बाँके\ सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरअन्तर्गतका चारवटा शाखा नहरको निर्माण सम्पन्न भएको छ । पूर्वी नहरमा पर्ने फत्तेपुर, राजकुलोका साथै एस एकदेखि एस फोरसम्म गरी छवटा शाखा नहरमध्ये फत्तेपुर, राजकुलो, एस दुई र एस फोरको निर्माण सकिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विशाल यादवले जानकारी दिएका छन। उनका अनुसार दुईओटा शाखा नहरको भने काम बाँकी नै छ । अहिले सिक्टाको पूर्वी नहरको फत्तेपुर २४ किलोमिटरसम्म पानी छोडिएको छ ।पूर्वी नहर खण्डको ३७ किलोमिटरसम्ममा ठेक्का लागेर निर्माणाधीन अवस्थामा रहेको यादवले जानकारी गराएका छन।उक्त खण्डको भौतिक प्रगति करिब ९० प्रतिशत रहेको छ ।
निर्माण सक्नुपर्ने म्याद भने आगामी माघ २९ सम्म रहेको छ ।निर्धारित समयमा काम पूरा हुने अवस्था नदेखिएको आयोजनाले जनाएको छ । पूर्वी नहर निर्माणका लागि २०७४ साल भदौ ९ गते कालीका–कुमार जेभिसँग तीन अर्ब ३० करोड २१ लाख ३९ हजार ५१९ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । अहिले फत्तेपुरसम्मको करिब दुई हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको इन्जिनियर यादवले भनेका छन ।उनका अनुसार पूर्वी मूल नहरको राजकुलो सिँचाइ प्रणालीमा २०७६ सालदेखि नै पानी सञ्चालन भइरहेको छ । उक्त प्रणालीबाट एक हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।
सिक्टा सिँचाइ आयोजनाले पश्चिमी मूल नहर र शाखा नहरबाट पश्चिमतर्फ करिब १६ हजार हेक्टर क्षेत्रफलमा पानी पुगेको जनाउँदै आएको छ तर नहरमा ठाउँठाउँमा कमजोर निर्माण भएकाले उक्त खण्डको प्रभावकारितामा पटक पटक प्रश्न उठिरहेको छ ।
सिक्टा सिँचाइ आयोजनाबाट पश्चिममा ३३ हजार ७६६ र पूर्वमा नौ हजार हेक्टर गरी जम्मा ४२ हजार ७६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु-याउने लक्ष्य रहेको छ । सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरअन्तर्गत नरैनापुर क्षेत्रमा विस्तार गर्नुपर्ने नहरको सर्वेक्षणको काम पनि तीन वर्षपछि फेरि अगाडि बढेको आयोजनाले जनाएको छ ।
नहर निर्माण हुने क्षेत्रको जग्गालाई लिएर स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेपछि नहर सर्वेक्षणको काम रोकिएको थियो ।अहिले गाउँपालिका र जनप्रतिनिधिको पहलमा स्थानीयको अवरोध हटेको आयोजनाका इन्जिनियर यादवले जानकारी गराए ।