हुँदैछ।

रुपन्देही १ः छविलाल र घनश्याम भिडन्त
एउटै पार्टीमा बसेर तीन दशक सहकार्य गरेका नेता हुन्, घनश्याम भुसाल र छविलाल विश्वकर्मा। भुसालले नेकपा एमाले परित्याग गरि अहिले रुपन्देहीको निर्वाचन क्षेत्र न. १ बाट सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार छन्। नेकपा एमालेका सचिव विश्वकर्मालाई राप्रपा र जसपाले साथ दिएको छ। विद्यार्थीकालदेखि सँगै राजनीतिमा होमिएका भुसाल एमालेको उपमहासचिवसम्म चुनिए। एमालेको पछिल्लो महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित हुँदा विश्वकर्मा भने केन्द्रिय सचिवमा निर्वाचित भए। यी दुई नेताको सम्बन्ध सुमधुर हो ।

विश्वकर्मा खेलाडी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। शालिन स्वभावका विश्वकर्मालाई बौद्धिक र दार्शनिक नेताका रुपमा परिचत भुसालले चुनौती पेश गरेका छन्।  तीन दशक बढी सहकार्य गरेका एमाले सचिव विश्वकर्माले स्वतन्त्र दलको विकल्प नहुने बताउने गरेका छन्। यी दुवै नेताले एकले अर्कोलाई गाली गरेका छैनन्। तर, नाम नलिएरै प्रतिस्पर्धीको कमजोर पक्षको आलोचना गर्छन्।

 

घनश्याम भुसाल।

भुसाल रुपन्देहीको तिलोत्तमा निवासी हुन्। विश्वकर्मा बुटवल उपमहानगरपालिका निवासी हुन्। २०७४ को निर्वाचनमा भुसाल क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित हुँदा विश्वकर्मा क्षेत्र नम्बर एकबाट निर्वाचित भएका थिए। २०३८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनु भएका भुसाल पूर्व कृषिमन्त्री हुन्। विश्वकर्मा खेलाडी जीवनबाट २०४६ पछि एमालेमा लागेका नेता हुन्। उनी पनि पूर्व कृषि मन्त्री नै हुन्।

त्यसो त रुपन्देही १ बाट एमालेकै अर्का नेता टिकाराम चापागाई पनि उम्मेदवार छन्। एमाले देवदह नगर अध्यक्षबाट राजीनामा दिएर उनी स्वतन्त्रबाट मैदान उत्रेका हुन्।

बाम गठबन्धनबाट ०७४ मा सहज जित निकालेका विश्वकर्मालाई यसपटक भने भुसाल चुनौति बन्ने देखिन्छ। स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतकाआधारमाकांग्रेसको ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, नेकपाएसको १ हजार २४३ र लोसपाको ३२५ मत छ। दुई गठबन्धनको मत छुट्टाछुट्टै जोड्दा क्षेत्रमा विश्वकर्मा बलियो  देखिन्छन्। २०७४ मा राप्रपाका नेता दीपक बोहरालाई भुसालले हराएका थिए।

गुल्मी २ः गोकर्ण विष्ट र रामकुमारी झाँक्री
गुल्मी–२ मा एमाले सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुँदै छ। यी दुई नेताविच यतिखेर आलोचना सहितको चुनावी प्रचारमा होमिए। दुवै जनाले लामो समय एमालेमै रहेर काम गरेका हुन्। एमाले विभाजन हुँदा झाँक्री एकीकृत समाजवादीमा लागिन भने विष्ट एमालेमै बसे। अहिले प्रतिनिधिसभा सदस्यका लागि दुवै नेता आमनेसामने भएका छन्।

पूर्व मन्त्री विष्ट २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को समर्थनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले ३४ हजार ६१८ मत पाएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत पाएका थिए।

त्यति बेला विष्टलाई जिताउन झाँक्री पनि खटिएकी थिइन्। यति बेला  झाँक्री आफैं उम्मेदवार छिन्। गुल्मीमा एकीकृत समाजवादीको संगठन कमजोर भए पनि गठबन्धनको साथ छ। झाक्रीलाई नेपाली काँग्रेस, नेकपा माओवादी, राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय पारेसँगै झाँक्रीलाई राहत मिलेको छ।

त्यस्तै एमालेका नेता शेषकान्त गौतम नेकपा एस प्रवेश गरेपछि झाँक्री थप उत्साहीत छन्। विष्टले विगतमा गरेको काम देखाएर प्रचार गरेका छन् भने झाक्रीले नयाँ अनुहारलाई मत दिनुपर्ने मत राख्ने गरेकी छन्। महिला नेतृ समेत भएकाले यहाँ नयाँ पुस्ताको मत तान्न सक्ने विश्लेषण गरिएको छ। गुल्मी २ मा वडाअध्यक्षहरुले पाएको मत परिणाम अनुसार नेकपा एमाले ३१ हजार २५३, कांग्रेस २९ हजार ८२१, माओवादी १८४१, एस ६५८, राप्रपा १०१ मत रहेको छ।

ठाकुर गैरे र सोमप्रसाद पाण्डेय
पाल्पा–२ मा नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष पूर्वमन्त्री सोमप्रसाद पाण्डेसँग एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरे चुनावी प्रतिस्पर्धामा छन्। गत निर्वाचनमा पाण्डेय यही क्षेत्रबाट निर्वाचित भएका थिए। पूर्व सहयोद्धा र सहकर्मी नै छैठौं पटक उम्मेदवार बनेर मैदानमा उत्रिएका पाण्डेयका लागि चुनौती बनेर उभिएका छन्। संसदीय राजनीतिमा पहिलो पटक मैदान ओर्लेका गैरेले डेब्यू गर्ने तयारीमा छन्।

गठबन्धनका उम्मेदवार पाण्डेयलाई कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाको साथ छ। संसदीय राजनीतिको अनुभव सहित पाल्पाको विकासमा योगदान पुर्याएका पाण्डेयका लागि जती सहज छ, संसदीय चुनावमा पहिलो पटक होमिएका गैरैका लागि चुनावी मैदान चुनौतीपूर्ण नै देखिन्छ। पाण्डेय २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लिला सोमैसँग पराजित भएका थिए। पाण्डेयले पाल्पामा चारपटक जीत हासिल गरेको अनुभव छ राजनीतिमा राम्रो सम्भावना भएर पनि अवसरबाट बञ्चित नेताका रुपमा गैरेलाई लिने गरिन्छ। नेकपा एमालेमा नेपाल गुटमा रहेकै कारण पछाडि परेका गैरैले यो पटक पाल्पाली जनताको साथको अपेक्षा राखेका छन्।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुको मत परिणाम हेर्दा यो क्षेत्रमा एमाले सबैभन्दा ठूलो दल हो। वडा अध्यक्ष मत हेर्दा यो क्षेत्रमा एमालेले ३० हजार ६६ मत पाएको छ। कांग्रेसले २९ हजार ३९, माओवादीको ४ हजार ३१३ र एकीकृत समाजवादीले ४३३ मतमात्रै पाएको देखिन्छ। यसरी वडाअध्यक्षहरुले पाएको मतको परिणामलाई जोड्ने हो भने गठबन्धन एमालेभन्दा ३ हजार २ सय १९ मतले अगाडि देखिन्छ। मतका हिसाबले एमाले एक्लै ठूूलो देखिएको छ। कुनै बेला पाण्डेयको चुनावी कमाण्डर बनेका  गैरे मैदान ओर्लेपछि पाल्पा २ मा रोचक भिडन्त हुँदैछ

दाङ १ः मेटमणि र शान्ता चौधरी
दाङ १ मा एमालेमै लामो समय सहकर्मी रहेका नेताहरुविच चुनावी भिडन्त हुँदैछ। नेकपा एकिकृत समाजवादीका नेता मन्त्री मेटमणि चौधरी र एमाले नेत्री शान्ता चौधरी चुनावी मैदानमा छन्। एमाले विभाजनअघि दुवै जना केन्द्रीय सदस्य थिए। अहिले मेटमणि एकीकृत समाजवादीका सचिव छन् भने शान्ता एमालेको पोलिटब्यूरो सदस्य हुन।

 

                         मेटमणि चौधरी

२०७४ सालको निर्वाचनमा माओवादीसँगको तालमेलबाट मेटमणि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। उनले ३७ हजार ९०८ मत पाएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसकी सुशीला चौधरीले २४ हजार ७४ मत पाइन्।  त्यति बेला शान्ता पनि मेटमणिलाई जिताउन चुनावी अभियानमा खटिएकी थिइन। यति बेला भने उनी आफैं प्रतिस्पर्धामा छन्। उनी २०६४ र २०७४ सालमा एमालेबाट समानुपातिकतर्फबाट निर्वाचित भएकी थिइन्। दाङ १ मा एमालेबाट विद्रोह गरेर गंगा चौधरीले समेत उम्मेद्वारी दिएकी छन्। एमालेबाटै बागी उम्मेदवार भएकाले मेटमणिलाई सहज हुने अनुमान गरिएको छ।

 

दाङ १ मा बैशाखमा सम्पन्न स्थानीय तहको वडाअध्यक्षको मतपरिणाम अनुसार कांग्रेस २९ हजार ७५७, एमाले २७ हजार २५, माओवादी १९ हजार २७६, राप्रपा २ हजार ३५०, एस २ हजार ३४१, र जसपा ८०७ मत छ।

  • १ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech