८ असार २०८२, आईतवार

डिजिटल कारोबारमा अपुग प्रयास
  • न्युज मानसराेवर

केही समययता नोटको चलनचल्ती घट्दै गएको छ । यस्तो कमी प्रविधिको उपलब्धि हो वा राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गरेका कारण भएको हो भन्ने चाहिँ स्पष्ट छैन । जसरी सर्वसाधारणको हात हातमा प्रविधि पुगेको छ । त्यसको अनुपातमा भने नोटको प्रयोग घटेको पाइँदैन । प्रविधिको प्रयोग व्यापक भए पनि डिजिटल कारोबारचाहिँ किन त्यसरी हुन सकेको छैन भन्ने प्रश्न गम्भीर रूपमा रहँदै आएको छ ।

अहिले प्रविधिको प्रयोग व्यापक भएको छ तर यसको लाभहानि विचार गरेर र प्रविधिको सामथ्र्य तथा यसले पार्ने असरबारे पर्याप्त जानकारी लिएर प्रयोग गर्नेको संख्या भने कम छ । अत्यधिक नागरिकको हातमा स्मार्ट फोन पुगिसकेको छ, जसबाट उनीहरू सामाजिक सञ्जालमा रमाउने गरेका छन् । सामाजिक सञ्जाल प्रयोग गर्ने व्यक्ति डिजिटल कारोबार गर्न भने डराइरहेको पाइन्छ । कतिपयलाई डिजिटल कारोबार कसरी गर्ने र यो कत्तिको भरपर्दो हुन्छ भन्ने पनि जानकारी छैन । बैंक खाता हुनेको संख्याको अनुपातमा पनि डिजिटल कारोबारको अनुपात निकै कम छ । अशिक्षितले यसको प्रयोग गर्न नसक्लान् त्यो बेग्लै विषय हो । तर, साक्षर मानिसले पनि यसको प्रयोग ज्यादै कम गरेका छन् । स्मार्ट फोन बोक्नेमध्ये कति प्रतिशतले मोबाइल बैंकिङ प्रयोग गर्छन् भन्ने अध्ययन गरिएको छैन । तर, यसको अंश कम छ भन्ने अनुमानचाहिँ सजिलै गर्न सकिन्छ । त्यसैले नोटको प्रयोग अपेक्षित मात्रामा घटिरहेको छैन ।

हात हातमा स्मार्ट फोन भए पनि डिजिटल भुक्तानीका लागि पूर्वाधार अर्थात् इन्टरनेटको पहुँच सहज छैन । जहाँजहाँ कारोबार गर्नुपर्ने हुन्छ ती सबै ठाउँमा नि:शुल्क इन्टरनेट प्रयोग गर्न पाउने हो भने डिजिटल कारोबार उल्लेख्य मात्रामा बढ्ने निश्चित छ । डेटाबाट इन्टरनेट चलाउँदा एकातिर इन्टरनेटको स्पीड कम भएकाले समस्या आउने गरेको छ भने अर्कातिर डेटा चलाउनु निकै महँगो छ । यस्तोमा डिजिटल भुक्तानी गर्नुभन्दा नगद कारोबार नै सजिलो लाग्नु स्वाभाविकै हो ।

प्रविधि प्रयोगले डिजिटल भुक्तानी नि:शुल्क पार्न सक्नुपर्ने हो । तर, त्यसो भएको छैन । कनेक्ट आईपीएस वा अन्य तरीकाबाट भुक्तानी गर्दा केही न केही रकम तिर्नुपर्ने हुन्छ । त्यसो हुँदा अतिरिक्त रकम किन तिर्ने भन्ने प्रश्न उठ्छ जुन जायज पनि देखिन्छ । अर्को, डिजिटल भुक्तानी गर्दा उपभोक्ताले हैरानी बेहोर्नुपरेका घटना थुप्रै छन् । उपभोक्ताको खाताबाट पैसा घट्ने तर अर्को पक्षले प्राप्त नगर्ने समस्या बारम्बार हुने गरेको छ । यस्तो अवस्थामा दुवै पक्षले डिजिटल कारोबारलाई विश्वास नगर्नु अन्यथा होइन ।

नेपालमा अनौपचारिक अर्थतन्त्र औपचारिकको हाराहारीमा छ भनिन्छ । अनौपचारिक कारोबारमा नगदकै कारोबार गर्नुपर्ने हुन्छ । कुनै पनि तरीकाका डिजिटल भुक्तानी औपचारिक प्रणालीबाट मात्रै हुन्छ । त्यसो हुँदा नगद कारोबार घटाउन अनौपचारिक अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउनु जरुरी हुन्छ ।

कुनै पनि डिजिटल भुक्तानीका लागि भुक्तानी द्वार आवश्यक हुन्छ । नेपालको आफ्नो भुक्तानी द्वार बनिसकेको छैन । नेशनल स्वीचको काम शुरू भएको भनिए पनि अझै त्यसले काम थाल्नसकेको छैन । यस्तोमा विदेशी स्वीचको प्रयोग गरेर रकम एक बैंकबाट अर्को बैंकमा स्थानान्तरण गर्दा विदेशीलाई निश्चित रकम तिर्नुपर्ने हुन्छ । यसले गर्दा नेपालको पैसा विदेशिएको छ । साथै डिजिटल भुक्तानी नि:शुल्क वा सस्तो बनाउन सकिएको छैन । साँच्चै डिजिटल कारोबार व्यापक बनाउने हो भने आफ्नै भुक्तानी द्वार खडा गर्न ढिला गर्नु हुँदैन ।

नोट छाप्न ठूलै रकम खर्च हुन्छ । तर, नगद कारोबार गर्दा नोटको आयु घट्छ । यस्तोमा दशैंका लागि नयाँ नोट वितरण गर्ने कार्य पनि रोकिनुपर्छ । यसले पनि नोटको कारोबार भन्दा डिजिटल कारोबार बढाउन मद्दत मिल्छ ।

राष्ट्र बैंकले नोट छपाइ कम गर्दै लैजाने नीति लिनुपर्छ र डिजिटल मुद्रा निकाल्नुपर्छ । यसका लागि राष्ट्र बैंकले प्रारम्भिक काम मात्रै थालेको छ । यसलाई तीव्रताका साथ कार्यान्वयनमा लैजान सके नगद कारोबार घटाउन सकिन्छ ।

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech