बाँके\नेपालको मौलिक तथा रैथाने बालीका रूपमा चिनिएको कोदोखेती हुने जमीनको क्षेत्रफल घट्दो क्रममा रहे पनि उत्पादन भने बढेको देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा नेपालमा कोदोखेती हुने जमीनको क्षेत्रफल साढे १२ हजार हेक्टरले घटे पनि उत्पादन वृद्धि भएको छ ।
मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०६८/६९ मा २ लाख ७८ हजार ३० हेक्टर जमीनको खेतीबाट ३ लाख १५ हजार ६७ मेट्रिक टन कोदो उत्पादन भएको थियो । पछिल्लो १० वर्षमा कोदो उत्पादन हुने जमीनको क्षेत्रफल १२ हजार ६ सय २९ हेक्टरले घटेर २ लाख ६५ हजार ४ सय १ हेक्टरमा सीमित भएको छ । उत्पादन परिमाण भने ११ हजार ३ सय ७६ मेट्रिक टनले बढेको तथ्यांक छ ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले पछिल्लो समय केन्द्रको सहयोगमा किसानले काभ्रे १, काभ्रे २, ओखले, डल्लेलगायत उन्नत जातका कोदोको बीउ प्रयोग गरिरहेको र उत्पादकत्व पनि विगतको तुलनमा बढ्दै गएकाले क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि देखिएको जानकारी दिए । उनका अनुसार १० वर्षअघि उत्पादकत्व प्रतिहेक्टर १ दशमलव १३ मेट्रिक टन थियो भने हाल १ दशमलव २२ टन रहेको छ ।
कोदो, जुनेलो, चिनो, फापरजस्ता कोदोजन्य रैथाने बालीतर्फ किसानको आकर्षण घट्दै गएकाले यस्ता बालीलाई अन्तरराष्ट्रिय रूपमै प्रवर्द्धन गर्न नेपाल सरकारले यसै वर्षदेखि अन्तरराष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउन शुरू गरेको छ । भारतको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अंग्रेजी वर्ष २०२३ लाई कोदोजन्य बाली वर्ष मनाउन लागेको हो ।
मूलत: कोदोजन्य बालीको प्रचारप्रसार तथा मूल्य अभिवृद्धिमा जोड दिन नेपालले पनि त्यसमा सहभागिता जनाउने भएको छ । कोदोजन्य बाली वर्ष कसरी मनाउने भन्नेबारे अवधारणापत्र तयार गर्ने काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ । कोदोजन्य बालीको प्रवर्द्धन गर्न र उत्पादन बढाउन स्थानीय तहसँगको सहकार्यमा विगत ३ वर्षदेखि सरकारले अनुदान दिँदै आएको छ । श्रेष्ठका अनुसार हालसम्म १ सय ३३ गाउँपालिकामा २६ करोड रुपैयाँ अनुदान दिइएको छ ।