७ फाल्गुन २०८१, बुधबार

शून्य अवस्थामा पुग्यो कोरोना संक्रमण
  • न्युज मानसराेवर

बाँके\सरकारले कोरोना संक्रमण घट्दै गएपछि तीन महिनादेखि खोप ल्याउन छाडेको छ। संक्रमण घट्दै गएको र ठूलो संख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो।

कोरोना संक्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए। कोरोना संक्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको संख्या कम हुनु र नेपालमा ठूलो संख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो। अहिले संक्रमण दर एक प्रतिशतभन्दा पनि कम रहेको उनले बताए। १ पुसमा ८४६ जनाको परीक्षण गर्दा एक जनामा पनि संक्रमण देखिएन।

उनका अनुसार अन्तिम पटक २७ भदौमा कोभ्याक्समार्फत १४ लाख ९९ हजार ९० मात्रा खोप ल्याइएको छ। त्यसयता सरकारले खोप ल्याएको छैन।‘अहिले प्रदेश र जिल्लाबाट खोपको माग भएको छैन। माग नभएपछि त्यत्तिकै राख्नुपर्दछ भनेर हामीले खोप ल्याएका छैनौं’, उनले भने, ‘तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौं।’

उनले खोपको माग कम भएपछि खोप नल्याइएको बताए। ‘नेपाल ल्याएर खपत नहुने र म्याद सकिने डरले सम्झौता गरेको खोप पनि अहिले ल्याएका छैनौं’, उनले भने, ‘आवश्यकताअनुसार सम्झौता गरिएको खोप ल्याउँछौं।’ सम्झौता गरिएमध्ये दुई पटक गरेर ३७ लाख मात्रा खोप भने नेपाल आइसकेको छ।

ल्याइँदै बुस्टर डोजको खोप

सरकारले बुस्टर डोजका लागि खोप ल्याउने तयारी गरेको छ। पहिलो र दोस्रो मात्रा लगाएका लागि थप मात्रा लगाउन खोप ल्याउन थालेको आपूर्ति व्यवस्थापन शाखा प्रमुख चौरसियाले बताए।

नेपालमा कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न पहिलो पटक भारतबाट ८ माघ २०७७ मा १० लाख मात्रा खोप ल्याइएको थियो। त्यसपछि पटक–पटक गरी अहिलेसम्म ६ करोड ३२ लाख ७६ हजार ७१० मात्रा खोप आइसकेको छ।

नेपालमा कोभिसिल्ड, भेरोसेल, मोर्डना, एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सन र फाइजरलगायतका कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ।

नेपालले आफैं खरिद गरेर, दातृ निकायबाट अनुदान र कोभ्याक्स सुविधामार्फत कोरोना भाइरसविरुद्ध खोप ल्याएको छ। उनका अनुसार ४९ लाख २१ हजार ६ सय ३२ मात्रा खोप मौज्दात छ। सबभन्दा बढी भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात रहेको छ।

यस्तै फाइजर ६० हजार सात सय ५६ मात्रा, फाइजर (बालबालिका)लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात रहेको छ। सबभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात रहेको छ। नेपालमा कुल लक्षित जनसंख्यामध्ये ९९.५ प्रतिशतमा पहिलो मात्रा र ९५.७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकिएको छ। यस्तै कूल जनसङ्ख्याको ७९.५ प्रतिशत पहिलो मात्राले ७६.५ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका छन्।

  • २ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech