९ असार २०८२, सोमबार

जनसांख्यिकीय परिवर्तनको खतरा नेपाल पर्न सक्छ !
  • न्युज मानसराेवर

जनसंख्या वृद्धि रोक्नका लागि कुनै बेला एक दम्पती एक सन्ततिको नीति लिएको चीनमा गत वर्ष जनसंख्या वृद्धिदर ऋणात्मक बन्यो । अर्थात् जन्मनेको जनसंख्यालाई मृत्यु हुनेको संख्याले जितेको छ । विकसित मुलुकहरूमा प्रौढहरूको संख्या बढी हुने गरेको त वर्षौं भइसक्यो तर चीनजस्तो विकासोन्मुख मुलुकमा पनि युवाको संख्या कम हुन थालेपछि चिन्ताको विषय बनेको छ ।

यो समस्या चीनमात्र होइन, तीव्र दरमा जनसंख्या बढिरहेको भारतका केही प्रान्तमा पनि देखापर्न थालिसकेको छ । नेपालमा पनि त्यस्तै समस्या देखिएको छ । नेपाल विकास हुनुभन्दा अगाडि नै युवा जनसंख्या कम हुने समस्यामा पर्ने संकेत देखापरिसकेको छ। छिमेकी मुलुकले तीव्र आर्थिक विकास गर्दै गएर जनसांख्यिकीय असर भोग्दै छन् भने नेपाल चाहिँ विकास नै नदेखेर यो समस्या भोग्ने मुलुकमा पुग्ने हो कि भन्ने आशंका बढाएको छ ।

चीनमा अहिले देखिएको जनसंख्याको ऋणात्मक वृद्धिदरले उसलाई निकट भविष्यमै कामदार जनशक्तिको अभाव हुने संकेत गर्छ । यसो हुँदा उसले विदेशी श्रमलाई आकर्षित गर्नुपर्ने हुन्छ । त्यो लाभ नेपालले पाउन पनि सक्छ । तर यो अहिलेलाई अपेक्षा मात्र हो । कुनै बेला सस्तो श्रमका कारण विश्वका ठूला कारखानाहरू चीनमा सरेका थिए । अब भने चीनले बिस्तारै सस्तो श्रमका लागि अन्य देशमा आफ्नो उत्पादन प्लान्टहरू सार्नुपर्ने पनि हुन सक्छ । चीनसँग अन्तरदेशीय रेलमार्गबाट जोडिन सक्यो भने त्यसको लाभ नेपाललाई प्राप्त हुन सक्छ ।

भारत र चीनको उदाहरणबाट नेपाल आफै पनि सचेत हुनुपर्ने देखिएको छ । तत्काललाई विकासका लागि जनसांख्यिकीय लाभ नेपाललाई छ । काम गर्ने युवाको संख्या अधिक छ । केही वर्ष अझै नेपालले यस्तो लाभ लिन सक्छ । यस्तो लाभ लिन नेपालले अहिलेको काम गर्ने तौरतरीकामा भने परिवर्तन गर्न आवश्यक देखिन्छ । अहिलेकै ढिलासुस्ती जारी रहनेमा डेढ दुई दशकमा नेपाल विकसित नहुँदै प्रौढहरूको जनसंख्या बढी भएको मुलुकमा पर्न जान सक्छ । त्यसपछि  बुढ्यौली नेपालका लागि पनि गम्भीर समस्या बन्न सक्छ भन्नेमा सरकारको ध्यान जानु आवश्यक छ ।

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech