टोकियो\ जापान सरकारले मेडिकल उपचारमा गाँजाको प्रयोगलाई कानूनी मान्यता दिने भएको छ ।
सरकारले मंगलवार सार्वजनिक गरेको एउटा विधेयकको खाकामा गाँजा नियन्त्रण गर्ने कानूनलाई संशोधन गर्ने प्रस्ताव गरिएको छ ।
सरकारले ससंदको चालू अधिवेशनमा सो विधेयक पेश गर्नेबारे छलफल गरिरहेको छ ।
गाँजा नियन्त्रण कानूनसम्बन्धी सो प्रस्तावित संशोधन पारित भए औषधि उपचारको प्रयोजनमा जापानमा गाँजाको प्रयोग गर्ने बाटो खुल्नेछ । मेडिकल प्रयागले वैधानिकता पाएपनि अन्य प्रयोजनमा गाँजाको प्रयोग भने अपराधिक बनाइनेछ ।
अर्जेन्टिना, नर्वे, बेलायत, अमेरिकालगायत देशहरूले गाँजाका पाँत, जरा, डाँठ, फूललगायत हिस्सा प्रयोग गरेर बनाइएका औषधिहरूलाई छारेरोग र विद्यमान औषधि प्रभावकारी हुन नसकेका अन्य रोगका बिरामीको उपचारमा प्रयोग गरिरहेका छन् ।
तर, जापानमा अहिले मेडिकल प्रयोजनमा गाँजाको प्रयोग प्रतिबन्धित छ । गाँजालाई लागूपदार्थको दूर्व्यसन निम्त्याउने भन्दै यसलाई प्रतिबन्ध लगाउने गरिएको छ । क्यानडा, ऊरुग्वे, थाइल्यान्ड, दक्षिण अफ्रिकालगायत देशले मात्रै मनरोञ्जनात्मक गतिविधिमा गाँजाको प्रयोगलाई कानूनी मान्यता दिएका छन् ।
सन् २०१४ यता विशेषगरी गाँजा राखेको अभियोगमा युवाहरू पक्राउ पर्ने क्रम ह्वात्तै बढेको छ । विमानस्थलमा जफ्त हुने गाँजाको परिमाण बढ्दै गएको छ । जापानमा गाँजा राखेको आरोपमा पक्राउ पर्नेको संख्या बढिरहेको छ ।