१० बैशाख २०८२, बुधबार

कर्णालीका उत्पादन विदेशसम्म
  • न्युज मानसराेवर

रासस\भौगोलिक रूपमा विकट मानिने कर्णाली क्षेत्रका कृषि उपजले पछिल्लो समय देशका ठूला शहरदेखि विदेशमा समेत पहुँच पाउने गरेकोछ। जाजरकोट, जुम्ला, डोल्पा लगायत क्षेत्रमा उत्पादन भएका खाद्य वस्तुले स्वदेशका शहरदेखि विदेशसम्म पहुँच पाउन थालेको हो ।

पछिल्लो समय यातायातको व्यवस्था भएसँगै यहाँको अग्र्यानिक उत्पादनले शहरी क्षेत्रमा पहुँच पाएको हो । यहाँको अग्र्यानिक उत्पादनप्रति आकर्षण बढ्दै गएको यहाँका स्थानीय बताउँछन् ।

जाजरकोटका गाउँमा उत्पादित मकै, सिमी, गाभा, सुन्तला, भटमास, अदुवा, लसुन तथा जुम्लामा उत्पादित मार्सी चामल, सिमी र कोदोको माग नेपालगञ्ज, काठमाडौंदेखि अमेरिका र क्यानडासम्म हुन थालेको कृषि विकास कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी टोपेन्द्र विकले जिल्लाबाट १ हजार ६ सय क्विन्टलभन्दा बढी मकै नेपालगञ्ज पठाइएको जानकारी दिए । उनका अनुसार यहाँबाट सुन्तला पाँच टन, लसुन २५० क्विन्टल र भटमास ४०० क्विन्टल नेपालगञ्ज पठाइएको छ ।

त्यस्तै जुम्लामा उत्पादित खाद्यान्न स्वदेशका विभिन्न शहरसहित विदेशसम्म पुग्ने गरेको छ । जुम्ला घर अग्र्यानिक एन्ड सुपर फुड्स प्रालिले यहाँ उत्पादन गरेका कृषि उपज विदेशमा विक्री गरिरहेको छ ।

कम्पनीका सञ्चालक राज शाहीले अघिल्लो वर्ष मात्र जुम्ली मार्सी, सिमी र कोदो गरी झन्डै ३० टन खाद्य सामग्री क्यानडा पठाइएको जानकारी दिए । उनका अनुसार कम्पनीले यस वर्ष एक टन सिमीको दाल, एक टन मासको दाल र दश किलो स्याउको चाना जापान पठाएको छ ।
गतवर्ष अस्ट्रेलियामा झन्डै २५ टन मार्सी चामल र सिमी पनि निर्यात गरिएको उनले बताए । कम्पनीले स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पीठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो, टिमुरलगायत सामग्री निकासी गर्दै आएको छ । जुम्ला घर अर्गानिक्सले अमेरिकामा दुई वर्षदेखि मार्सी चामल पठाइरहेको छ भने गतवर्ष मात्रै ४० क्विन्टल मार्सी चामल पठाइएको शाहीले बताए ।

खलङ्गास्थित चन्दननाथ सहकारीले पनि स्थानीय उत्पादन संकलन गरेर काठमाडौंसम्म पठाउने काम गरिरहेको छ । गतवर्ष हिमालयन बहुउद्देश्यीय सहकारीले करीब ३० टन स्याउ बंगलादेश पठाएको थियो ।

जुम्लामा २ हजार ८५० हेक्टरमा मार्सी धान लगाइन्छ भने वार्षिक उत्पादन ६ हजार १२७ टन हुन्छ । यस वर्ष चिनो ६५ टन, कागुनो १५ टन र सिमी ४७१ टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।

कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाका अनुसार डोल्पामा उत्पादन भएका चिनो, काकुनो, जिम्बु, स्याउ, फापर, ओखर, सिमी बाहिर जिल्लासम्म पठाउने गरिएको छ । चालू आर्थिक वर्षमा खाद्यान्न खरीदका लागि धेरै व्यक्ति डोल्पा आएका उनले बताए ।

उनका अनुसार अघिल्लो वर्ष डोल्पाबाट पाँच टन फापर सुर्खेत, नेपालगञ्ज र काठमाडौं पठाइएको थियो । साथै सिमी २० टन, ओखर र स्याउ २० टन जिल्लाबाट बाहिर पठाइएको उनले बताए ।

  • २७ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech