यति बेला स्वीस बैंकमा रहेको नेपाली निक्षेप घटेको देखिन्छ । विप्रेषण आप्रवाह बढेको देखिन्छ । हुन्डीबाट पैसा विदेश पठाउने कार्य पनि कम भएको हुनुपर्छ । बैंकको ब्याजदर उच्च रहे पनि केही हदसम्म तरलता समस्या न्यून भएको देखिन्छ । बजारमा रकम प्रवाह भइरहँदा अर्थतन्त्र चलायमान भएको हो कि भन्ने देखिन्छ ।
तर, अझै पनि बैंकहरूले मागअनुरूपको ऋण प्रवाह गर्न सकेका छैनन् । ट्रेजरी बिलको दर उच्च रहँदा नेप्से परिसूचकमा पनि कुनै सुधार देखिँदैन, बरु कारोबार रकम खुम्चँदो रूपमा देखिन्छ ।
सरकार आफ्नो अवधिको करीब अन्तिम क्षणमा आइरहँदा यहाँ कसैलाई अर्थतन्त्र सकारात्मक भनी प्रमाणित गर्नुपर्ने अवस्था छैन । टिकट वितरण कार्यपश्चात् आफूले लुकाएको कालो धनलाई बजारमा प्रवाह गर्न थालिसकेका नेपाली नेतृत्वले गर्दा यति बेला बजारमा रकम प्रवाह केही बढेको अनुमान छ । हिजो आफ्नो पहुँच हुँदा आफूले लगाइदिएको ठाउँबाट आफ्ना मान्छेबाट होस् या आफ्नै कालो धनलाई यति बेला बजारमा प्रवाह गर्न थालिएको छ ।
अहिले बज्दै गरेको माइक लिएर हिँड्ने रिक्साचालकले प्राप्त गर्ने पारिश्रमिक बैंकको चेकमार्फत वा मोबाइल बैंकिङबाट भएको छैन । उनीहरूलाई सोझै नगद भुक्तानी गरिन्छ । यस समयमा हुने अन्य चुनावी गतिविधिमा उम्मेदवारहरूले बैंकिङ प्रणाली प्रयोग गर्दैनन् । सोझै नगद प्रयोग गर्ने गर्छन् । रिक्साचालकले उक्त रकम लगेर आफ्नो बैंक खातामा राख्ला, त्यो बेग्लै विषय भयो । तर, उम्मेदवारबाट भने प्रत्यक्ष नगदी कारोबार भएको छ ।
यस समयमा अर्थतन्त्रलाई सकारात्मक भनी पुष्टि गराउन भने कोही लागेको छैन । यस समयमा निर्वाचन आयोगले १० अर्ब ५३ करोड, सुरक्षामा १० अर्ब र उम्मेदवारहरूले करीब ३० अर्ब खर्च गर्छन् भनेर हिसाब गर्ने हो भने पनि ५० अर्ब हाराहारीको नगद प्रवाह हुन लागेको बुझ्न सकिन्छ । अदृश्य रूपमा उम्मेदवारहरूले गर्ने खर्च अर्को ठाउँमा छँदै छ ।
मनोनयनकै समयमा लाखौं रकम खर्चने यी उम्मेदवारहरूले प्रचारप्रसारको क्रममा करोडौं खर्च गर्न तत्पर रहेको देख्न सकिन्छ । निर्वाचनमा गरिएको खर्चको रकम आफू पहुँचमा पुग्नासाथ निकाल्नुपर्ने हुन्छ । अर्को चुनावका लागि फेरि पैसा चाहिन्छ । अनि यो चक्र चलिरहन्छ र कालो धन बाहिर रहिरहन्छ । हिजो जस्तो टिशर्ट, टोपी, मोटरसाइकल र्याली, पोस्टर आदिमा खर्च गर्न निर्वाचन आयोगले रोक लगाएकाले यसका लागि हुने खर्च घटेको छ । तर, अदृश्य रूपमा गरिने खर्च भने घटेको छैन ।
चुनावकै बहानामा भए पनि यस समयमा बजारमा रकम प्रवाह भइरहँदा त्यसलाई अर्थतन्त्रको दृष्टिले सकारात्मक रूपमै हेर्नुपर्ने हुन्छ । सबै कालो धन यस समयमा बजारमा आएको होइन । तर, ऋणमा चल्ने अर्थतन्त्रमा कालो धन नै भए पनि बजारमा प्रवाह हुनु पक्कै पनि एउटा राम्रो संकेत हो । भ्रष्टाचार व्याप्त नेपाल जस्तो मुलुकमा यसरी कालो धन सलबलाउनु स्वाभाविक प्रक्रिया पनि हो । हिजो चप्पल लगाएर हिँड्नेहरू आज महँगो चिल्लो गाडीमा हिँड्ने हुँदा कालो धन कुन हदसम्म छ, राज्यको ढुकुटी कुन हदसम्म दुरुपयोग भएको छ भनेर बुझ्न सकिन्छ ।
आफ्नो विलासी आवश्यकता पूरा गर्न लामो समयसम्म सत्तामा रहने अतृप्त भोक सृजना हुन्छ । निर्वाचनमा पैसाको खोलो बगाएर पनि विजय प्राप्त गर्न नेताहरू लागिपर्छन् । यस्तो रकम वैधानिक ढंगबाट जोहो गर्न सकिँदैन, आचारसंहिताका कारण खर्च गर्न पनि पाइँदैन । त्यसैल चोरबाटोबाट रकम जम्मा गर्ने र खर्च गर्ने प्रवृत्ति नेपाली राजनीतिमा व्याप्त छ ।
भारतमा एकाएक १००० को नोट नचल्ने भए पछि त्यसरी लुकाइएको ठूलो मात्राको कालो धन व्यर्थ गएको थियो । सोही डरले पनि होला, अहिले नेपाली मुद्रालाई विदेशमा लगेर बचत र लगानी गर्ने परिपाटी बढ्दो छ । यसो गर्नाले भोलि त्यस्तो अवस्था आइहाले पनि समस्या नपर्ने हुन्छ । चुनावको समयमा यसरी सोही रकम परिचालन हुँदा अर्थतन्त्रलाई सहयोग पुगेको देखिन्छ जुन क्षणिक हो ।
अहिले बजारमा प्रवाह भएको केही रकम शायद यहीँ बस्छ । चुनावी प्रचारप्रसारमा प्रयोग भएको गाडीको भाडा, उक्त गाडी मालिकले यही राख्छन् । तर, त्यहाँ प्रयोग भएको इन्धनबापतको रकम बाहिर नै जान्छ । यसपालि निर्वाचन आयोगले गरेको कडाइका कारण शायद धेरै रकम बाहिर जाँदैन, जसले गर्दा केही हदसम्म तरलता राहत मिल्ने देखिन्छ । तर, अर्को चुनाव अगाडिसम्म अहिले खर्चिएको रकम उठाउन नेतृत्व वर्ग लाग्छ । अर्को चुनावका लागि यो रकम फेरि आवश्यक पर्छ ।
समग्रमा हेर्दा हाम्रो अर्थतन्त्र यस समयमा उत्साहजनक अवस्थामा छैन । विदेशी विनिमय सञ्चिति सुधार गर्न गरिएको प्रयास आयात नियन्त्रण हो । तर, आयात नियन्त्रण मात्र विकल्प होइन । हो, आयात नियन्त्रणका लागि गरिएको प्रयासले केही परिणाम भने सकारात्मक दिएको छ । विप्रेषण आप्रवाह बढेको छ, शोधनान्तर स्थितिमा सुधार आएको छ । तर, यो कत्तिको टिकाउ हुन्छ भन्न सकिँदैन । आयात नियन्त्रणले रकम बाहिरिन केही कम त गरेको छ । तर, यस्तो नियन्त्रणले दिने परिणाम सकारात्मक हुने देखिँदैन ।
निर्वाचनपछि पनि अहिलेकै जस्तो रकम प्रवाह हुन सकेमा अर्थतन्त्रको सुधारले एउटा गति लिने थियो । कालो धन आर्जन गर्नबाट नियन्त्रण त शायद सम्भव नहोला, तर यसरी आर्जित रकम बाहिरिन दिन नसके मात्र पनि राम्रै उपलब्धि प्राप्त हुन्छ । नेपालको अर्थतन्त्र एकदमै अस्थिर रहने गरेको छ । कहिले तरलता निकै बढी हुने त कहिले अभाव भएर समस्या हुने प्रवृत्ति बारम्बार दोहोरिने गरेको छ । किन यसो भइरहेको छ भनेर पर्याप्त अध्ययन भएको पाइँदैन । त्यसैले यसमा सुधार ल्याउन नीति, नियम र अनुशासनमा कडाइ हुँदा सहयोग मिल्ने देखिन्छ ।
रेग्मी बैंकर हुन् ।