बाँके\नेपाल राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने व्यक्तिले कुनैपनि किसिमले विदेशमा लगानी गरेको पाइएमा कारबाही गर्ने जनाएको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै विदेशमा लगानी गर्ने कार्य नगर्न सूचीत गराएको हो।
विदेशी विनिमय ऐन, २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको छ। सोही ऐनको दफा ९ (ग) ले केन्द्रीय बैंकले तोकेको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको छ।
‘विदेशमा घर–जग्गा खरिद, घितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पूँजीगत प्रकृतिका कारोबार र यस बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्न एवम् त्यस्तो कार्य गर्ने वा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’, सूचनामा भनिएको छ।