बाँके\मंसीर ४ आउन अब केही दिन बाँकी छ । उम्मेदवार मतदातालाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् । महत्वआकांक्षी चुनावी एजेण्डासहित घरदैलो गरिहेका छन् । विगतको चुनावभन्दा यसपटकको चुनाव केही फरक हुने अड्कलन गरिएता पनि देशका अधिकांश ठाउँमा गठबन्धन र नेकपा एमालेबीचमा नै प्रतिस्पर्धा देखिएको छ ।
देशका केही चुनावी क्षेत्र चर्चामा छन् । विशेषगरी पार्टीका शीर्ष नेता र मन्त्री उम्मेदवार रहेकाका निर्वाचन क्षेत्रलाई चासोका साथ हेरिएको छ । राजनीतिक दल र दलका नेताहरुप्रति वितृष्णा बढिरहेको बेला यी क्षेत्र चर्चामा रहनु स्वभाविकै पनि हो । बाँकेको हकमा क्षेत्र नम्बर ३ कांग्रेसका महामन्त्री किशोरसिं राठोरको चुनावी क्षेत्र भएकाले चर्चामा छ भने त्योभन्दा बढी वर्तमान सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) उम्मेदवार रहेको बाँकेको क्षेत्र नम्बर १ लाई झनै चासोका साथ हेरिएको छ । जहाँ उनी तेस्रोपटक उम्मेदवार बनेका छन् ।
२०७४ को निर्वाचनमा अथक जिताउन प्रचारप्रसार समितिको संयोजक रहेर ठूलो भूमिका खेलेका नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इञ्चार्जसमेत रहेका युवा नेता सूर्य ढकालको उम्मेदवारीसँगै यो चुनावी क्षेत्रलाई महŒवका साथ हेर्न थालिएको हो । विगतको निर्वाचनमा अथकलाई जसले जिताए उनैसँग प्रतिस्पर्धा गर्नु पर्ने भएपछि यो निर्वाचन क्षेत्र चर्चामा छ ।
विभिन्न पार्टीका उम्मेदवार राजनीतिक प्रतिस्पर्धामा रहेको भए पनि अधिकांशको चासो एमालेका सूर्य ढकाल र गठबन्धनका अथकमा नै केन्द्रित छ । एमालेको सहारामा विजयी भएका अथकलाई यसपटक एमालेकै युवा नेता सूर्य ढकालको उम्मेदारीले विरासत जोगाउन देला वा नदेला भन्ने प्रश्न खडा गरिदिएको छ । बाँकेको विगतको राजनीतिक अवस्थालाई नजिकबाट मूल्यांकन गर्नेहरुले यस्तो प्रश्न गर्नु स्वभाविक पनि हो ।
हरेक उम्मेदवारलाई व्यक्तिगत लोकप्रियताले जित हासिल गर्न सहयोग गर्छ । सूर्य ढकाल र अथकमध्ये जनतामाझ को कति लोकप्रिय छन् भन्ने बहस सुरु भएको छ ।बाँकेको राजनीतिलाई तरल राजनीतिका रूपमा हेरिन्छ । बाँके जिल्लाको क्षेत्र नम्बर १ लाई हेर्न हो भने प्रजातन्त्रको पुनः प्राप्तिपछिको पहिलो निर्वाचन २०४८ मा नेपाली कांग्रेसका सैयद अहमद शाहले बाँके विजय प्राप्त गरेका थिए ।
२०५१ को मध्यावधि निर्वाचनमा राप्रपाका प्रेमबहादुर भण्डारी तथा २०५६ को निर्वाचनमा कांग्रेसका ज्ञानु केसीले विजय प्राप्त गरेको यो क्षेत्रका जनताले २०६४ को निर्वाचनमा पहिलोपटक माओवादी युद्धबाट आमनिर्वाचनमा होमिएको माओवादीलाई विश्वास गरे । यही विश्वासको आडमा माओवादीका तिलक परियार भारी मतले विजयी बने । २०७० को चुनावमा नेकपा एमालेका देवराज भार विजय हुँदा पहिलोपटक माओवादी पार्टीको तर्पmबाट उम्मेदवार बनेका अथक न्यून मतका साथ तेस्रो स्थानमा खुम्चिन पुगेका थिए ।
प्रजातन्त्रको पुनः प्राप्तिपछिका हरेक चुनावमा फरक परिणाम दिँदै आएका बाँके क्षेत्र नम्बर १ का जनताले २०७४ मा एमालेको साथ पाएपछि पुनः उम्मेदवार बनेका अथकलाई विजय बनाए । जुनबेला अथकलाई नेकपा एमालेका सूर्य ढकालले प्रचारप्रसार समितिको कमाण्डर बनेर विजयी बनाउने मुख्य भूमिका निर्वाह गरेका थिए । तर यसपटक यहाँका मतदाताले विगतमा जस्तै नयाँ व्यक्ति खोज्छन् वा पुरानालाई नै रोज्छन् भन्ने कुरा हेर्न बाँकी नै छ ।
विगतको वर्तमानमा प्रभाव पर्दछ र वर्तमानले भविष्य अनुमान गर्न सघाउँछ भन्ने मान्यता रहँदै आएको छ । यस क्षेत्रको विगतदेखि हालसम्मको चुनावी परिणामलाई हेर्ने हो भने यहाँका जनताले उम्मेदवार दोहो¥याएर पठाउन मन नगरेको इतिहास भेटिन्छ । यसपटक के हुन्छ ? भविष्यले निर्धारण गर्ला । यस क्षेत्रका संघमा प्रतिस्पर्धा गरेका उम्मेदवार हेर्दा माओवादीका अथकबाहेक सबै नयाँ देखिन्छन् । माओवादीका अथक भने यही क्षेत्रबाट तेस्रोपटक उम्मेदवार बनेका छन् । त्यसैले पनि उनको उम्मेदवारीलाई यहाँका जनताले फरक तरिकाले हेरेको पाइन्छ ।
हरेक चुनावमा अघिल्लो चुनाव र विजय भएका उम्मेदवारको मूल्यांकन हुने गर्छ । यसपटक पनि अघिल्लो चुनावमा विजय भएका माओवादीका अथकले गरेको कामको मूल्यांकन हुनु स्वभाविक पनि हो । तेस्रोपटक उम्मेदवार बनेका अथकलाई पुनः विजय बनाउनु पर्ने कारणको खोजी हुनलाई अन्यथा मान्न पनि सकिँदैन ।
अथकलाई भाग्यमानी नेता भनिन्छ । पहिलोपटक झिनो मत पाएर तेस्रो स्थानमा रहेका अथक एमालेको सहयोगमा विजय बन्न पुगेका थिए । एमाले सरकारमा हुँदा सत्तापक्षको सांसदका रुपमा सधै शक्तिमा रहे भने गठबन्धनको सरकार बनेपछि त झन युवा तथा खेलकुदमन्त्री नै बन्ने सौभाग्य प्राप्त गरे । त्यसैले पनि उनलाई भाग्यमानी सांसदका रूपमा हेरिएको हो ।
अथक पाँच वर्षसम्म सत्ताको शक्तिमा रहे । पहुँचको हिसाबले पनि अथकको पार्टीभित्र राम्रै पहुँच रहेको मानिन्छ । यो हिसाबले पनि अथकले बाँके क्षेत्र नम्बर १ मा दीर्घकालीन प्रभाव पार्ने के–के काम गरे भन्ने कुराको खोजी हुनु स्वभाविक पनि हो । विभिन्न जिज्ञासा उब्जिनु ठिकै पनि हो । विगतका विजेताले के बोलेका थिए ? के कति गरे ?
भनेर खोजी गर्ने अधिकार मतदातामा रहन्छ नै । विगतको विजेता भएका अथकले जनतालाई पाँच वर्षमा आपूmले गरेका काम देखाउनु पर्ने बाध्यता बनेको छ । उधारो आश्वासनलाई पनि विश्वास गर्दै आएका जनताले चित्तो बुभ्mदो उत्तर नपाएमा अथकलाई नै दोहोराउने सम्भावना के कति रहन्छ ? भविष्यले बताउँला । तथापि हालसम्मको चुनावी सारगर्मी, जनताको चासो र युवा नेता सूर्य ढकालको उम्मेदवारीले अथक पुनः दोहोरिएर सिंहदरबार पस्न सक्छन् वा सक्दैनन् यसै भन्न सकिँदैन ।
यसपटकको चुनावको अनुमानित परिणाम आँकलन गर्न भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन सहयोगी बन्न सक्छ । नरैनापुर र राप्तीसोनारी गाउँपालिका एवम् कोहलपुर नगरपालिका समेटिएको यस क्षेत्रको गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणामलाई हेर्दा कांग्रेस पहिलो र एमाले दोस्रो भएको थियो भने माओवादी केन्द्र तेस्रो भएको थियो । कांग्रेसले २८ हजार ६ सय १९, एमालेले २५ हजार तीन सय १०, माओवादीले १७ हजार दुई सय ३८, राप्रपाले चार हजार पाँच सय ९५ र जसपाले तीन हजार चार सय ५५ मत पाएका थिए ।
यो मत परिणमलाई हेर्दा गठबन्धन बलियो देखिन्छ । उही मत परिणामलाई मात्रै आधार मान्ने हो भने अन्य उम्मेदवारको तुलनामा अथक बलिया देखिन्छन् । तर मतदातालाई मतसंख्याले भन्दा नाम (लोकप्रियता) र कामले प्रभाव पार्न सक्छ । सहयोग र सम्पर्कले प्रभाव पार्न सक्छ । नयाँ उम्मेदवारहरुप्रति चासो र पुराना उम्मेदवारप्रति गुनासो रहने नेपाली परम्परा नै हो । पुरानो उम्मेदवार भएकोले पनि अथकप्रति धेरै मतदाताहरुको गुनासो रहेको देखिन्छ ।
सांसद बनेपछि अथक गाउँमा नर्फकेको र पहुँच हुँदासमेत काम गर्न नसकेको र मन्त्री हुँदासमेत राष्ट्रिय महŒव बोकेको बाँकेमा एउटा पनि योजना पार्न नसको भन्ने आरोप उनी माथि लाग्दै आएको छ । यही आरोपले मात्रै पनि यसपटक उनलाई सिंहदरबार छिर्ने बाटो बन्द पो गरिदिने हो कि भन्ने आशंका पैदा हुन थालेको छ ।
हुनतः चुनाव हो ठ्याक्कै यस्तो नै हुन्छ भनेर भन्न त सकिँदैन । कतिपय अनुमानहरु नमिल्न पनि सक्छन् । तर पनि जतिसुकै मतान्तर भए पनि काम नगर्नेहरुलाई जनताले मन पराउँदा रहेन छन् भन्ने कुरा गत २०७४ को बर्दिया जिल्लाको क्षेत्र नम्बर १ को बामदेव गौतमको चुनावी क्षेत्रलाई हेर्दा पुग्छ । झन्डै ३० हजारको मत अन्तर रहेको यो निर्वाचन क्षेत्रको नतिजा सोचेभन्दा ठीक उल्टो आएको थियो ।
बाँके क्षेत्र नम्बर १ मा एमाले–राप्रपा र सत्ता गठबन्धन दलका बीचमा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यस क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, मजदुर किसान पार्टी, स्वतन्त्र पार्टीका उम्मेदवारका साथसाथै स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । मत परिणाम आफ्नो पक्षमा पार्न उनीहरु प्रयासरत देखिन्छन् । उनीहरुको कसरतले विगतको मत परिणाममा तलमाथि नपार्ला भन्न सकिँदैन ।
यो क्षेत्रमा थारु समुदायको बाक्लो उपस्थिति छ । थारु समुदायको मत नै निर्णायक मत बन्न सक्छ । यसपटकको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको उपस्थिति अर्थपूर्ण छ । यो पार्टीको तर्फबाट सुरेशकुमार चौधरीले ढकिया चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उनले थारु समुदायको मतलाई के कति प्रभावित पार्न सक्छन् हेर्न बाँकी नै छ । यदी सुरेसकुमार चौधरीले थारु मत प्रभावित गर्न सके भने स्थानीय चुनावमा आएको मत परिणाममा तलमाथि हुने सम्भावना बढी देखिन्छ ।
थारु समुदायको मत सुरेशकुमार चौधरीलाई गयो भने यसको असर कसलाई पार्ला भन्ने जिज्ञासा धेरैमा छ । गठबन्धन र एमालेबीचमा प्रतिस्पर्धा रहेकोले प्रत्यक्ष मार अथकलाई पर्ने अनुमान धेरैको छ । सुरेशकुमार चौधरीको उपस्थितिले अथकलाई असर पा¥यो भने उनको पुनः सिंहदरबार छिर्ने चाहनामा ब्रेक लागी यसको फाइदा नेकपा एमालेका सूर्य ढकाललाई हुन सक्छ । योग्यता, क्षमता, बौद्धिकता, क्रियाशिलता र पार्टी संगठनका हिसाबले सूर्य ढकाल बलियो उम्मेदवार मानिएका छन् । स्थानीय तहमा गठबन्धन र एमालेबीच ठूलो मत अन्तर देखिएता पनि गठबन्धनका उम्मेदवार अथकलाई कमजोर बनाउने केही कारण देखिन्छन् ।
जुन कारण यस प्रकार छन्ः–
१. सुरेशकुमार चौधरी लामो समय माओवादी जनयुद्धमा लागेका व्यक्ति हुन् । माओवादीको माथिल्लो निकायसम्म पुग्न सफल उनी पछिल्लो समय माओवादीसँग रुष्ट भइ कांग्रेसमा प्रवेश गरेका थिए । थारुहरुका मुद्दा पेचिलो बन्दै जान थालेपछि उनी नागरिक उन्मुक्ति पार्टीको जिल्लाको नेतृत्व सम्हाल्न पुगेकाका हुन् । उनीसँगै माओवादी र कांग्रेसमा राजनीति गरेका थारु नेताहरुले उनलाई साथ दिन सक्छन् । अथक माओवादीका नेता भएकोले यो घाटा उनैले बेहोर्नु पर्ने हुन सक्छ ।
२. थारु समुदायको धेरैजसो मत कांग्रेस र माओवादी केन्द्रकै रहेको अनुमान छ । यी मतहरु आफ्नो पक्षमा पार्न सके भने सुरेशकुमार चौधरी प्रतिस्पर्धामा आउन सक्छन् । उनी प्रतिस्पर्धामा आउनु भनेको अथक र सूर्य ढकालबीचको मत अन्तर घट्नु हो । जसको घाटा अथकलाई नै लाग्ने देखिन्छ ।
३. ठूला दलसँग थारु मतदाता रुष्ट देखिन्छन् । प्रमुख दलले थारु मुद्दा सम्बोधन नगरेको भान थारु समुदायलाई परेको छ । यो समुदायका मतदाता यसपालिको निर्वाचनमा आफ्नै समुदायका उम्मेदवारप्रति आकर्षित हुन सक्ने सम्भावना त्यत्तिकै बढ्दो छ । गत स्थानीय तह निर्वाचनको मत परिणामले केही संकेत देखाएको थियो । थारु समुदायका मतहरु संरक्षण गर्न सकेनन् भने बढी घाटा अथकलाई लाग्ने देखिन्छ ।
४. यो क्षेत्रमा कांग्रेसका उम्मेदवार छैनन्अर्थात प्रतिनिधिसभामा रुख चुनाव चिन्ह छैन । आफ्नो चुनाव चिन्ह नै नभएपछि कांग्रेसका मतदातामा कुनै उत्साह देखिँदैन । माओवादी द्वन्द्वकालमा रोल्पा, रुकुम, सल्यान, सुर्खेत, दैलेखलगायतका पीडित कांग्रेसी कार्यकर्ताहरुको बसोबास बाँकेको क्षेत्र नम्बर १ मा नै बढी भएको पाइन्छ । कतिपय पीडितको मत गठबन्धनका उम्मेदवारलाई जाने सम्भावना छैन । नेपाली कांग्रेसको सक्रिय राजनीति गरेका भूम भण्डारी नागरिक उन्मुक्ति पार्टीको प्रदेश उम्मेदवार भएकाले पनि केही मतमा प्रभाव पर्न सक्ने सम्भावना छ । यो घाटा अथकले नै बढी बेहोर्नु पर्ने हुन सक्छ ।
५. खेलकुदमन्त्रीसमेत रहेका अथकले प्रतिनिधि सभा सदस्यमा पुनः तेस्रो पटक दोहोरिन खोजेपछि कांग्रेस र उनकै पार्टीका नेता, कार्यकर्ता रुष्ट देखिन्थे । सांसद र मन्त्री भएका बेला समेत विकासका योजना नल्याएको, कार्यकर्ताको माग सम्बोधन नगरेको, कार्यकर्तासँग भेटघाट नगरेको जस्ता आरोप उनीमाथि लगाएको पाइन्छ । पटकपटक आफू र आफ्नो श्रीमतीले मात्र लाभको पद लिन खोजेको आरोप उनीमाथि छ । यी आरोप चिर्न अथकले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । पार्टी पंति र मतदाताको चित्त बुझाउन सकेनन् भने अथक स्वयम्ले नसोचेको परिणाम आउन सक्छ ।
६. बाँके क्षेत्र नम्बर १ (क) बाट २०७४ को प्रदेशसभा सदस्यमा विजय हासिल गरेकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसी (नमुना) यसपटक प्रतिनिधिसभाको उम्मेदवार बन्न चाहन्थिन् । उनले यसका लागि केन्द्रसम्म पहल गरिन् । पार्टी लाइनमा जनार्दन शर्मा नजिक रहेकी नेतृ कृष्णा केसी (नमुना) लाई टिकट नदिएर वर्षामान पुनको आफन्त रहेका अथकलाई नै पार्टीले पुनः टिकट दियो । यसमा उनले असन्तुष्टि जनाइन् । तर, उनी पुनः बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (क) को उम्मेदवार बनिन् । योग्यता र क्षमताभन्दा पनि पहुँचको भरमा टिकट वितरण गरिएको भन्ने पार्टीभित्रका एकथरि नेता कार्यकर्ताको गुनासोको असर पनि अथकलाई पर्ने अनुमान गरिएको छ ।
७. स्थानीय निर्वाचनमा कांग्रेसले अधिकांश स्थानीय तह जितेको थियो । बाँकेका तीनवटै क्षेत्रमा कांग्रेस पहिलो शक्ति भयो । स्थानीय तहको चुनावी परिणामले कांग्रेसको जिल्ला र क्षेत्रीय नेतृत्वले जस पाएको थियो । कांग्रेसका नेता कार्यकर्ताहरु हौसिएका थिए । संघ वा प्रदेश कतै न कतै जिल्ला वा प्रदेश नेतृत्वले उम्मेदवार बन्ने मौका पाएको भए चुनावी रौनक झनै बढ्न सक्थ्यो तर त्यस्तो हुन सकेन । नेतृत्वले अवसर नपाउनु र कांग्रेसका कार्यकर्तामा उत्साह नआउनुको घाटा अथकलाई नै हुने देखिन्छ ।
८. विगत २०७४ को चुनावमा एमाले र माओवादीको गठबन्धन थियो । ‘निर्वाचनपछि एमाले र माओवादीको एकीकरण हुनेछ’ भन्ने एजेण्डा लिएर एमालेहरु चुनावमा होमिएका थिए । यसपटक यस्तो अवस्था छैन । कांग्रेस र माओवादीको पार्टी एकीकरण हुने सम्भावना नै छैन । अझ भनौं यो कल्पना बाहिरको कुरा हो । सत्ताका लागि गरिएको गठबन्धन भन्ने कुरा कांग्रेस र माओवादीलाई मात्रै होइन अधिकांश मतदातालाई पनि थाहा छ । यस्तो अवस्थामा कांग्रेसी कार्यकर्ताहरु ज्यान पालेर माओवादीको प्रचारप्रसारमा लाग्न सक्ने सम्भावना नै छैन । यो घाटा अथकलाई नै हुने देखिन्छ ।
९. माओवादीबाट नयाँ उम्मेदवार वा कांग्रेसले यो क्षेत्रमा उम्मेदवारी पाएको भए जित हासिल गर्न सजिलो पर्ने
देखिन्थ्यो । अधिकांश मतदातामा देखिएको निरासा र ‘नो नट अगेन’ अर्थात पुरानालाई बहिस्कार गरौं भन्ने देशव्यापी चलेको अभियानले बाँके क्षेत्र नम्बर १ लाई पनि कतै न कतैबाट प्रभाव नपार्ला भन्न सकिँदैन । यदि ‘नो नट अगेन’ को नाराले सार्थकता पायो भने यो नारा अथकको हकमा मात्रै लागु हुने देखिन्छ ।
१०. बाँके क्षेत्र नम्बर १ मा क्रियाशील विभिन्न पार्टी तथा उम्मेदवारको वर्तमान समयसम्मको अवस्थालाई हेर्दा गठबन्धनका उम्मेदवार अथक र नेकपा एमाले तथा राप्रपाका साझा उम्मेदवार सूर्य ढकालका बीचमा नै प्रतिस्पर्धा हुने देखिन्छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इञ्चार्ज सूर्य ढकाल पहिलोपटक चुनावी मैदानमा होमिएकोले पनि मतदाताहरुले उनको बारेमा धेरै गुनासो गरेको सुनिँदैन । पार्टी संकटमा भएको बेला बाँके जिल्लाको पार्टीका गाउँ तहका कमिटीहरुसमेत चलायमान बनाएर पार्टीलाई संकटबाट बचाउन सफल नेताका रूपमा पार्टीभित्र राम्रो प्रभाव भएकोले उनलाई आन्तरिकरुपमा पार्टीबाट अन्तरघात हुनसक्ने सम्भावना कम देखिन्छ । सूर्य ढकालको लोकप्रियता बढ्नु भनेको अथकलाई असर पर्नु हो ।
११. राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका युवा तथा बौद्धिक नेताका रूपमा परिचित सूर्य ढकालको उम्मेदवारी सत्ता र शक्तिमा रहेका अथकका लागि चुनौती बनेर खडा भएको छ । अहिलेका मतदाताले पढेको, युवा, ‘भिजनेवल’, मिलनसार र जनताका हरेक समस्यासँग जुध्न सक्ने नेता खोजिरहेको देखिन्छ ।
सूर्य ढकालको हकमा मतदाताले चाहेका यी गुणहरु रहेकोे भन्ने चर्चा छ । यदि मतदाताले यो चर्चालाई आत्मसाथ गरेभने सूर्य ढकालको मत ह्वात्तै बढ्न सक्छ जसको असर अथकलाई नै पर्ने छ ।
बाँके क्षेत्र नम्बर १ को वस्तुस्थितिलाई मूल्यांकन गर्दा यस क्षेत्रको भूगोल बुझेको नेताको खाँचो देखिन्छ । यस क्षेत्रमा रहेका तीनै तहका समस्या फरकफरक किसिमका छन् । यी समस्यालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो छ । हरेक चुनावमा गर्छु भन्ने तर नगर्ने नेताहरुसँग मतदाताहरु रुष्ट देखिन्छन् ।
यसपटक पार्टीबाट बिरक्तिएका कार्याकर्ताले स्वतन्त्र उम्मेदवारप्रति रुचि देखाउन सक्ने सम्भावना थियो । तर ‘नामका मात्रै स्वतन्त्र उम्मेदवार भए । पद नपाएर रीसले उम्मेदवारी दिएका उम्मेदवार भए । बागी उम्मेदवारलाई कसरी स्वतन्त्र मान्ने ?’ भन्ने आवाज उठेकोले स्वतन्त्र उम्मेदवारलाई जनताको मन जित्न हम्मेहम्मे पर्ने देखिन्छ ।
परिवेश र राजनीतिक परिस्थिति बुझेर पार्टीको नाम नै स्वतन्त्र पार्टी राखेका रवि लामिछानेको पार्टीबाट माओवादी पृष्ठभूमिका उम्मेदवार आनन्दबाबु काफ्ले प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।
उनको प्रभाव कस्तो रहने भन्ने चासो बजार क्षेत्रमा अलिक बढी छ । उनले कुनकुन दलका र के कति मतलाई प्रभावित पार्लान भन्ने प्रश्न कायमै छ । आनन्दबाबु काफ्ले कोहलपुरका हुन् । कोहलपुर बजारका मतदातासँग उनी परिचित भएको भए पनि क्षेत्रफलका आधारमा देशकै ठूलो गाउँपालिका राप्तीसोनारी र कोहलपुरबाट निकै टाढाको दुरीमा रहेको नरैनापुर गाउँपालिकामा आनन्दबाबुलाई प्रभाव छोड्न सजिलो देखिँदैन । माओवादी पृष्ठभूमिबाट आएकोले केही मत माओवादीबाट, आफ्नै चुनाव चिन्ह नभएकोले केही मत कांग्रेसबाट तथा छिटपुट अन्य पार्टीको मत आफ्नो पक्षमा पार्न सफल भए पनि चुनावी प्रतिस्पर्धामा आउन आनन्दबाबुले निकै मिहिनेत गर्नु पर्ने देखिन्छ ।
अन्त्यमा,
बाँकेको क्षेत्र नम्बर १ मा कांग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच झन्डै १५ हजार मत अन्तर छ । यो मत अन्तरलाई घटाउन स्वतन्त्र, स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा माओवादीबाट पीडित कांग्रेसको मत दिए पनि सूर्य ढकाललाई कडा मिहिनेत भने गर्नै पर्ने देखिन्छ । स्थानीय उम्मेदवारका नाताले कोहलपुरका मतदाताले ढकाललाई साथ दिएमा र पूर्वमन्त्रीसमेत रहेका राप्रपाका लोकप्रिय पुराना नेता प्रेमबहादुर भण्डारी अघि सरेमा एमाले–राप्रपाका साझा उम्मेदवार सूर्य ढकाललाई मत अन्तर घटाई जित निकाल्न सहज हुने अनुमान गर्न सकिन्छ ।
चुनाव हो कमजोर उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड, भेद जस्ता राजनीतिक हतियार प्रयोग गर्न सक्ने सम्भावना उत्तिकै छ । मत किनबेचको खेलोबाट बाँके क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरु नगन्नाउन् । मतदान अधिकार हो । यो अधिकारको सहीरुपले प्रयोग हुन सकोस् । जनताको सुखदुःखमा सहभागी हुन सक्ने पढेलेखेको, योग्य र सक्षम जोसजाँगर भएको उम्मेदवार छनोट गर्न बाँके क्षेत्र नम्बर १ का जनता सफल बन्न सकुन् शुभकामना ।