२७ जेष्ठ २०८२, सोमबार

बाँकेमा तीन महिनापछि भेटिए कोभिड सङ्क्रमित बिरामी
  • न्युज मानसराेवर

बाँके\बाँकेमा करिब तीन महिनापछि कोभिड सङ्क्रमित बिरामी भेटिएका छन् । नेपालगञ्जको जमूनाह नाका परीक्षणकाक्रममा भारतबाट फर्कदैंगरेकी जाजरकोटकी ३० बर्षीया महिलामा कोभिड सङ्क्रमण देखिएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति तेज वलीका अनुसार असोज १ गतदेखि बाँकेमा कोभिड–१९ का सङ्क्रमित फेला परेका थिएनन् ।कोभिड सङ्क्रमण रोकिएपछि सीमामा स्वास्थ्य परीक्षण हुन छाडेकोमा पछिल्ला केही दिनदेखि फेरि स्वास्थ्य परीक्षणमा ध्यान दिन थालिएको छ । तीन महिनापछि कोभिड सङ्क्रमित बिरामी भेटिएपछि जिल्ला कोभिड –१९ व्यवस्थापन केन्द्रको बैठक बिहीबार बसेको छ ।

बैठकमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि ठोस र प्रभावकारी कदम चाल्ने निर्णय भएको छ । सीमा नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गर्ने निर्णय गर्दै बैठकले स्वास्थ्य मापदण्ड पालनाका लागि आम नागरिकमा आग्रह गरेको छ ।

“जिल्लामा कोभिडको बुस्टर डोज अभाव भएकाले केन्द्रमा माग गर्ने निर्णय भएको छ” , जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति वलीले भनेका छन।“आम नागरिकमा समेत सचेतना अपनाउन अपिल गरिएको छ ।”  स्थानीय तहहरूले समेत स्थानीयस्तरमा कोभिडविरुद्धको सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र स्वास्थ्य मापदण्ड पालनाका लागि अभियान सञ्चालन गर्ने भएका छन् ।

  • १५ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech