२७ जेष्ठ २०८२, सोमबार

बादशाह कुर्मीको शपथ रोक्न निवेदन, प्रदेश प्रमुखले गृहमन्त्रालयलाई भने- आवश्यक कारबाही गर्नु
  • न्युज मानसराेवर

बाँके\बाँके क्षेत्र नम्बर ३ को प्रदेश सभा २ बाट निर्वाचित बादशाह कुर्मी शपथ नगराउन लुम्बिनी प्रदेश प्रमुखसमक्ष निवेदन परेको छ ।महिला अधिकार मञ्च बाँकेले नेपाली कांग्रेसबाट निर्वाचित बादशाहलाई शपथ नगराउन प्रदेश प्रमुख अमिक सेरचन समक्ष उजुरी दिएको
हो । प्रदेश सांसद निर्वाचित बादशाहमाथि नेपालगञ्ज उपमहानगरपालिका–१७ बस्ने निर्मला कुर्मी र नकुन्नी धोवीको अपहरण तथा हत्या गरेको आरोप छ ।अधिकारकर्मी रुबि खान सहितले निर्मला कुर्मीले न्याय पाउनु पर्ने माग सहित ०७८ असोजमा नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका थिए । त्यसपछि सरकारले निर्मला कुर्मी हत्या छानबिन गर्न गृहमन्त्रालयका सचिव हिरालाल रेग्मीको नेतृत्वमा छानविन समीति बनाएको थियो ।

समितिले १४ कात्तिक ०७८ मा बादशाह कुर्मी दोषी देखिएकाले उनीमाथि अनुसन्धान गर्नुपर्ने निक्र्योल सहितको प्रतिवेदन तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको थियो । यो प्रतिवेदनपछि बादशाह सहित ८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी समेत परेको छ । सांसद कुर्मी भने भदौ ०७८ देखि नै हाजिरी जमानीमा छन् ।

मन्त्रालयको छानबिन समितिले नै छानबिन गर्नु भनेका बादशाहलाई नेपाली कांग्रेसले प्रदेश सभामा उठायो । ‘बादशाहको उम्मेदवारी नै खारेज गर्नुपर्छ, उनी विरुद्ध मुद्दा छ भनेर हामीले जिल्ला निर्वाचन कार्यालय बाँकेमा समेत उजुरी दिएका थियौं,’ अधिकारर्मी रुबी खानले भनिन्, ‘तर, सुनुवाइ नै भएन ।’

बादशाहको शपथ रोक्न प्रदेश प्रमुख समक्ष उजुरी परेपछि प्रदेश प्रमुख अमिक शेरचनले गृह मन्त्रालयलाई पत्राचार गरेका छन् । बादशाह कुर्मीको शपथ रोक्न निवेदन आएको हुँदा आवश्यक कारबाही गरिदिन अनुरोध गर्दै प्रदेश प्रमुखले गृह मन्त्री रवि लामिछानेलाई पत्र पठाएका छन् । ‘प्रदेश प्रमुखले हामीले केही गर्न मिल्दैन भन्दै यो विषय गृहमन्त्रालयमा पठाउनु भएको छ,’ अधिकारर्मी खानले भनिन् ।

०६४ मा संविधानसभा सदस्य समते रहिसकेका बादशाह कुर्मीले १३ हजार ४५० मत सहित प्रदेशसभा सांसद जितेका हुन् । यो घटनामा अहिले पनि प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले अनुसन्धान गरिरहेको छ । मन्त्रालयको छानविनले बादशाहमाथि छानबिन गर्नु पर्ने औंल्याएको थियो । बादशाह मृतक निर्मला र नकुन्नी धोवीका छिमेकी हुन् । बादशाहको शपथ नरोकिए आन्दोलन गर्ने चेतावनी अधिकारकर्मीहरुले दिएका छन् ।

  • १४ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech