पर्यटन उद्योग, निर्यात व्यापार, वैदेशिक रोजगार, अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुने द्विपक्षीय र बहुपक्षीय ऋण तथा अनुदान सहयोग वैदेशिक मुद्रा आर्जन गर्ने स्रोत हुन्। नेपालको निर्यात व्यापारमा निम्न मूल्यका वस्तु र कम परिमाण भएकोले पर्याप्त वैदेशिक मुद्रा आर्जन भएको छैन। निर्यातको तुलनामा आयातको मूल्य र परिमाण दुवै बढी भएकोले व्यापार सन्तुलन हाल घाटाको अवस्थामा छ। बाह्य ऋण, अनुदान र वैदेशिक रोजगारलाई विश्वसनीय वैदेशिक मुद्रा आर्जनको स्रोतका रूपमा लिन सकिँदैन। नेपालको यस पृष्ठभूमिमा तुलनात्मक लाभको पर्यटन क्षेत्रलाई वैदेशिक मुद्रा आर्जनको एक प्रभावकारी माध्यम बनाउन सकिने पर्याप्त सम्भावना छन्।
विश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिशत र एसिया महादेशको ०.३ प्रतिशत भूभाग ओगटेको नेपाल उत्तरी गोलाद्र्धमा अवस्थित दक्षिण एसियाको सुन्दर देश हो। नेपालको भौगोलिक र वातावरणीय विविधता, विश्वको सर्वोच्च शिखर सगरमाथा र अन्य हिमशृङ्खला,
प्रसिद्ध धार्मिक स्थल, आधुनिक सहर र सहर उन्मुख साना बजार, परम्परागत ग्रामीण बस्ती, विभिन्न जनजाति र उनीहरूका मौलिक भाषा सस्ंकृति, ऐतिहासिक तथा कलात्मक भवन र मूर्तिहरू, सदाबहार स्वच्छ हिमनदी र तालतलैया, विश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रिय निकुञ्ज र सांस्कृतिक सम्पदा, जैविक विविधता, पहाडका भञ्ज्याङ र गढी, ग्रामीण क्षेत्रमा विकास भइरहेको घरबास व्यवस्था र अतिथि संस्कारको विशिष्ट परम्परा आदि नेपाललाई विश्व पर्यटन बजारमा चिनाउने महत्वपूर्ण आकर्षण हुन्।
नेपाल समुद्र सतहबाट ५९ मिटरको उचाइदेखि ८८४८.८६ मिटरको उचाइमा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथासम्म फैलिएको छ। विश्वका १४ ओटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये आठवटा (सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, मनास्लु र अन्नपूर्ण) नेपालमै छन्। नेपालमा सन् १९४९ देखि हिमाल आरोहण खुला गरिएको हो। सर्वप्रथम सन् १९५० मा फ्रेन्च दलले अन्नपूर्ण हिमाल आरोहण गरेको थियो। पर्वतारोहण पर्यटन नेपालको एक प्रमुख साहसिक पर्यटनको क्षेत्र हो। हिमाल आरोहण विशेष गरेर सगरमाथाको सफल आरोहण व्यक्तिको मात्र नभई सम्बन्धित राष्ट्रको प्रतिष्ठाको विषय हो। सर्वप्रथम सन् १९५३ को मे २९ मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। मो २९ लाई सगरमाथा दिवसका रूपमा मनाइन्छ।
सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला जापानकी जुनको ताबेइ हुन्। उनले मे १६, १९७५ मा सगरमाथा आरोहण गरेकी हुन्। जापानका एक ८० वर्षे पुरुष युइचिरोम्युराले पनि सगरमाथा आरोहण गरेका थिए। सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्यामु शेर्पा हुन्। उनले २२ अप्रिल १९९३ (वि.सं. २०५० वैशाख १०) मा ३२ वर्षको उमेरमा सगरमाथा आरोहण गरेकी थिइन्। सन् १९५३ देखि २०२१ सम्ममा ६०१४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विश्वप्रसिद्ध हिमाल आरोही शेर्पा जातिले हिमाल आरोहणको धेरै कृतिमान कायम गरी अन्य स्वदेशी र विदेशी पर्वतारोहीलाई हिमाल आरोहणको प्रेरणा दिएका छन्।
यसैगरी, पदयात्रा पनि नेपालको पर्यटकीय सम्भावनाको क्षेत्र हो। अग्ला डाँडा, नदी र हरियालीको प्राकृतिक सुन्दरता दृश्यावलोकन गर्दै पदयात्रा गर्नका लागि नेपालको भूभाग एक उत्कृष्ट गन्तव्यको रूपमा मानिन्छ। सगरमाथा आधार शिविर, लामटाङ आधार शिविर, अन्नपूर्ण आधार शिविर र कञ्चनजङ्घा, गोसाइकुण्ड, मनाङ मुस्ताङजस्ता पदमार्ग नेपालका प्रमुख पर्यटकीय आकर्षण हुन्। यी स्थानबाट देखिने हिमशृङ्खला, वनजङ्गल भीर पाखा र सुन्दर मानव बस्ती पर्यटकीय आकर्षण हुन्। जल यातायात पर्यटन विकासको अर्को एक सम्भावनाको क्षेत्र हो। नेपालमा सुन्दर ताल र नदीहरू छन्। नदी तथा ताल वरपरको दृश्यावलोकन गर्दै जलयात्रा गर्न साहसिक पर्यटक अत्यन्तै मन पराउँछन्। कालीगण्डकी, अरूण, कर्णाली, तामाकोसी, भेरी, भोटेकोसी, मस्र्याङ्दी, त्रिशूलीजस्ता नदी जलयात्राका लागि अनुकूल छन्। कालीगण्डकी, मस्र्याङ्दी र त्रिशूली नदीमा सघन जलयात्रा भइरहेको छ। यसका साथै तालको जल यातायातले पर्यटकलाई थप मनोरञ्जन दिन्छ।
पवित्र धार्मिक स्थलको अवस्थितिले नेपाल तीर्थयात्रीको आकर्षक गन्तव्य हो। नेपालमा विभिन्न मठमन्दिर गुम्बा तथा विहार र मस्जिद छन्। धार्मिक पर्यटनको दृष्टिकोणले पूर्वमा ताप्लेजुङको पाथीभारा देखि पश्चिममा कञ्चनपुरको सिद्धनाथ मन्दिरसम्म विभिन्न धार्मिक स्थल छन्।
सांस्कृतिक पर्यटनको दृष्टिले पनि नेपाल प्रमुख पर्यटकीय गन्तव्य हो। नेपालको सरकारी तथ्याङ्कअनुसार नेपालमा १२५ जनजाति र १२३ मातृभाषा बोल्ने मानिस छन्। तिनीहरूका आफ्नै मौलिक संस्कृतिका चाड पर्व छन्। नेपालमा वैशाख १ गते नयाँ वर्ष मनाइन्छ। बुद्ध जयन्तीलाई धार्मिक मात्र नभई सांस्कृतिक पर्वको रूपमा समेत लिइन्छ। यस पर्वमा स्वयम्भू, बौद्ध र लुम्बिनीमा ठूलो मेला लाग्छ। कृष्ण जन्माष्टमी र तीज महिलाले विशेष नाचगानका साथ मनाउँछन्। बडादशैँ घटस्थापनादेखि पूर्र्णिमासम्म मनाइन्छ। ल्होसार अर्को एक पर्व हो। गुरुङले पौष १५ गते मनाउने ल्होसारलाई तमु ल्होसार, तामाङले माघ शुक्ल प्रतिपदामा मनाउनेलाई सोनाम ल्होसार र शेर्पाले फल्गुण शुक्ल प्रतिपदाको दिन मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ। मुसलवानको ठूलो चाड इद हो। कर्णली र सुदूरपश्चिममा मनाइने गौरापर्व अर्को एक महत्वपूर्ण पर्व हो। बढी पर्यटक आउने मौसममा नेपालका धेरैजसो चाडपर्व पर्छन्।
विभिन्न नाच पनि नेपालका पर्यटकीय आकर्षण हुन्। नेवार जातिको कार्तिक नाच, गुरुङ र मगरको सोरठी नाच, राईको चण्डी नाच, थारू जातिको तिनमासा नाच, मगरको मारुनी नाँच, लिम्बूको धान नाँच, भोटे र शेर्पाजातिको स्याब्रु नाँच, सुुदूरपश्चिम प्रदेशको देउडा नाँच, मैथली समुदायको झुला पर्व, घर तथा मन्दिरमा गरिने भजनकिर्तन नाचगान र गाईजात्रा, इन्द्रजात्रा, घोडे जात्रा, विस्केट जात्रा नेपाली समाजका मनोरञ्जनका आकर्षण हुन्। माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रको संस्कृति र त्यस क्षेत्रमा रहेका गुफाहरूले प्राचीन मानव सभ्यतालाई दर्शाउँछन्। मुस्ताङको मार्फा र कागबेनी क्षेत्र थकाली संस्कृतिको पहिचानको रूपमा लिइन्छ। सगरमाथाको खुम्बु क्षेत्रमा विश्व प्रसिद्ध हिमाल आरोही शेर्पा जातिको सांस्कृतिक परम्पराको मौलिक विशेषता छ। नेपाली नाचगान र जात्रामा विदेशी पर्यटकको रुचि बढेको छ।
नेपालको उत्तर दक्षिण चौडाइ १९३ कि. मि. छ जहाँ तीन प्रकारको भौगोलिक र वातावरणीय विविधता छ। नेपालमा लगाइने वेषभूषा पनि फरकफरक छन्। हिमाली प्रदेशमा बाक्ला कपडा लगाइन्छ भने तराईमा पातला कपडा लगाइन्छ, पहाडी क्षेत्रमा मध्ययम खालका कपडा लगाइन्छ।
नेपाली कलाको गौरवमय इतिहास प्राचीन, विशाल र मौलिक प्रकारको छ। कलाकारले नेपाली कलाको नमुना विश्वसामु चिनाउने कलात्मक सिर्जना गरी महत्वपूर्ण योगदान दिएका छन्। यहाँका घर र मन्दिरको निर्माण शैली अति कलात्मक छ। काठमाडौँ उपत्यका आफैँमा नेपाली कलाको एक उत्कृष्ट नमुना हो। तीलौराकोट क्षेत्रमा उत्खनन गर्दा नेपाली कलाको इतिहास भेटिन्छ। प्यागोडा शैलीका घर र मन्दिर वास्तुकलाका नमुना हुन्। कैलाशकुट दरबारको बयान एक चिनियाँ यात्रीले गरेका थिए। नुवाकोटको नौ तले दरबार, वसन्तपुर र गोरखा दरबार नेपाली वास्तुकलाका उदाहरण हुन्। आकर्षक नेपाली कलाको प्रचार अन्तर्राष्ट्रिय क्षेत्रमै पुगेको थियो। भृकुटीले तिब्बतमा बुद्धको मूर्ति लगेको इतिहास छ। ग्रामीण पर्यटन अर्को सम्भावनाको क्षेत्र हो। ग्रामीण तथा दुर्गम क्षेत्रका विभिन्न स्थानमा पर्यटक घुमफिर गर्ने क्रम बढेको छ। दुर्गम बस्तीका सुन्दर हरियाली, परम्परागत नेपाली खानपिन र वेषभूषा पर्यटकीय आकर्षण हुन्। औद्योगिकीकरण र सहरीकरणको भीडभाडमा रहेका पर्यटकले सुन्दर, शान्त र एकान्त ग्रामीण परिवेश मन पराउँछन्। नेपालमा पनि घरबास सेवा विस्तार भइरहेको छ। पर्यटनको विकासबाट ग्रामीण क्षेत्रको आर्थिक विकासमा समेत योगदान पुग्ने देखिन्छ। गण्डकी प्रदेशमा घरबास सेवा अन्य प्रदेशको तुलनामा बढी विस्तार भएको छ। घरवास पर्यटनको इतिहास स्याङ्जाको सिरुबारीले स्थापित गरेको छ। नेपालको पहिलो घरबास पर्यटन सिरुबारीबाट नै सुरु भएको हो।
नेपालको जैविक विविधताका कारण पर्यापर्यटनलाई पर्यटन विकासको माध्यम बनाउन सकिन्छ। यसलाई ग्रामीण दुर्गम बस्तीसम्म विस्तार गर्न आवश्यक छ। नेपालले पर्यापर्यटनलाई शून्य कार्बन पर्यटनको रूपमा विकास गर्नका लागि होटल तथा लजमा कार्बन उत्सर्जन हुने कोइला, दाउरा र ग्यासको प्रयोगको सट्टा जलविद्युत् र सौर्य ऊर्जाको उपयोगमा जोड दिनुपर्छ। फलस्वरूप जलवायु परिवर्तनबाट प्रभावित विदेशी पर्यटकले नेपालको बसाइ लम्ब्याउन सकिनेछ। नेपाल सरकारको तथ्याङ्कअनुसार, सन् २०२१ मा नेपाल घुम्न आएका पर्यटकमध्ये ६६.८ प्रतिशत बिदा, मनोरञ्जन र भ्रमणका लागि, १०.३ प्रतिशत पर्वतारोहण, पदयात्राजस्ता साहसिक यात्रामा, ७.४ प्रतिशत तीर्थ यात्रामा र १५.५ प्रतिशत व्यापारलगायत अन्य विविध उद्देश्यले नेपाल भ्रमणमा आएका थिए। यस अवधिमा विदेशी पर्यटकबाट रु. १३ अर्ब ५० करोड ११ लाख आम्दानी प्राप्त भएको छ।