बाँके\बाँकेमा हिउँदे सिजनका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै रहेको छ । यो मागको एक तिहाइ मात्रै हो ।
बाँकेमा हालसम्म ९८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख रमेशकुमार पौडेलले जानकारी
दिए ।पौडेलका अनुसार हालसम्म साल्ट ट्रेडिङबाट १३१ दशमलव आठ मेट्रिक टन युरिया मल मात्रै किसानसम्म पुगेको छ ।
साल्ट ट्रेडिङले केही दिनअघि बिक्री सुरु गरे पनि कृषि सामग्री कम्पनी लिमिटेडले सोमबारदेखि सहकारीलाई मल उपलब्ध गराउन सुरु गरेको पौडेलले बताए ।हालसम्मको अवस्था हेर्दा यस पटक पनि बाँकेमा मलको चरम अभाव हुने देखिएको छ ।
मागको ३० प्रतिशत मात्र मल आउँदा सबै किसानले नपाउने अवस्था रहेको छ । व्यक्तिगत प्रयोगका लागि भारतीय बजारबाट मल ल्याउने किसानलाई सहजीकरण गर्न प्रशासनसँग अनुरोध गरिएकाले केही राहत हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । यसैबीच कृषि सामग्रीले कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, खजुरा र नरैनापुर गाउँपालिकाका सहकारी संस्थालाई मल वितरण सुरु गरेको छ । जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका सहकारी संस्थालाई पनि छिट्टै मल वितरण गरिने कृषि सामग्री कम्पनीले जनाएको छ ।
बाँकेमा वार्षिक सात हजार मेट्रिक टन युरिया र दुई हजार पाँच सय मेट्रिक टन डीएपी मलको माग छ । हालसम्म साल्ट ट्रेडिङमा ७०१ मेट्रिक टन मल आएको छ । तर, उक्त मल गहुँ लगाउने बेला उपलब्ध हुने अवस्था नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।साल्ट ट्रेडिङमा हिउँदे सिजनका लागि १७५ मेट्रिक टन डीएपी मलको कोटा रहेकोमा हालसम्म ७७।८५ मेट्रिक टन मात्र आएको छ ।