८ असार २०८२, आईतवार

बाँकेमा स्थानीयलाई विद्युतीय आगलागी नियन्त्रण गर्न सिकाइँदै
  • न्युज मानसराेवर

बाँके\चेतनाको अभावले नेपालगञ्जमा घरेलु र विद्युतीय आगलागीको जोखिम अत्यधिक बढेपछि बाँकेको टोल टोलमा आगलागी नियन्त्रण गर्ने तरिका सिकाउन थालेको छ ।   स्थानीयलाई घरेलु र विद्युतीय आगलागी नियन्त्रण गर्ने तरिका सिकाउने अभियानको सुरुवात वडा ३ र ७ बाट एकै पटक सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोग र सीडीएमको सहभागितामा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना अन्तर्गत आगलागी जोखिम कम गर्ने अभियान सुरु गरिएको परियोजनाका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले  जानकारी गराएका छन।

वडा ३ र ७ का १० स्थानमा घरेलु र विद्युतीय आगलागी हुँदा कसरी नियन्त्रणमा लिने भन्ने बारेमा स्थानीयलाई सिकाइएको जनाउँदै सो क्रममा स्थानीयको सक्रिय सहभागिता र चासो देखिएको ज्ञवालीले बताए ।उनका अनुसार ती स्थानमा घरेलु आगलागीका घटना कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा अभिमुखीकरणसँगै कृत्रिम घटना अभ्यास पनि गराइएको छ ।

ग्यास सिलिण्डर र चुलोमा हुने आगलागी, विद्युत सर्ट भएर लाग्ने आगो, तारहरूको व्यवस्थापनलगायतका विषयमा स्थानीय महिला र पुरुषलाई अभ्यासमा सरिक गराएर कृत्रिम अभ्यास गराइएको नेपालगञ्ज उपमहानगरका विपत् समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंहले  भनेका छन।‘आगलागी भएपछि हामीहरू आत्तिन्छौँ, त्यसले पनि धेरै क्षति हुनेगरेको अवस्था छ ।

तर, आजको सिकाइबाट नआत्तिएर सावधानीपूर्वक आगो नियन्त्रणमा लिन सकिन्छ भन्ने मनोबल बढेको छ’ फरहिनले भनेका छन।अर्का स्थानीय अनिता तिवारीले सो अभियानले गर्दा घरेलु आगलागी नियन्त्रणका विषयमा धेरै नयाँ कुरा सिकिएको बताए । कृत्रिम घटना अभ्यासमा सहभागी भएर घरेलु आगलागी नियन्त्रण गर्ने तरिका सिक्दासिक्दै डर त्यसै हराएर गएको तिवारीको अनुभव रहेको छ । अभिमुखीकरण र कृत्रिम अभ्यासमा सहभागी अधिकांश स्थानीय महिला र पुरुषले कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन।

  • १३ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech