८ मंसिर २०८१, शनिबार

‘विदेशी पर्यटकको बसाइ लम्ब्याउन स्थानीयसहित सबै पक्षको सहकार्य आवश्यक’
  • रासस

बाँके\लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकको बसाइँ अवधि लम्ब्याउने कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ ।

लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ को अवसरमा भैरहवामा आज आयोजित लुम्बिनीको पर्यटन प्रवर्द्धन विषयक अन्तर्क्रिया कार्यक्रममा पर्यटकको बसाइ अवधि लम्ब्याउने कार्यक्रम बनाएर सञ्चालन गर्न सकिए लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताइएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले भने, ‘लुम्बिनी घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्बाउन पर्यटन क्षेत्रको संवर्द्धन सबै पक्ष र स्थानीयवासीले समेत सहकार्य गरेर अगाडि बढ्न जरुरी छ ।’

कोषाध्यक्ष भट्टराईले भारतीय पर्यटक अथवा स्थल मार्गबाट नेपाल आउने भारत तथा तेस्रो मुलुकका पर्यटकको भ्रमण प्याकेज बनाउने काममा नेपाली पर्यटन व्यवसायी पनि सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।

‘लुम्बिनी घुम्न आउने पर्यटकको भ्रमण प्याकेज भारतीय पर्यटन व्यवसायीले बनाउँछन् अनि उनीहरूले दिनभर घुमाएर साँझ उतै भारततर्फ फर्काउने प्याकेज बनाउँछन्,’ उनले भने, ‘पर्यटकको लुम्बिनीमा बसाइ लम्ब्याउने गरी नेपाली पर्यटन व्यवसायीले भ्रमण प्याकेज अन्तरराष्ट्रिय बजारमा लैजानु जरुरी छ ।’

होटल एशोसिएशन नेपालका केन्द्रीय सदस्य सिपी श्रेष्ठले पर्यटकको बसाइ लम्ब्याउन सरकारी नीति नै सच्चाउनुपर्ने भन्दै सुशासनसहित सबैले काम गरेमा पर्यटक खुसी हुने, उनीहरू खुसी भए खर्च धेरै गर्ने र बसाइ पनि लम्ब्याउन सकिने बताए ।

नेपाल एशोसिएशन अफ ट्राभल्स एन्ड टुर एजेण्ट (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले पर्यटन क्षेत्रको लागि सबैको सहकार्य र एकता जरुरी रहेको बताइन् । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले पर्यटन प्रवर्द्धनको लागि सरकारले पूर्वाधार बनाउने र निजी क्षेत्रले सहकार्य गरेर पर्यटकलाई सेवा दिने काम गर्नुपर्ने बताए ।

पर्यटनविद् डा. हरिध्वज राईले लुम्बिनी आउने पर्यटकको बसाइ लम्बाउन नसक्दासम्म लाखौं पर्यटक आए, लाखौं पर्यटक गए भनेर प्रचार गर्नुको खासै अर्थ नहुने बताए । ‘लुक्लामा एकजना पर्यटन व्यवसायीले मासिक रू. १७/१८ लाख आम्दानी गरिरहेका छन् । त्यहाँ पर्यटकको संख्या कम भए तापनि गुणस्तरीय पर्यटक पुगेका छन्,’ उनले भने, ‘हामीकहाँ एक दिन पनि नबस्ने भीड छ । त्यसले पर्यटन प्रवर्द्धनमा उल्लेख्य सहयोग गर्दैन ।’

अन्तर्क्रिया कार्यक्रममा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका निमित्त प्रमुख सुभाष झाले अन्तरराष्ट्रिय जहाजको लागि फुलफेजमा उडान गर्ने गरी विमानस्थल तयार भएको बताए । उनले सबै एअरलाइन्सले उडान भर्ने वातवरण सृजना गर्न सबैको सहकार्य जरुरी रहेको बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले पर्यटन व्यवसाय एक्लै गरेर नहुने बताउँदै सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

  • २८ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech