८ असार २०८२, आईतवार

वैदेशिक लगानी फिर्ताको सन्देश
  • न्युज मानसराेवर

मुलुकको आर्थिक रूपान्तरणका लागि प्रत्यक्ष वैदेशिक लगानी अत्यावश्यक मानी त्यसका लागि नेपालले पहल गरिरहे पनि मुलुकबाट यस्तो लगानी फिर्ता जाने क्रम बढेको छ । चालू आवको पहिलो ४ महीनामा १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ वैदेशिक लगानी फिर्ता भएको छ । यही अवधिमा २ अर्ब २३ करोड रुपैयाँ लगानी भित्रिएको छ । मुलुकमा भित्रिएको लगानी र बाहिरिएको लगानीको आँकडा हेर्दा वैदेशिक लगानीका बारेमा नेपालले धेरै कुरा गर्न नसकेको देखिन्छ । मूलतः यसरी वैदेशिक लगानी बाहिरिँदा मुख्य दुईओटा सन्देश जाने देखिन्छ: पहिलो नेपालमा लगानीको वातावरण छैन, दोस्रो नेपालबाट लगानी फिर्ता लैजान सजिलो छ ।

भारतको मणिपाल समूहले नेपालमा मेडिकल कलेज सञ्चालन गरेको थियो । तर, उसले सोचेजस्तो नभएपछि कलेज बेचेर उसले लगानी फिर्ता लगेको हो । यही समूहले नेपालभन्दा पछि अन्य देशमा यही क्षेत्रमा गरेको लगानी भने फिर्ता लगेको छैन । यसले नेपालमा वैदेशिक लगानी नआउनुको कारण स्पष्ट पारेको छ । नेपालमा लगानी गरेर निकै राम्रो आमदानी गरिरहेका कम्पनीहरूले नेपालमा पुनः लगानी गरेको पाइँदैन । यसले पनि नेपालमा लगानी गर्न उपयुक्त नभएको सन्देश नै दिन्छ । मणिपाल कलेजले विभिन्न अवरोध बेहोर्नु परेको थियो । तिनमा बन्दहडताल प्रमुख थियो । त्यस्तै बिरामीको मृत्यु हुँदा भएको तोडफोड र क्षतिपूर्ति दिनुपर्नेजस्ता कुरा चित्त नबुझेर उसले लगानी फिर्ता लगेको हो । दुःखको कुरो, यसरी लगानी फिर्ता लैजान लाग्दा नेपालका अधिकारीहरूले उसलाई रोक्न कुनै पहल गरेनन् । पहल गरेको भए उनीहरूको गुनासो थाहा पाइन्थ्यो जुन अन्य लगानीकर्ताका लागि पनि चासोको विषय हुन्छ ।

वैदेशिक लगानीकर्ताको प्रमुख चासो भनेको लगानीको सुरक्षा, मुनाफाको सम्भावना र लगानी फिर्ता लैजाने सहज व्यवस्था नै हो । यस्तोमा मणिपाल कलेजले जसरी सहजै आफ्नो लगानी फिर्ता लग्यो, त्यो नजीरलाई नेपालले आफ्नो पक्षमा प्रयोग गर्न सक्नुपर्छ । अर्थात्, नेपालबाट लगानी फिर्ता लैजान सजिलो छ भनेर फिर्ताको आँकडा देखाउनुपर्छ । मणिपाल कलेजले लगानी फिर्ता लाँदा लगानीकर्तामाझ नराम्रो सन्देशमात्र जाने होइन, सकारात्मक सन्देश पनि प्रवाह गर्न सकिन्छ ।

यो घटनाबाट सरकारले अबका नीतिहरू तय गर्नुपर्छ । पहिलो त नेपालले लगानीको वातावरण बनाउनुपर्छ । अर्थात् विरोध र बन्दजस्ता गतिविधिलाई निरुत्साहित गर्नुपर्छ । वैदेशिक लगानीका परियोजनाको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । यस्तो ग्यारेन्टी कागजी होइन, व्यवहारबाट हुनुपर्छ । लगानी ल्याउन सरकारले थुप्रै कानूनी र संरचनागत परिवर्तन गरे पनि अझै लगानीकर्ताले सहज अनुभव गर्न सकेका छैनन् । यो अवस्थामा परिवर्तन गर्नैपर्छ ।

दोस्रो सरकारले लगानी फिर्तालाई सकारात्मक सन्देश प्रवाह गर्ने माध्यम बनाउन सक्नुपर्छ । कति लगानी आयो र कति लगानी बाहिरियो भन्ने तथ्यांक देखाएर लगानीकर्तालाई आश्वस्त पार्न सकिन्छ ।

नेपालले वैदेशिक लगानीलाई जति नै महत्र्व दिए पनि अपेक्षाअनुसार लगानी आउन सकेको छैन । लगानीकर्ताले चासो नै नदिएका होइनन्, सम्भावित लगानीकर्ताले यहाँका प्रोजेक्ट हेरेर लगानीको इच्छा देखाएका छन् । तर, उनीहरूको इच्छालाई मूर्तरूप दिलाउन नेपालले निकै राम्रो तयारी गर्नुपर्छ र सहयोग गर्नुपर्छ । यो काम गर्न नसक्दा नै लगानी प्रतिबद्धता आएर पनि लगानी भित्रिन नसकेको हो । लगानी भित्र्याउन सम्मेलनहरू गर्ने, कूटनीतिक क्षेत्रलाई नेपालमा लगानीको सम्भावना छ भनेर जानकारी प्रवाह गर्ने, विभिन्न परियोजना देखाउने काम सरकारले गरे पनि उनीहरूलाई आश्वस्त र विश्वस्त पार्न भने नसकेको देखिन्छ । अतः वैदेशिक लगानी आउन नसक्नु र आएको लगानी टिक्न नसक्नुका कारण पत्ता लगाई वैदेशिक लगानीको वातावरण बनाउन सरकार चुक्नु हुँदैन ।

अहिले बाहिरिएको रकमको उदाहरण दिएर विभिन्न लगानीकर्तालाई बुझाउन प्रयास गरे पनि वैदेशिक लगानी भित्र्याउन मद्दत पुग्ने देखिन्छ, किनकि लगानीकर्ताको चासो जहिले पनि नाफा कमाउने र त्यो नाफा सहजै लिन पाउनुपर्छ भन्ने हुन्छ । नाफा सहजै लिन पाइन्छ भन्नेमा लगानीकर्ता विश्वस्त हुँदा वैदेशिक लगानी भित्र्याउन सहयोग नै पुग्छ तर त्यसका लागि पनि सरकारी संयन्त्रले प्रभावकारी रूपमा काम भने गर्न जरुरी हुन्छ ।

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech